भारतले निर्यात रोकेपछि धान र चामल आफैँ ल्याउने सरकारको निर्णय

  २०८० साउन १९ गते १५:२१     विकासन्युज

काठमाडौं । सरकारले धान, चामल र चिनी खरिद गरेर स्टक राख्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार धान, चामल र चिनी आयात गरी स्टक राख्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानर्देशक गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा हुनसक्ने अभावलाई मध्यनजर गरेर सरकार आफैले धान र चामल आयात गर्ने निर्णय गरेको हो ।

गत साउन ४ मा भारत सरकारले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालमा भने भारतको सोही निर्णयलाई देखाएर व्यवसायीहरुले चामलको मूल्य अचाक्ली बढाइरहेका छन् ।

मन्त्रालयले तत्कालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने निर्णय गरेको ठाकुरले जानकारी दिए ।

भारतले चामलको निर्यात रोक्दा नेपाली बजारमा चामलको अभाव हुनुका साथै मूल्यवृद्धि पनि थेगिनसक्नु हुने आकलन गरिएको छ ।

बजारको सोही अभाव परिपुर्तिको लागि सरकारी तहबाटै धान र चामल खरिद गर्न लागिएको ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.