सवारी साधनको जाँच पास निजीलाई दिने सरकारको तयारी

  २०८० साउन २० गते ९:४२     विकासन्युज

काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।

नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मणिराम भुसालले बताए । यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनी खाका तयार गर्न सकिने उनले बताए। निजीले तयार गरेको परीक्षणको गुणस्तर कसरी नियमन र नियन्त्रण गर्ने भनी कार्यविधिले स्पष्ट गर्ने उनले बताए। सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व सङ्कलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने भुसालको भनाइ छ ।

सरकारले चासो देखाएमा अबको केही समयमा नै कार्यविधि बन्ने बताउँदै उनले अहिले थोरै सङ्ख्यामा उपकरणले जाँच गरिरहेको जानकारी दिए । यातायात व्यवस्था विभागले कार्यविधि बनाइरहेको र त्यो बनेपछि आवश्यक पर्ने सबैले जाँच गर्ने भुसालको भनाइ छ । अहिले विद्युतीय बसको जाँच भइरहेको उनले जानकारी दिए ।

विद्युतीय सवारी साधनमा पनि ट्याक्सीको डाइनोमिटरबाट जाँच भइरहेको र ठूलाको लेनबाट जाँच गरिने भुसालले बताए । उनका अनुसार अहिलेसम्म झन्डै १० वटा बसको उपकरणबाट जाँच भएको छ । कार्यविधि केही महिनामा बन्न सक्ने र सोही आधारमा पुराना गाडी जाँच गरेर मात्रै चलाउनुपर्ने व्यवस्था गरिनेछ ।

निजी कम्पनीले आफैँले उपकरण ल्याएर त्यसैबाट जाँच गर्न सक्ने प्रमुख भुसालको भनाइ छ । ‘निजी संस्थाले नाफा देखे छोटो समयमा उपकरण ल्याउन सक्छ’, उनले भने, ‘त्यही कुरा सरकारले ल्याउँदा प्रक्रिया लामो हुन्छ । यातायात कार्यालय प्रदेशमा गएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी जाँच केन्द्रहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.