निजी विद्यालयको ऋणको मागमा पछाडि हट्न थाले बैंक : प्याब्सन अध्यक्ष ढुंगाना

  २०८० साउन २५ गते १८:२७     विकासन्युज

काठमाडौं । निजी विद्यालयको ऋण मागमा बैंक पछाडि हट्न थालेका छन् । आज सरकारले अगाडि बढाउन लागेको विद्यालय शिक्षा विधेयकको विरुद्ध आन्दोलनको क्रममा बोल्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सो बताएका हुन् ।

उनले सरकारले अगाडि सारेको विद्यालय शिक्षा विधेयक संसदमा टेबुल भएमा बैंक तथा वित्तीय संस्थाहरुले निजी स्कूलहरुलाई ऋण नदिने अवस्था आउने बताएका छन् ।

‘अहिले जतिपनि कम्पनीमा लगानी गरेका स्कूलहरु छन्, त्यहाँ ठूलो आर्थिक दायित्व सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ, भोलि यो संसदमा टेबुल हुने वित्तिकै बैंक वित्तीय संस्थाले हामीलाई लोन कल गर्छन्, उनीहरुले हामीलाई ऋण तिर्न ताकेता गर्छन् र अहिले यो भर्खरै यो चर्चामा आइसकेपछि पनि कतिपय बैंकहरुले हाम्रा साथीहरुको फाइल रोकीसकेको सन्दर्भ छ’, उनले भने ।

उनले निजी शैक्षिक क्षेत्रमा लगानी गरेका व्यक्तिहरु दिवालिया हुने जीवन नै संकटमा पर्ने समेत बताए । ‘यसो भयो भने भोलि सम्पूर्ण विद्यालय सडकमा आउने र जीवन नै यसमा लगाएका मान्छेहरु दिवालिया हुने अवस्था छ’, उनले भने, ‘यसले भोलि मान्छेको जीवन नै संकटमा पर्ने भएपछि यसमा वेट एन्ड सीको कुरा रहेन, हामीले प्र्रो–एक्टिभ भएर सबैलाई जानकारी होस् भन्ने उद्देश्यका साथ यो विरोध पदर्शन गरेका हौं ।’

अहिले गुठीमा भएका विद्यालयहरु नै समस्यामा भएको भन्दै अध्यक्ष ढुंगानाले सरकारको प्रस्ताव खेदजन्य भएको बताए । ‘यो प्रस्तावित र मन्त्रीपषिदले पास गरेको जुन चाहिँ शिक्षा विधेयक छ, त्यसमा चाहिँ उहाँहरुले पाँच वर्षभित्रमा कम्पनीलाई गुठीमा रुपान्तरण गर्ने र सम्पूर्ण दायित्व फरफारक गर्ने भन्ने प्रावधान छ, (हामीले देख्यौं), यो प्रावधान खेदजन्य छ ।’

उनले सरकारकै नीतिमा निजी स्कूलहरु विभिन्न चरणमा कम्पनी, गुठी वा सहकारी मोडेलमा सञ्चालन भएको समेत बताए । ‘अहिले कम्पनीलाई गुठीमा लैजान खोजिएको छ । गुठीमा भएका विद्यालयहरु आँफैमा प्रताडित छन्, उनीहरुले धेरै दुःख पाएका छन्’, उनले भने, ‘उनीहरुले काम गरेको इन्सेन्टिभ पाउन सकेका छैनन् ।’

अध्यक्ष ढुंगानाले आफ्ना मागहरु शिक्षा मन्त्रालयले छिटो सुन्दियोस भन्ने चाहेको समेत बताए । ‘हामी चाहन्छौं, चाँडो भन्दा चाँडो शिक्षा मन्त्रालयले सुनोस्, अन्यथा हामीले कार्यक्रम घोषणा गरिसकेका छौं, हामीलाई अप्रिय लाग्छ बन्द भन्ने शब्द, बन्द गर्ने होइन, खुलाएर विद्यार्थीलाई पढाउने मान्छे हौं’, उनले भने ।

साथै उनले शिक्षण संस्था, बालबालिका शान्ति क्षेत्र हो भनिरहेको सन्दर्भमा हाम्रो अस्तित्व नै संकटमा पर्ने कानून आउन लागेको आन्दोलनमा आउन परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.