५९ हजारले लिए ट्रेडमार्क, अन्वेषणमा उदासिन

  २०८० भदौ १४ गते १२:५१     विकासन्युज

काठमाडौं । पछिल्लो समय पेटेण्ट, डिजाइन र ट्रेडमार्क लिने उद्योगी तथा व्यवसायीहरुको संख्यामा वृद्धि हुन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ५८ हजार ९९५ जनाले ट्रेडमार्क लिएका छन् । जसमा ३१ हजार ९०६ जना स्वदेशी तथा २७ हजार ८९ जना विदेशीले ट्रेडमार्क लिएका हुन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा ३ हजार २५४ वटा ट्रेडमार्क दर्ता भएकाे विभागका सूचना अधिकारी रमिला भण्डारी बताउँछिन् । उद्यमीले आफूले उत्पादन गरेका सामानलाई छुट्टै किसिमले परिचय दिनका लागि ट्रेडमार्क लिने गर्छन् । ट्रेडमार्क एउटा संकेत वा चिह्न हो, जसले प्रतिष्पर्धी बजारमा उद्योगीका हरेक उत्पादनलाई फरकफरक रूपमा बजारीकरण गर्न सहज बनाउँछ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो ।

ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ट, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गरिरहनुपर्छ । यदि नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।

संख्या धेरै भए पनि कतिपय ख्यातिप्राप्त नेपाली उत्पादनहरूले आफ्नो ट्रेडमार्क जोगाउन दर्ताको पहल समेत गर्ने नगरेको विभागले जनाएको छ । यस्तै, विभागको तथ्यांक अनुसार हालसम्म ११४ जना स्वदेशी र १८९ जना विदेशी गरी हालसम्म ३०३ जनाले मात्र डिजाइको अनुमति लिएका छन् ।

एक वर्षमा ५ जनाले लिए पेटेण्ट अनुमति

सरकारले गत पुसमा तेहथुमका दिर्घजंग सुब्बाको बौद्धिक सम्पतीको सुरक्षा गर्दै उनको नाममा पेटेण्ट जारी गर्याे । सरकारले गत पुस ७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै उनले दर्ता गराएको ‘सट साइकल ड्राइङ प्रोसेस अफ अत्तिस युजिङ हाइ फ्रिक्वेन्सी हिट अन्डर सब प्याबनोसफेरीक प्रेसर’ दर्ता भएको जनाएको थियो ।

करिब २ वर्ष अगाडि उद्योग विभागमा उनले उत्तिसको काठलाई सुकाएर लामो समयसम्म प्रयोग गर्न सकिने भन्दै आफ्नो आविष्कारको पेटेण्ट लिन आवेदन दर्ता गराएका थिए । उनले आवेदन दिएको २ वर्षपछि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी दर्ता अनुमति दिएको हो ।

गत माघमा रुपन्देहीका किरण सुवेदीको नाममा सरकारले अर्काे पेटेण्ट दर्ता गरायो । ‘मल्टी हाट् एक्सचेन्ज हाइब्रिड कुलिङ सिष्टम वाइ इभापोरोसन’ नामको उनको आविष्कारलाई सरकारले माघ २६ गते राजपत्रमा सूचना प्रकाशन गर्दै अनुमति दिएको हो ।

गत चैत २० गते सरकारले पोखरा युनिभर्सिटी, पोखरा कास्कीका नाममा ४ वटा पेटेण्ट दर्ता गरायो । प्रेसराइज इलेक्टीकल भेसल फर कुकिङ लोक्ता बार, बिटिङ डिभाइस फर डिमिङ फाइबर फर हिमालयन गाइन्ट नेटल, अल्ले रिफाइन सिष्टम फर प्रोसेसिङ एण्ड एक्ट्रक्टीङ फाइबर फर्म हिमालयन गाइन्ट नेटल प्लान्टलाई पेटेण्टका लागि अनुमति दिएको हो ।

विभागको तथ्यांक अनुसार १४ वर्षको अवधिमा १८ वटा स्वदेशी पेटेन्ट दर्ता भएका छन् । आर्थिक वर्ष ०६६/६७ यता गत आर्थिक वर्ष २०७९/०८० को एकै वर्षमा सबैभन्दा बढी पेटेन्ट दर्ता भएको हो । यसअघि०७४/७५ र ०७५/७६ मा २/२ वटा पेटेन्ट दर्ता भएको विभागको थियो भने ०६६/६७ यता कुनै पनि विदेशी पेटेन्ट दर्ता भएको छैन ।

७ सय बढी आवेदन ८६ जनालाई अनुमति 

विभागको तथ्यांक अनुसार गत असार मसान्तसम्म पेटेण्टका लागि ७ सयभन्दा बढीले आवेदन दिएका छन् । आवेदन परेकामध्ये विभागले न्यून संख्यामा मात्र अनुमति दिएको छ ।

विस २०३१ सालदेखि हालसम्म पेटेन्ट दर्ताका लागि उद्योग विभागमा ७ सयभन्दा बढीको आवेदन परेकोमा विभागले असारमसान्तसम्म ८६ जनालाई अनुमति दिएको हो । जसमा ५० स्वदेशी र ३६ विदेशी गरी ८६ वटा पेटेन्ट दर्ता भएका हुन् ।

ठूलो संख्यामा पेटेन्ट दर्ताका लागि विभागमा आवेदन परेपनि अधिकाशंले आवश्यक कागजपत्र नै पूरा नराख्दा समस्या हुने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

विभागका सूचना अधिकारी रमिला भण्डारीले आवेदन दिनेको संख्या ठूलो भएपनि न्यून संख्यामा मात्र अनुमति दिइएको स्वीकार गर्छिन् ।
कुनै व्यक्तिले आविष्कार गरेको वस्तु वा पदार्थको बनावट वा कुनै नयाँ सिद्धान्त अथवा सूत्रद्वारा पत्ता लगाइएको उपयोगी आविष्कारलाई पेटेन्ट मानिन्छ । अरू कसैले त्यस्तो आविष्कार नक्कल नगरोस् भनी दर्तामार्फत पेटेन्ट अधिकार सुरक्षित गरिएको हुन्छ ।

दर्जनौं यस्ता दाबीको फस्यौट हुनै सकेको छैन । आवेदन परेका पेटेन्टसँग सम्बन्धित विज्ञ नै नहुँदा समेत समस्या भएको जनाईएको छ ।
नेपालमा आविष्कार पनि कम हुने र त्यस्तो आविष्कार नवीनतम हो वा होइन भनी ठम्याउने विभागको क्षमता कमजोर भएकाले पेटेन्ट दर्ता कम भएको उनको भनाई छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार, पेटेन्ट अधिकार सुरक्षित राख्न बिल्कुल नयाँ आविष्कारलाई मात्र दर्ता गरिने व्यवस्था छ । अरूको आविष्कारमा आधारित भएर गरिएका सुधारलाई पेटेन्ट अधिकार दिने विषयमा विद्यमान कानून मौन छ, त्यसैकारण पनि पेटेन्ट दर्ताको संख्या कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.