राष्ट्र बैंकको कडाइपछि १५ प्रतिशतले घट्यो सेयर कर्जा, २९ संस्थाले घटाउँदा १६ को मात्रै बढ्यो

  २०८० साउन ५ गते १७:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष सेयर कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष १५ प्रतिशत सेयर कर्जा घटाएका हुन् ।

बैंकहरुले २०७९ जेठसम्म ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । तर, एक वर्षको अवधिमा १४.७१ प्रतिशत घटाएर ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ बराबरको मात्रै सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, विकास बैंकहरुले १३ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले ३ अर्ब ६१ करोड ९४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत जेठसम्म ४७ वटा बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा प्रवाह गरेका छन् । जसमध्ये २९ वटा बैंक वित्तीय संस्थाले कर्जा घटाएका छन् ।

सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ५१.६७ प्रतिशत सेयर कर्जा घटाएर ५६ करोड ७८ लाख रुपैयाँ मात्रै प्रवाह गरेको छ । यस्तै, एनआईसी एशिया बैंकको ४५.४८ प्रतिशत घटेर १ अर्ब ९ करोड १८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४० प्रतिशत घटेर ३ अर्ब ४६ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३९.३६ प्रतिशत घटेर २ करोड २२ लाख रुपैयाँ र एनएमबि बैंकको ३१.२६ प्रतिशत घटेर १ अर्ब ३५ करोड रुपैयाँ सेयर कर्जा बजारमा गएकाे छ ।

यस्तै, सिन्धु विकास बैंकले ३०.८७ प्रतिशत घटाएर १५ करोड २० लाख रुपैयाँ, सानिमा बैंकले २७.६० प्रतिशत घटाएर १ अर्ब ३० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २५.१६ प्रतिशत घटाएर ३ अर्ब ८७ करोड रुपैयाँ, कुमारी बैंकले २४.७४ प्रतिशत घटाएर ३ अर्ब ७१ करोड रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले २४.४६ प्रतिशत घटाएर ९६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

बैंकहरुले निरन्तररुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन् । अधिकांश बैंकह तथा वित्तीय संस्थाहरुले सेयर कर्जा निरन्तर रुपमा घटाउँदै आएकोमा १७ वटा संस्थाहरुले भने बढाएका छन् ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले २८०.२७ प्रतिशत बढाएर १ करोड ९२ लाख रुपैयाँ सेयर कर्जा दिएको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको १४१.६१ प्रतिशत बढेर ७४ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०१.२० प्रतिशत बढेर १ अर्ब १३ करोड रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ४९.११ प्रतिशत बढेर १ करोड ३५ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३२.२० प्रतिशत बढेर १ अर्ब ४३ करोड रुपैयाँ, सेन्ट्रल फाइनान्सको ३०.८१ प्रतिशत बढेर ६५ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको ३०.११ प्रतिशत बढेर २ अर्ब ६८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंककाअनुसार एक्सेल डेभलपमेन्ट बैंकको २९.८८ प्रतिशत बढेर २९ करोड ६० लाख, एभरेष्ट बैंकको २३.६८ प्रतिशत बढेर ९७ करोड ९४ लाख, श्री इन्भेष्टमेन्टको २२.२१ प्रतिशत बढेर ४५ करोड ८१ लाख, लुम्बिनी विकास बैंकको १३.५८ प्रतिशत १ अर्ब ७२ करोड, कामना सेवा विकास बैंकको १२.२६ प्रतिशत बढेर १ अर्ब ३७ करोड, महालक्ष्मी विकास बैंकको ७.२७ प्रतिशत बढेर १ अर्ब ९६ करोड, नबिल बैंकको ६.१२ प्रतिशत बढेर ८ अर्ब ५४ करोड, कृषि विकास बैंकको २.५४ प्रतिशत बढेर १ अर्ब १३ करोड रुपैयाँ सेयर कर्जा बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.