मौद्रिक नीति कार्यान्वयन गर्न साउनभित्रै सबै सर्कुलर, राष्ट्र बैंक भन्छ- सबैको माग पूरा गर्न सकिँदैन

  २०८० साउन ७ गते १९:३८     विकासन्युज

काठमाडौं । मौद्रिक नीतिले गरेका व्यवस्थाका सम्बन्धमा धेरैजसो सर्कुलर साउन महिनाभित्रमै जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीतिले अख्तियार गरेका विषयलाई थप स्पष्ट गर्न र कार्यान्वयनका लागि साउन भित्रमै धेरैजसो सर्कुलर जारी भइसक्ने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

‘मौद्रिक नीतिमा समेटिएका धेरैजसो विषयमा साउन भित्रै सर्कुलर ल्याएर स्पष्ट गर्छौं’, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले भने ।

बै‌कर भन्छन्- सन्तुलित मौद्रिक नीति

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको बैंकरहरुले बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरुले समग्र क्षेत्रलाई सन्तुलित बनाउन खोजिएको बै‌करहरुकाे भनाई छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बाह्य क्षेत्र अहिले पनि दबाबमा रहेकाले मौद्रिक नीति सन्तुलित आएको बताउँछन् । साथै, चालु पूँजी मार्गदर्शलाई पुनरावलोकन गर्ने, आवासीय कर्जा तथा सेयर कर्जाको जोखिम भार संशोधन हुँदा रोकिएको कर्जा प्रवाह सहज हुने अपेक्षा रहेको उनले बताए ।

उनकाअनुसार केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, बैंकिङ्ग कसुरलाई शसक्त बनाउने र कर्जाको फ्रेमवर्क बनाएर अघि बढ्दा बैंकिङ्ग क्षेत्रलाई सजिलो हुनेछ ।

‘साढे ११ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य अहिलेको लगानीयोग्य रकमको हिसाबमा ठिकै हो । तर, क्यापिटल कम भएको बैंकहरुले कसरी गर्ने भन्ने कुरामा स्पष्ट छैन । आर्थिक क्षेत्रलाई चलायमान गराउने चुनौति थियो । त्यसलाई अलिकति मात्रै समावेश गर्न खोजेको देखिन्छ । र, आगामी दिनमा सर्कुलर आएपछि थाहा हुन्छ,’ अध्यक्ष केसीले भने ।

नेपाल लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष रामबहादुर यादव कर्जाको गुणस्तर र जोखिम भारमा राष्ट्र बैंक लचिलाे हुने देखिएको बताउँछन् । उनकाअनुसार आन्तरिक नियन्त्रणको माध्यमबाट यसलाई सहज गर्न खोजिएको छ । साथै, लघुवित्तको संख्या घटाउन मर्जर नीतिलाई लम्ब्याउन खोजेको उनले बताए ।

‘मर्जरमा जाने लघुवित्त संस्थाले २०८१ असारसम्म एकीकृत कारोबार गरेमा अहिले दिइरहेको सुविधालाई निरन्तरता दिने भनिएकाे छ । यो असाध्यै राम्रो छ । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढाएर लघुवित्तमा समस्या देखिएको छ । त्यसैले मर्जरलाई प्रोत्साहन गरेर मल्टिपल फाइनान्स कम गर्न सघाउ पुर्याउँछ,’ यादवले भने, ‘अब लघुवित्त संस्थालाई स्वस्थ प्रतिस्पर्धा गर्न सहज हुनेछ । लघुवित्तको संख्या कम हुनै पर्छ भन्ने हाम्रो ठम्याइ छ । लघुवित्त संस्था २५/३० वटामा झर्नु पर्छ ।’

साथै, राष्ट्र बैंकको अध्ययन समितिले लघुवित्त समस्याहरुलाई केलाएर मात्रै समाधान गर्ने भनेकाले आगामी दिनमा लघुवित्त सम्बन्धी निचोड आउने उनको बुझाइ छ । समितिले अध्ययन प्रतिवेदन पेश गरेपछि जे कुरा आउँछ सोही अनुसार अघि बढ्ने भनेको हुँदा सकरात्मक रुपमा लिएको उनले बताए ।

‘अध्ययन समितिले विभिन्न दृष्टिबाट अवधारणाबाट विश्लेषण गरेको हुन्छ । त्यहिँ निचोडका आधारमा लघुवित्तका समस्या समाधान हुने छन्,’ यादवले भने ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ लचक भएर राष्ट्र बैंकले नीतिगत दर घटाएको बताउँछन् । घरकर्जाको जोखिम भार र कर्जा रकमको सीमा बढाएपछि घरजग्गा कारोबारमा उछाल आउने उनले बताए । उनका अनुसार विभिन्न स्वार्थ समूह हुने भएकाले सबैले अपेक्षा गरे अनुसार मौद्रिक नीति आउन सक्दैन ।

‘कोरोना अवधिको जस्तो धेरै लचक हुनु जरुरी छैन । अघिल्लो वर्षको तुलनामा धेरै लचक भएको हो । सबैका अपेक्षा पूरा गर्न सकिँदैन । विभिन्न स्वार्थबाट पनि अपेक्षा गरिएका हुन्छन् । हामीले बाह्य र आन्तरिक क्षेत्र दुवैलाई सन्तुलन कायम गर्न खोजेको हो,’ श्रेष्ठले भने, ‘आर्थिक गतिविधिमा शिथिलता आउन नदिने मनसायले राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । नियामकीय नीतिहरु चालु पूँजी कर्जा मार्गदर्शन, कर्जाको जोखिम भार पुनरावलोकनले पनि राहत र सहजता दिनेछ ।’

राष्ट्र बैंकले साउन महिनाभित्रै सर्कुलर जारी गरेर थप प्रस्ट पार्ने उनले आवश्वस्त बनाए । बैंकको ब्याजदर घट्दै गएपछि सेयर बजारका लागि सकारात्मक हुने उनको बुझाइ छ । तर, लगानीकर्ताहरूकाे पैसाकाे लागी बैंककाे भर नपरी शेयर बजारबाटै कमाउन सक्ने अवस्था सृजना हुनुपर्ने उनले बताए ।

‘सेयरतर्फको कर्जामा जोखिम भार पुनरावलोकन गर्ने भनिएको छ । बैंकको कर्जा सेयर बजारमा भन्दा अन्य उत्पादनमुलक क्षेत्रमा जा‍‌ओस् भन्ने राष्ट्र बैंकको अपेक्षा हो । किनभने उत्पादन बढाउन जरुरी छ । सेयर बजार बैंकको विकल्पको बजार हो । बैंकको वैकल्पीक बजार बनोस् भन्ने हाम्रो चाहना हो । पूँजी बजार बैंकहरुमा निर्भर हुने नहोस्,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.