स्नातक तहलाई तीन वर्षमा झार्दा विद्यार्थी नेपालमै रोकिन्छन् ?

  २०८० साउन ९ गते १२:०८     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीकाे संख्या निरन्तर घट्न थालेपछि शैक्षिक कार्यक्रमकाे अवधि नै घटाउने विषयमा छलफल भएको छ ।

अहिले चारवर्षे अवधिमा सञ्चालन भइरहेको स्नातक तहलाई तीन वर्षे बनाउँदा अध्ययन गर्न विदेश जाने विद्यार्थी रोकिने र संख्या बढ्नसक्ने अनुमान सहित विश्वविद्यालय प्राज्ञिक समितिको वैठकमा डिनहरुले सुझाव राखेका थिए ।

खासगरी नेपालमा विश्वविद्यालयको अध्ययन नगरी विद्यार्थीहरु विदेश जान थालेपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको हुनसक्ने सामान्य अनुमान गर्न सकिन्छ । तर, त्रिभुवन विश्वविद्यालयभित्र छलफल शुरु भएजस्तो स्नातक तहको अध्ययन अवधिलाई एक वर्ष घटाउँदा विद्यार्थीहरु नेपालमा नै बसेर अध्ययन गर्छन् ?

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने स्नातक तहलाई तीन वर्षेमा झार्दैमा विश्वविद्यालयमा विद्यार्थीको संख्या नबढ्ने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा अध्ययन वर्षभन्दा पनि क्रेडिट आवर महत्वपूर्ण हुने हुँदा अहिले भइरहेको बहस नै अनुपयुक्त भएको बताए ।

‘सेमेस्टर प्रणालीमा कति वर्ष पढ्यो भन्ने विषय महत्वपूर्ण हुँदैन, कति क्रेडिट आवर पढ्यो भन्ने महत्वपूर्ण हुन्छ र त्यो क्रेडिट आवरमा के–के कुरा पढ्यो, कति पेपरहरु लेख्यो र ती पेपरहरु कति छापिए भन्ने महत्वपूर्ण हुन्छ’ डा.कोइराला भन्छन्, ‘कतिपय ठाउँमा चारवर्षे कोर्ष दुई वर्षमा पनि सक्न सकिन्छ, इङ्ल्यान्डमा एक वर्षमा एमए गर्न सकिन्छ, त्यसैले प्रश्न नै अनावश्यक प्रश्न बनाइयो ।’

प्रणालीमा विद्यार्थीलाई ल्याउनेभन्दा पनि विद्यार्थीले खोजेको प्रणालीमा जानुपर्ने उनको तर्क छ । जति विकसित हुँदै गयो विद्यार्थीको पछाडि प्रणाली लाग्ने अभ्यास हुँदै गएको उनको भनाइ छ । विद्यार्थीको माग र आवश्यकताका आधारमा शैक्षिक प्रणाली निर्धारण गर्नुपर्ने तर, नेपालका विश्वविद्यालयमा त्यो अवस्था नरहेको उनको भनाइ छ ।

‘कुनै विद्यार्थीले म चार वर्षको कोर्ष चार वर्षमा सक्दिन म आठ वर्ष लगाएर पढ्छु भन्यो भने खै त पढ्ने ठाउँ ?’, कोइराला प्रश्न गर्छन्, ‘यो विषयमा कसैले पनि चिन्तन गरेन, विद्यार्थीले म हप्तामा म एक दिन मात्रै आएर पढ्छु भन्यो भने दिने कि नदिने ?, म तपाईंको कक्षामा आउन सक्दिन, म मेरो ढंगले वा अनलाइन पढ्छु भन्यो भने त्यसको जाँच लिने की नलिने भन्ने विषयमा हामीले सोच्नुपर्छ ।’

विद्यार्थी सँधै कलेज आएर लेक्चर सुन्नुपर्छ भन्ने मान्यता भन्दा पनि शैक्षिक प्रणाली लचिलो भएमा विद्यार्थीलाई विश्वविद्यालयमा जोडिएर अध्ययन गर्न सजिलो हुने उनको भनाइ छ ।

त्यस्तै, शिक्षाविद् डा. विष्णु कार्कीले केही वर्ष अगााडि मात्रै तीनवर्षे कार्यक्रमलाई चारवर्षे बनाइएकोमा फेरि तीनवर्षे बनाउने विषयमा छलफल गर्दा जिम्मेवार व्यक्तिहरुले गम्भीर सोच्नुपर्ने बताएका छन् । उनले तीनवर्षे बनाउन मिल्ने विषयलाई तीनवर्षे बनाउन सकिने तर, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेर्नुपर्ने बताएका छन् ।

‘जुन विषयलाई चार वर्षे माग गरेको छैन त्यसलाई चाारवर्षे नबनाउँ, जस्तो एमबिबिएस चारवर्षे कोर्ष हो, त्यसलाई चलाउन सकिँदैन’, शिक्षाविद् कार्कीले भने, त्यसैले जिम्मेवार ठाउँमा बस्नेहरुले किन यसो गर्दैछौं भन्ने भन्नुपर्यो ।’ साथै समयको विषयमा छलफल गर्दा अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुने भएकाले सो विषयलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिबलाल भुसालले प्राज्ञिक परिषद्को बैठकमा स्नातक तहको अध्ययन अवधि तीन वर्ष बनाउने विषयमा छलफल उठेको बताएका छन् । साथै अध्ययनलाई सहज बनाउनको लागि चौथो वर्षको अवधि इन्टर्नसिपको रुपमा अगाडि बढाउन सकिने निर्णय भएको उनले बताए ।

‘चार वर्षलाई तीन वर्षमा झार्ने होइन बरु तीन वर्ष पढाएर चौथो वर्ष इन्टर्नसिपतर्फ जाने हो की भन्ने भएको छ’, उनले भने, ‘अब पाठ्यक्रम बनाउँदा चौथो वर्षलाई हल्का बनाउने ढंगले काम अगाडि बढ्छ ।’ उनले चौथो सेमेस्टरमा फिल्डवर्क, थेसिस र इन्टर्नसिपका कार्यक्रमलाई समावेश गरिने बताए । साथै उनले समय कमि हुँदा पनि विगतमा मानविकी संकायमा विद्यार्थी संख्या नबढेको बताए ।

पछिल्लो केही वर्ष यता विश्वविद्यालय अथवा उच्च शिक्षा तहमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्यामा निरन्तर कमि भइरहेको छ । अधिकांश विद्यार्थीहरु अध्ययनकै क्रम छाडेर अन्य पेशा व्यवसायमा लाग्ने तथा विदेश जाने क्रम बढ्न लागेको छ । जसले गर्दा कतिपय विभाग र कलेजहरु बन्द हुने अवस्थामा समेत पुगेका छन् ।

सरकारले उच्च शिक्षामा वर्षेनी ठूलो मात्रामा लगानी गर्दै आएको छ । तर, वर्षेनी नेपाल छाडेर अध्ययनको नाममा विदेशीने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको तथ्यांकले देखाउँछ । पछिल्लो आर्थिक वर्षमा मात्रै एक लाख १० हजार दुई सय सत्र जना विद्यार्थीले विदेश अध्ययनको लागि भनेर एनओसी लिएका थिए ।

विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेन्डरमा विद्यार्थी भर्ना देखि परीक्षा र नतिजा प्रकाशन नगर्दा पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनको लागि विदेश रोज्न लागेको देखिन्छ । तर, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा डिनहरु भने आफूहरुले सिर्जना गरेको समस्यालाई सही ढंगले समाधान गर्नेभन्दा पनि स्नातक तहको समयावधिको छलफलमा केन्द्रित हुन खोजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.