अल्लो उत्पादन गर्दा कपडामा नेपाल आत्मनिर्भर, थप ५० हजारले रोजगारी पाउने

  २०८० साउन १९ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपालमा अल्लो उत्पादन गरेर सवा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सकिने अध्ययनले देखाएको छ । हाल संकलन गर्न सकिने अल्लोलाई मात्रै प्रशोधन गरी कपडा र वस्तुहरु उत्पादन गर्न सकियो भने १३ अर्ब २२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्न सकिने अध्ययनले देखाएको हो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेशन अफ नेपाल एक्स्पोटर्स एसोसिएसनले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु सम्बन्धी गरेको अध्ययनमा यस्तो तथ्याङ्क उल्लेख छ । अध्ययन अनुसार अल्लोको रेशा कटानदेखि तयारी मालवस्तु बनाउन कुल लागतको करिब ५० प्रतिशत रकम ज्यालामा खर्च हुने हुँदा करिब ६ अर्ब ६० करोड रुपैयाँ ज्याला तथा कामदार पारिश्रमिक दिनु पर्ने छ ।

अल्लो दुर्गम पहाडी भेगमा उपलब्ध हुने भएकाले उक्त ६ अर्ब ६० करोड रुपैयाँ सो क्षेत्रमा ज्यालाका रूपमा वितरण हुने भएकाले जीवनस्तरमा समेत गुणात्मक सुधार आउने देखिन्छ । हाल प्रत्यक्ष अप्रत्यक्ष गरी कूल १० हजारले रोजगारी पाएका अध्ययनमा उल्लेख छ । यदि उपलब्ध हुने अल्लोलाई पूर्ण रुपमा प्रयोग गर्ने हो भने थप ५० हजारले रोजगारी पाउने बताईएको छ ।

नेपालमा तत्काल करिब ८ हजार ३९५ मेट्रिक टन अल्लो उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । हाल उत्पादन अल्लोलाई पम्परागत चर्खा र तानको प्रयोग गरी कपडा उत्पादन भइरहेका छन् । अल्लो प्रशोधन लगायतका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन ।

अध्ययन अनुसार अल्लोमा अन्य रेशा मिश्रण गरिँदा १ केजी अल्लोको रेशाबाट करिब १.५ केजी धागो र त्यसबाट करिब ४.५ मिटर कपडा उत्पादन हुने देखिन्छ । कपडा खपतको तथ्याङ्कका आधारमा नेपालमा प्रतिव्यक्ति करिब ३० मिटर कपडा खपत हुन्छ । सो आधारमा वार्षिक करिब ९० करोड मिटर कपडा खपत हुने गरेको देखिन्छ । जसका लागि करिब ३ लाख मेट्रिक टन (३० करोड केजी) धागो आवश्यक पर्छ । यदि अल्लोलाई राष्ट्रिय रेशाको रूपमा विकास गर्ने हो भने अधिकांश हिस्सा अल्लोले विस्थापन गर्न सक्ने देखिन्छ । यो लक्ष्य हासिल गर्न नेपालले करिब ६ लाख मेट्रिक टन अल्लो संकलन गर्नु पर्ने हुन्छ ।

राष्ट्रिय अल्लो उद्यमी संघका अनुसार प्रतिहेक्टर ६.२५ मेट्रिक टन अल्लो उत्पादन हुने गरेको बताइएको छ । यस अनुसार नेपालको कुल कपडा आयातलाई अल्लोले विस्थापन गर्न करिब ९६ हजार हेक्टर क्षेत्रफलमा रहेको अल्लोको पूर्ण उपयोग हुनु आवश्यक रहेको अध्ययनले देखाएको छ ।

विश्वमा अल्लो उत्पादनको अलग्गै एचएस कोडको व्यवस्था नहुँदा अन्तर्राष्ट्रिय व्यापार कति भयो भन्ने एकीन तथ्याङ्क उपलब्ध छैन । तर, अल्लोका उत्पादनहरू हेम्पको रेशाबाट उत्पादित वस्तुको शीर्षक अन्तर्गत व्यापार भई रहेको एक अनुमान छ । आइटिसीको तथ्याङ्क अनुसार विगत १० वर्षमा हेम्पको उत्पादनको आयातमा भारी वृद्धि भई रहेको छ । हेम्प यार्न र फेब्रिकका प्रमुख आयातकर्ता मुलुकहरूमा स्पेन, जर्मनी, चेक गणतन्त्र, नेदरल्याण्ड्स, लक्जम्बर्ग, बेल्जियम, पाकिस्तान, टर्की, स्वीट्जल्याण्ड र संयुक्त राज्य अमेरिका प्रमुख रूपमा रहेका छन् ।

अध्ययन अनुसार एक केजी काँचो अल्लोको रेशाबाट कम्तीमा आधा केजी अल्लो धागो उत्पादन हुन्छ । एक केजी अल्लोबाट करिब ३ मिटर कपडा उत्पादन हुने गर्दछ । एक केजी अल्लोको रेशाको वर्तमान मूल्य २१० रुपैयाँ रहेको छ । यसबाट तयारी मालवस्तु बनाउँदा तयारी मालवस्तुको मूल्य करिब ३ हजार १५० रुपैयाँ पर्ने देखिन्छ । यसरी काँचो अल्लोबाट तयारी मालवस्तु बनाउँदा लाग्ने लागतमा आधा जति अर्थात् १ हजार ५७५ रुपैयाँ ज्याला लाग्ने अध्ययनले देखाएको छ ।

यदि अल्लोको उत्पादनलाई जोड दिने हो भने वार्षिक करबि ९० करोड मिटर वस्त्र तथा १३ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्न सकिने अध्ययनको दावी छ । हेम्प यार्न (धागो) र फेब्रिकको विश्व आयात ७ करोड युएस डलर बराबर (८ अर्ब २८ करोड रुपैयाँ)को विश्व आयातमा नेपाली अल्लोका उत्पादनको निर्यातको हिस्सा बढ्नेछ ।

नेपालको उच्च लेकाली भेग भएका जिल्लाहरु रोल्पा, रुकुम, म्याग्दी, बझाङ, अछाम, हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोटमा अल्लो उत्पादन हुने गर्दछ । साथै, मध्य तथा सुदूर पश्चिमी पहाड र हिमालका जिल्लाहरूमा नेपालको कुल अल्लो उत्पादनको करिब ६० प्रतिशतको हाराहारीमा अल्लो उत्पादन हुने गरेको अध्यनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.