नाडा अटो-शोमा ५ हजार गाडी बुकिङ हुने अपेक्षा, विद्युतीय गाडीकै डोमिनेन्स्

  २०८० भदौ ४ गते १०:५३     विकासन्युज

काठमाडौं । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्सपो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोको मुख्य आकर्षक विद्युतीय तथा कर्मसियल भेइकल रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ ।

४ वर्षपछि हुन लागेको अटो–शोमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनकोे उल्लेख्य सहभागिता हुने नाडाले जनाएको छ । नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् ।

विगतका चार वर्षमा कारोना महामारी लगायतका कारणले नाडा अटो–शो हुन सकेको थिएन । लामो अन्तरालपछि हुन लागेको अटो–शोमा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहनेछन् ।

नाडाका अनुसार एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहनेछन् ।

उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहनेछन् ।

प्राथमिकतामा इभी र कमर्सियल भेइकल

अटो–शो मा विद्युतीय गाडी तथा कर्मसियल भेइकल मुख्य आकर्षण रहने भएका छन् । पछिल्लो समय डिजेल तथा पेट्रोलका गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् ।

सरकारले विद्युतीय गाडी (इभी)मा भन्सार तथा अन्तशुल्कमा छुट दिनेदेखि विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएपछि अटो–शोमा इभीलाई मुख्य आकर्षणको रुपमा हेरिएको नाडाले जनाएको छ ।

अटो–शो २०२३ मा विभिन्न १२ वटा इभी कम्पनीले स्टल बुक गर्दा डिजेल तथा विद्युतबाट सञ्चालित गाडीका १० वटा कम्पनीले स्टल बुक गरेका छन् ।

अटो–शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपाङ्ग्रे सवारीसाधन देख्न नपाइने नाडाले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा नयाँ मोडलको गाडी नआएको भन्दै टोयोटाले स्टल नराखेको नाडा स्रोतले जनायो ।

चारपाङ्ग्रेमा सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन् । त्यस्तै, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएको छ ।

यी हुन अटो–शोमा देखिने दुई पाङ्ग्रे साधन

यस वर्षको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैनन् । मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभागिता नजनाउने भएको हो । यी दुई बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन् ।

बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, जोन्टेस, भेस्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो–शोमा भाग लिनेछन् ।

त्यस्तै, विद्युतीय दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेग–वे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन् ।

इभीकाे बाेलवाला रहने

अटो–शोमा टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल, सिट्रोन, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ लगायतका कम्पनीका विद्युतीय गाडीहरु प्रदर्शनमा आउने भएका छन् ।

हुन्डाईले कोना र आयोनिक शोमा राख्ने

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले अटो शोमा यसअघि नै बिक्री हुँदै आएको कोना र आयोनिक मोडलका गाडीहरु राख्ने जनाएको छ । कम्पनीले अटोशोमा पुरानै विद्युतीय गाडीहरु राख्ने जनाएको हो । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी भएको भन्दै कम्पनीले अटोशोमा सोही गाडीहरु राख्न लागेको हो ।

हाल कोना ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार बराबरको रहेको कम्पनीले जनाएको छ ।

एमजी इभी–४ ल्याउँदै पारामाउन्ट
नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अटो–शोका लागि नै लक्षित गरेर एमजी फोर मोडलको गाडी बिक्री गर्ने तयारी गरेको छ ।

एमजी फोर दुई ब्याट्री अप्सनसहित आउँदै छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ । तर, कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन ।

डल्फिन गाडी भित्र्याउँदै बीवाईडी

बीवाईडी गाडीको आधिकारिक वितरण साइमेक्स इंकले नाडा अटो शोमा डल्फिन गाडी बिक्रीका लागि राख्ने जनाएको छ । बीवाईडीले डल्फिनसँगै एटो–थ्रि समेत राख्ने तयारी गरेको छ ।

नेपाली बजारमा करिब ४५ लाख रुपैयाँ हाराहारिमा रहेको डल्फिन मोडलको गाडीमा ४४‍.९ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता, ४२० किलोमिटर रेन्जको चार्च तथा ७० किलोबाटको मोटर जडान भएको कम्पनीले जनाएको छ ।

महिन्द्रा एक्सयूभी ४००

नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि समूहले नाडा अटोशोमा महिन्द्रा एक्सयुभी ४०० देखाउने भएको छ । नाडा अटो शोका लागि नै नयाँ कम्पनीले उक्त गाडी नेपाल ल्याउन लागेको हो ।

लिथियम आयोन ब्याट्री जडान गरिएको उक्त गाडाीमा ३४.५ र ३९.४ किलोवाट आवर गरी दुई वटा ब्याट्री अप्सन रहेको छ । तर, कम्पनीले हालसम्म नेपाली मूल्य भने सार्वजनिक गरेको छैन ।

सेरेस मोडलको नयाँ गाडी भित्रिँदै
नाडा अटो शोमा नेपालमा नयाँ विद्युतीय गाडी भित्रन लागेको छ । एमएडब्लू कम्पनीले अटोशोका लागि नै चिनियाँ ब्रान्डको सेरेस–३ गाडी भित्र्याउन लागेको हो ।

सेरेस–३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सस्तो मूल्यमा टाटा टियगो

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटोशोमा टियगो गाडी राख्ने तयारी गरेको छ । कम्पनीले २५ लाख रुपैयाँ हाराहारीमा अटोशोमा नै टियागो गाडीको लन्च गर्ने तयारी गरेको छ ।


सो मोडलको गाडी भारतमा लन्च भएसँगै कम्पनीले नेपाल ल्याउने तयारी गरेको हो । कम मूल्यमा सस्तो विद्युतीय गाडी उपलब्ध भएसँगै अटोशोको मुख्य आकर्षक टियगो नै हुनसक्ने नाडाले जनाएको छ ।

५ हजार गाडी बुक हुने अनुमान

चार वर्षपछि हुन लागेको आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् ।

पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ ।

नाडाले समेत २० अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा २ लाख मानिसले अटो–शो भिजिट गर्ने अनुमान गरेको छ । यसअघि भएको अटो शोमा ५ अर्ब हाराहारीमा कारोबार हुँदा ८० हजार बराबरको टिकट काटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.