म्याग्दे र आँबुखैरेनीमा सयपत्री फूलको व्यावसायिक खेती

  २०८० भदौ १७ गते १५:१५     विकासन्युज

तनहुँ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन पुष्पखेतीलाई प्रवर्धन गरिएको जनाइएको छ ।

आँबुखैरेनी-१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा २० हजारभन्दा बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूल रोपिएको हो ।

आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूलखेती सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । विदेशबाट आएको फूल आयातलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन यस किसिमको कदम चालेको उनले बताए ।

त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे-५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाएका छन् । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता यहाँका किसान पुष्पखेतीतर्फ आकर्षित हुँदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि किसानहरु पुष्पखेतीतर्फ आकर्षित भएको पाइन्छ । तनहुँका शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुरलगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.