सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले लिलामीमा राख्यो कोहिनुर हिल हाउजिङ

  २०८० भदौ १४ गते ८:०५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङलाई लिलामीमा राखेको छ । कोषबाट ऋण लिएर चुक्ता नगरेपछि कोहिनुर हिल हाउजिङ लिलाममा बिक्री गरेर असुल गर्ने भएको हो ।

कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङ ऋण तर्न पटक पटक ताकेता गरेको थियो । तर, कम्पनीले ऋण चुक्ता नगरेपछि सम्पत्ति नै लिलाम गर्ने भएको हो । कोहिनुर हिलले कोषबाट साँवा र ब्याजसहित १ अर्ब रुपैयाँभन्दा बढी कर्जा चुक्ता गर्नु पर्नेछ । कोहिनुर हिलका सञ्चालक सुधीर बस्नेत हुन् । बस्नेतले सो रकम चुक्ता नगरेपछि कोषले लिलामी प्रक्रिया अघि बढाएको हो ।

ऋणी कोहिनूर हिल हाउजिङ्गको १०-९-२-० रोपनी जग्गा कोषको नाममा दृष्टिबन्धक छ । ललितपुरको साविक इमाडोल गा.वि.स. ४ स्थित कित्ता नम्बर ८०, ८४, ८९, ५६६, ५७९, ५८०, ५८१, ५८२, ५८४, ७५२, ७५३, ७७२, ७७३, ७७४, ८४६, ८४७, ८४८, ८५०, ९२३, ९६०, ९६२, १०२८, ३३६, १०३१, ९६६, ९१८ को कूल क्षेत्रफल १०-९-२-० जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरू रहेको कोषले जनाएको छ ।

कोषलेले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ३५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सबै रकम कोषमा बुझाइसक्नु पर्नेछ ।

यदि कोहिनुर हिलका सञ्चालक बस्नेतले ३५ दिन अगावै ऋण चुक्ता गरे लिलामी प्रक्रिया स्थगित गर्ने कोषले बताएको छ ।

बस्नेतमाथि सर्वसाधारणको करिव १२ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । सहकारीबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ । अग्नी यातायातको लामो दुरीको बसबाट आफ्नो व्यससायीक यात्रा गरेका वस्नेतले आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर ठगी गरेको आरोप छ ।

सामान्य परिवारका उनले विभिन्न सहकारी खडा गर्दै आमसर्वरणमा संकलित निक्षेपलाई घरजग्गा लगानी गरेका बस्नेतले २०६५÷६६ पछि रियलस्टेट कारोबार खस्किएपछि विभिन्न व्यक्तिसँग अपाटमेन्ट लिने आश्वासन दिँदै रकम असुल्दै गरेको थिए ।

दुई दशकअघि व्यवसायमा लागेको उनका घरजग्गा कारोबारबाटै व्यवसायिक सफलता चुम्दै गएका थिए । २०६० देखि २०६६ सालसम्म हाउजिङ व्यवसायमा उनी सबैभन्दा ठूलो कारोबारीको रुपमा चर्चामा थिए ।

२०६७ सालमा राष्ट्र बैंकले वित्तीय संस्थाको घरजग्गा लगानी कर्जामा सीमा तोकेपछि उनको व्यवसाय ओरालो लाग्न शुुरु भयो । अपार्टमेन्ट र हाउजिङ प्रोजेक्टको निर्माकार्य सम्पन्न गर्न भनेर सर्वसाधारणबाट लिएको रकम र बैंक वित्तीय संस्थाबाट जग्गामा अन्धाधुन्दा लगानी गरेका उनलाई त्यसपछि तरलता अभावमा पर्न थाल्यो ।

घरजग्गाको मूल्य समेत घटेपछि बस्नेतले न जग्गा बिक्री गर्न सके न त हाउजिङ र अपार्टमेन्टको योजना निर्माण सम्पन्न भयो । त्यसको व्यवस्थापनका लागि सर्वसाधारणसँग थप रकम उठाउँदै बैंकको ब्याज तिर्न आम सर्वसाधारणले जम्मा गरेको निक्षेप चलाउन थाले र डुबाए ।

One comment on "सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले लिलामीमा राख्यो कोहिनुर हिल हाउजिङ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.