सनराइज बैंकका सीईओ शर्मासहित ५० जनाले रोजे भिआरएस, ३६ महिनाको सुविधा

  २०८० साउन ९ गते १८:४८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले स्वेच्छिक अवकास सुविधा (भिआरएस)का लागि निवेदन दिएका छन् । दुवै बैंकको एकीकृत कारोबारपश्चात् खुला गरेको भिआरएसमा हालसम्म ५० जना कर्मचारीले निवेदन पेस गरेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ ।

स्रोतकाअनुसार साउन १५ गतेसम्म भिआरएसका लागि  निवेदन दिने समय छ । निवेदन दिने अन्तिम दिनसम्म भिआरएसका लागि निवेदन दिनेकाे स‌ंख्या बढ्न सक्ने बैंक स्राेतले बताएकाे छ ।

‘भिआरएसका लागि आवेदन दिने समय सकिएको छैन । अहिलेसम्म ५० जनाले भिआरएसका लागि निवदेन दिएका छन् । तर, समय नसकिएको हुँदा यो संख्या बढ्न सक्छ,’ स्रोतले भन्यो ।

भिआरएस सुविधाका लागि हालसम्म साविक सनराइज बैंकबाट ४० जना र साविक लक्ष्मी बैंकबाट १० जनाले निवेदन पेस गरेको बैंक स्रोतले बताएको छ । साविक सनराइज बैंकबाट सीईओ शुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएसका लागि निवेदन दिएका छन् ।

साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेकाे स्रोतको भनाइ छ । नेपाल र श्रेष्ठले अवकाश पाउने बेला भएकाले भिआरएस सुविधा लिएका हुन् ।

‘साविक सनराइज बैंकबाट भिआरएस राेज्ने अधिकांश कर्मचारी जुनियर लेभलका छन् । ड्राइभर, सेक्युरीटी गार्डहरुले पनि भिआरएसका लागि निवेदन दिएका छन् । सिनियर लेभलका कर्मचारी भने त्यति धेरै छैनन्,’ स्रोतले भन्यो ।

साविक लक्ष्मी बैंकको सिनियर लेभलबाट भने एक जनासहित जुनियर तहका कर्मचारीले निवेदन दिएकाे स्राेतले बताएकाे छ। स्रोतकाअनुसार सहायक महाप्रबन्धक (एजिएम) सञ्‍जीवराज जोशीले भिआरएस सुविधा लिन खोजेका हुन् । जोशी साविक लक्ष्मी बैंकबाट भिआरएस लिने सबैभन्दा सिनियर कर्मचारी हुन् ।

के-के पाउँछन् सुविधा ?

भिआरएसमा बाहिरीने कर्मचारीले २४ महिनासम्मको तलब सुविधा पाउने छन् । तर, सपोर्टेड (कन्ट्र्याक्ट)कर्मचारीलाई भने ३६ महिनासम्मको तलव सुविधा दिइनेछ । सीईओ शर्माले पनि २४ महिनाको तलब पाउने छन् । तर, उनले सवारी साधन भने नपाउने भएका छन् ।

‘भिआरएसमा घोषणा गरेअनुसारको सुविधा पाउँछन् । सपोर्टेड स्टाफहरु ड्राइभर, सेक्युरीटी गार्डहरुले ३६ महिनाको सुविधा पाउने छन्,’ स्राेतले भन्याे, ‘सिनियर लेभलको कर्मचारीले भिआरएस लिएको भए धेरै खर्च हुन्थ्यो तर, जुनियर लेभलको कर्मचारीले भिआरएस राेजेकाे हुँदा धेरै खर्च आउँदैन ।’

सिनियर डीसीईओमा भट्टराई नियुक्त

मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकमा तीन जना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त भएका छन् । साविक लक्ष्मी बैंकबाट सुमेद भट्टराई, साविक सनराइज बैंकबाट आरती राणा र अपचबहादुर यादव डीसीईओ बनेका हुन् । उनीहरु साविक बैंकको डीसीईओ थिए ।

बैंकमा ३ जना डीसीईओ भएपछि उमेर र अनुभवका आधारमा भट्टराईलाई सिनियर डीसीईओमा नियुक्त गरिएको हो । स्रोतका अनुसार डीसीईओ राणा र यादवले भने हालसम्म भिआरएस सुविधाका लागि निवेदन पेस गरेका छैनन् ।

‘मर्जरपछि ३ जना डेपुटी सीईओ बन्नुभयो । ३ जनामध्ये भट्टराई सर सिनियर डेपुटी सीईओमा नियुक्त हुनुभयो,’ उनले भने, ‘डीसीईओ राणा र यादवले राम्रो रेस्पोन्सिबिलीटी पाउनु भएको छ । उमेर पनि छदैँछ । उहाँहरुलाई भिआरएस लिनु पर्ने बाध्यता छैन ।’

मर्जरपश्चात् कर्मचारी समायोजन सन्तुलित रुपमा गरेकाे बैंकले बताएको छ । सबै कर्मचारीलाई सहज वातावरण हुने गरी व्यवस्थापन गरेको बै‌ंकका अधिकारीहरु बताउँछन् ।

‘सबै कर्मचारीले राम्रो रेस्पोन्सिबिलीटी पाउनुभएको छ । सहजरुपमा काम गर्ने वातावरण छ । दुबै बैंकका कर्मचारीलाई भेदभावरहित व्यवस्थापन गरिएको हो । कर्मचारी व्यवस्थापनमा लक्ष्मी सनराइज बैंक उदाहरणीय हुनसक्छ । दुवै बैंकका कर्मचारी खुशी नै रहेको रेस्पोन्स आइरहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.