२०८० साउन २५ गते ९:४४ विकासन्युज
कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् ।
पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ ।
महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ ।
बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा इलिया श्रेष्ठले बताइन् ।
पोखरा महानगरले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ ।
विद्यालय सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.