मौद्रिक नीति : सबैलाई थुमथुम्याउने गभर्नरको ‘ट्याकटिस’

  २०८० साउन ७ गते १७:५५     सन्तोष रोकाया

काठमाडौं । मौद्रिक नीति निर्माण गर्दै गर्दा सबैभन्दा ठूलो तनाब कसैलाई थियो भने गर्भनर महाप्रसाद अधिकारीलाई नै थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतको ‘प्रेसर’ र निजी क्षेत्रका उद्योगी व्यवसायी, सेयर लगानीकर्ता र बैंकरहरुको पटक–पटकको राय सुुझावसहितको ताकेताले निथ्रुक्क भएका अधिकारीले त्यो तनाबका बीच पनि आफ्नो तजबिजले सबैको मन थुमथुम्याउने किसिमले मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

पछिल्लो समय बजेटभन्दा बढी महत्व मौद्रिक नीतिलाई दिने गरिएको छ । बजेटले समग्र अर्थतन्त्रलाई लयमा राख्न आवश्यक नीतिमार्फत् सरकारको आय र खर्चको खाका बनाउँछ भने बजेटले राखेका ती लक्ष्य तथा उद्धेश्य पुरा गर्न राष्ट्र बैंकको मौद्रिक नीतिले सघाउँछ । त्यसैले पनि मानिसको चासो मौद्रिक नीतिभन्दा पनि बजेट हुनुपर्थ्यो । तर, त्यसो नभएर मौद्रिक नीतिमै सबैको चासो, गुनासो र राय रहन्छ । सधैं त्यसैको घेराबन्दीमा रहन्छ राष्ट्र बैंक ।

पछिल्लो समय बजेट ल्याउने सरकारका अर्थमन्त्री नै मौद्रिक नीतिमा भर पर्न थालेका छन् । त्यसको पुनरावृत्ति अर्थमन्त्री डा। महतले पनि गरे । बैंक तथा वित्तीय संस्थाबाट कुनै नीतिगत सहुलियत चाहेमा उद्योगी व्यवसायी र बैंकरले पनि अर्थमन्त्रीमार्फत गभर्नरलाई दबाव सिर्जना गर्ने परिपाटी नौलो होइन । त्यो शिलसिला महतको कार्यकालमा पनि देखियो ।व्यवसायी, लगानीकर्ता तथा बैंकरले राखेका माग जस्ताको त्यस्तै सम्बोधन गर्न बेलाबखत अर्थमन्त्रीले गभर्नर समक्ष दवाब दिइरहे ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गरेजस्तै महतले पनि ‘यसो गर्न, उसो गर्न’ भनेर गभर्नरमाथी निर्देशन बर्साइरहे ।अर्थतन्त्रका सूचक र आर्थिक अवस्था हेरेर मौद्रिक औजारहरु चलाउने बानी परेका गभर्नरलाई हचुवाको भरमा भनिएका अर्थमन्त्रीका निर्देशनले नपिरोलेको होइन । त्यसैले पनि कहिलेकाँही ‘अर्थमन्त्री र गभर्नरबीच विवाद’ भन्ने समाचार पनि बाहिरिरहन्छन् । तर, शालिन र चतुर स्वभावका गभर्नरले यस पटक ‘सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने’ रणनीति अघि सारे ।

गभर्नरसँग सबैभन्दा बढी असन्तुष्ट भनेका सेयर लगानीकर्ता, घरजग्गा व्यवसायी र अटो व्यवसायी थिए । धेरैले गभर्नरकै कारण सेयर बजार घटेको आरोप पनि लगाउँछन् । सामाजिक सञ्जालमा गभर्नर अधिकारीलाई गाली नगर्ने सेयर लगानीकर्ता सम्भवतः कमै होलान् । घरजग्गा व्यवसायी र अटो व्यवसायीहरुले पनि राष्ट्र बैंककै कारण आफ्नो व्यवसाय संकटमा परेको गुनासो गरिरहन्छन् ।

उनीहरु त्यसबाट मुक्ती पाउन शक्ति संघर्ष गर्छन् । र, ठोक्किन्छन् अर्थमन्त्रीसँग । परिणामस्वरुप अर्थमन्त्री महतले सेयरधितो कर्जामा लगाइएको १२ करोड सीमा खारेज गर्न, घरजग्गा र अटो व्यवसाय क्षेत्रमा सहज नीति अघि सार्न बारम्बार दबाव दिइरहे । उनले बैंकको ब्याज घटाउनेदेखि सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हट्नेसम्मका धारणा सार्वजनिक कार्यक्रममै राखिरहे । अर्थमन्त्रीको चाहना थियो, राष्ट्र बैंकले बजेटले लिएको आर्थिक वृद्धिदर र मुद्रास्फितिको लक्ष्य भेट्टाउने मौद्रिक नीति ल्याओस्, कर्जा विस्तार हुने व्यवस्था गरोस् र उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुले मागेका मागहरु पुरा गरोस् ।

गभर्नर अधिकारीले पनि तिनै विषयहरुमा खेलेर रणनीतिक किसिमले मौद्रिक नीति ल्याए । आफुले यसअघि गरेको व्यवस्थाबाट  पछि हट्न पनि नपर्ने र असन्तुष्टहरु पनि सकरात्मक बन्ने प्रकृतिको मौद्रिक नीति अख्तियार गरे । जसकारण, अर्थमन्त्री, उद्योगी व्यवसायी र सेयर लगानीकर्ताको थप प्रेसर उनले थेगिरहनु परेन । मौद्रिक नीतिपछि ती सबै पक्ष मौद्रिक नीति सन्तोषजनक नै छ भन्ने स्थितिमा पुगेका छन्।

राष्ट्र बैंक ५० लाखसम्मको सेयर कर्जामा लचक देखिएको छ भने २५ लाखसम्मको अटो कर्जामा प्रोत्साहन गरेको छ । आफसुँग सबैभन्दा बढी असन्तुुष्ट रहेका सेयर लगानीकर्ता, घरजग्गा व्यवसायी र अटो व्यवसायीको मन थुमथुम्याउन गभर्नरले कर्जाको जोखिमभार घटाइदिए । सेयर लगानीकर्ताको प्रमुख माग थियो १२ करोडको सेयरधितो कर्जाको सीमा हट्नु पर्ने । घरजग्गा व्यवसायी र अटो व्यवसायीको सबैभन्दा ठूलो माग थियो, ‘लोन टु भ्यालु रेसियो’ बढाउनुपर्ने ।

तर, यसअघि गरेका नीतिगत व्यवस्थाबाट पछि नहटेर गभर्नर अधिकारीले जोखिमभार घटाए । घर कर्जामा २ करोड रुपैयाँको सीमा पुर्याए । यसले घरजग्गा व्यवसायी खुसी छन् । आफ्ना मुख्य मागहरु पुरा नभए पनि केही माग पुरा भएकोमा मन बुझाउने अवस्थामा उनीहरु पुगेका छन् । अधिकारीले अर्थमन्त्रीले महतले चाहेको कुरा पनि पुरा गरिदिएका छन् ।

अर्थमन्त्री चाहन्थे, कर्जाको विस्तार होस् । गभर्नरले पनि मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने ऋणको लक्ष्य ११.५ प्रतिशत कायम गरेका छन् । गत वर्ष १२.६ प्रतिशत थियो । अहिलेको कर्जा विस्तारको अवस्था हेर्दा त्यो हासिल हुने खालकै देखिन्छ । त्यसैले बैंकरहरु पनि यसमा खुसी देखिन्छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी घर किन्दा पाउने कर्जाको सीमा बढाएर २ करोड रुपैयाँ पुर्‍याएकोले अब कर्जा विस्तार हुन सहज हुने बताउँछन् । उनले सेयर धितो, रियल इस्टेट तथा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिभार घटाउँदा कर्जा लगानीमा टेवा पुग्ने बताए ।

यस्तै, यसअघि सबैभन्दा ठूलो सकस विदेशी मुद्रा सञ्चितिको थियो । अहिले विदेशी मुद्राको सञ्चिति सहज हुँदा डलर सटही २५ सय पुर्‍याइएको छ । व्यवसायीहरुको आग्रहमा अर्थमन्त्रीको ठूलो दबाब चालपूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकनमा थियो । गभर्नर अधिकारीले त्यो विषयलाई पनि सम्बोधन गरेका छन् ।

यसअघि सुविधै सुविधा दिएर वाहीवाही पाएका गभर्नर अधिकारीले यसपटक चतुर्याईं गरेर सबैको मन थुमथुम्याएका छन् । उद्योगी व्यवसायी तथा अर्थमन्त्रीको दबाबका बिच विवेकपूर्ण ढंगले पूरानो कडिकडाउलाई यथावत राख्दै मौद्रिक नीति जारी गर्न गर्भर महाप्रसाद अधिकारी सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.