अमेरिकाको जीवनशैली त्यागेर स्वदेश फर्कें, अब व्यवसायमा अभ्यस्त हुन्छु : आकर्षण पोखरेल

  २०८० असार १५ गते १२:२६     विकासन्युज

काठमाडौं । कमलादीस्थित स्काईवाक टावर आज (शुक्रबार) बाट सञ्चालनमा आएको छ । स्काईवाक टावर सञ्चालनमा आएसँगै अब सर्वसाधारणले आकाशमा यात्रा गर्न पाउनेछन् । निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले स्काईवाक साहसिक पर्यटनको हब हुने विश्वास लिएको छ । नयाँ तथा पृथक किसिमको अनुभूति दिलाउने यो टावर २ अर्ब रुपैयाँ लगानीमा तयार भएको कम्पनीले बताएको छ । पर्यटन प्रवद्र्धन र पर्यटन व्यवसायमा नयाँपन दिने उद्देश्यसहित तयार गरिएको स्काईवाक सञ्चालन अगावै राम्रो सुझाव तथा प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ । निर्माणमा कम्पनीका अध्यक्ष आकर्षण पोखरेलसँग स्काईवाकको विषय र उनको व्यवसायिक योजनाका विषयमा कुराकानी गरेका छौं ।

वन्डर्स नेपाल प्रालिले स्काईवाक सञ्चालनमा ल्याएको छ, धेरैले यसका बारेमा नबुझेका पनि हुन सक्छन्, के हो स्काईवाक ?

‘स्काईवाक’ आकाशमा हिँडेको जस्तो अनुभूति लिने ठाउँ हो । स्काईवाक टावरको उचाई ७८.५ मिटर छ । टावरको सबैभन्दा माथिको भागमा सिसामा टेकेर हिँड्ने ठाउँ छ । सिसामा टेक्दा तल सहर देखिन्छ भने माथि खुल्ला आकाश भएको कारण त्यहाँ आकाशमा हिँडेको अनुभूति हुन्छ । सिसामा आफ्नो पाइँला राख्दै काठमाडौं भित्रको रमणीय दृश्य हेर्न सकिने भएकाले पनि यसको नाम स्काइर्वाक भनिएको हो । यहाँ घुम्न आउने जोकोहीले पनि सिसामा टेकेर हिँड्दा आकाशमा हिँडेको अनुभूति पाउनु हुनेछ ।

यस्तो किसिमको टावर विदेशमा देख्न पाइन्छ, तपाईंहरुले स्काईवाक नेपालमै सञ्चालनमा ल्याउनु भएको छ, यस्तो किसिमको पूर्वाधार नेपालमा तयार गर्नुपर्छ भन्ने योजना कसरी आयो ?

मैले पहिलो पटक सामाजिक सञ्जालमा स्काईवाक भिडियो हेर्दा यो नेपालमा पनि बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । मैले क्यानेडामा स्काईवाक चढेर अवलोकन गर्ने अवसर पाएको थिएँ । पहिलो पटक चढ्दा गाह्रो नै महसुस हुँदो रहेछ । अन्य देशमा बन्दा नेपालमा पनि यो काम गर्न सकिन्छ भन्ने मनमा लाग्यो । म अमेरिका बस्थें । यसलाई नेपाल ल्याउनको लागि लोकनाथ अधिकारी, विष्णु सर म बसेर सल्लाह गर्यौं । उहाँहरूसँग सल्लाह मिलेपछि यसलाई निरन्तरता दिन म नेपाल फर्किएँ । यहाँ आएपछि तेज बहादुर सिंह र खेमराज न्यौपाने पनि जोडिनु भयो । र, हामी ५ जना भएर कामलाई निरन्तरता दियौं । अन्य साथीहरू पनि जोडिँदै जानु भयो । सबैको सहकार्य र साथले आज यो कामको सम्पन्न गरेका छौं ।

तपाईं यही प्रोजेक्टको लागि नेपाल आउनु भएको हो ? नेपाल आए पश्चात् कुन–कुन प्रोजेक्ट अगाडि बढाउनु भयो ?

आफ्नै देशमा केही गरौं भन्ने सोचका साथ म नेपाल फर्किएँ । यही प्रोजेक्टको लागि भनेर नै म नेपाल आएको हुँ । यसमा अर्बौंको लगानी छ, व्यवसायिक हुनु पर्याे । कन्याममा उद्घाटन भई सञ्चालनमा आएको करिब ८ महिना भयो । भेडेटारमा पनि निर्माणाधीन अवस्थामा छ । देशैभर साहसिक पर्यटन पूर्वाधार विकासमा गरौं भन्ने छ । हामीले लुक्लादेखि छेदिङ्मासम्म करिब ५ किलोमिटर केबलकारको डीपीआर गर्ने काम भइरहेको छ । हामीले कोशी प्रदेशसँग सहकार्य गरी पीपीए मोडलमा यो कामको अगाडि बढाएका हौं । पर्यटन व्यवसायमा नयाँ र पृथक पहिचान दिने उद्देश्यले नै यो काम गरेका हौं ।

नेपाल भूपरिवेष्ठित देश हो, डाँडा पाखा पर्याप्त छन्, विदेशमा पनि डाँडाँपाखा र डरलाग्दा ठाउँहरुमा यस्तो किसिमको भ्यू टावर देखिन्छ, तपाईंले भ्यू टावरको लागि काठमाडौं नै किन रोज्नु भयो ?

हामीले भेडेटारमा निर्माण गरिरहेको स्काईवाक पनि भिरमा नै छ । यस्तो किसिमको पूर्वाधार विकासमा अर्बौं रुपैयाँको लगानी चाहिन्छ । लगानी गरिसके पछि रिर्टन पनि हेर्नु पर्याे । त्यहाँसम्म मान्छे पुग्नु पनि पर्याे । नेपालमा विश्वकै उत्कृष्ट स्काईवाक बनाउन सक्ने ठाउँ छ । तर, हामीसँग पूर्वाधार छैन । त्यहाँ गएर निर्माण गर्न सक्ने अवस्था पनि छैन । निर्माण गर्यो भने त्यहाँ मान्छेको उपस्थिति न्यून हुन्छ । हामीले धेरै अध्ययन गरेर कमलादीलाई रोजेका हौं । हाम्रो ठाउँका देशका धेरै ठाउँ घुम्यो । ती सबै ठाउँहरुको तुलनामा कमलादी उपर्युक्त लागेर यो ठाउँमा भ्यू टावर निर्माण गरेका हौं ।

स्काईवाक बनाउँदा कति समय लाग्यो ?

हामीले वि.सं. २०७६ मा मंसिरमा शिलान्यास गर्यौं । शिलान्यास गरेको केही समय पश्चात् चैत्रबाट कोभिड–१९ का कारण लकडाउन भयो । लकडाउनका बेलामा हलचल पनि गर्न पाइएन । महामारी सामान्य भएपछि फेरी दोस्रो भेरियन्ट आयो र पुनः लकडाउन भयो । हामीलाई स्काईवाक बनाउन करिब २ वर्ष समय लाग्यो ।

स्काईवाक धरहरा भन्दा अग्लो छ भन्ने सुनिन्छ, नजिकै काठमाडौं भ्यू टावर पनि बन्दैछ, मान्छेहरु काठमाडौंको भ्यू हेर्नै पर्यो भने ती ठाउँमा पनि जान्छन् होला ती दुई पूर्वाधारले तपाईंको बिजनेस खोस्ने सम्भावना कत्तिको देख्नु भएको छ ?

धरहराको उचाइ कति छ भने कुराको यकिन मलाई भएन । तलाको हिसाबले धरहरा २२ तला छ भने यो २५ तलाको छ । हामी अग्ला भयौं । यसको उचाइ ७८.५ मिटर छ । मान्छेलाई आकाशमा हिँडेको जस्तो अनुभूति दिलाउन यसलाई हाइटमा लानु पर्याे । मान्छेलाई डर महसुस हुने खालको पनि चाहियो । एक किसिमले भन्ने हो भने बनाउँदै जाँदा हाइट पनि आयो, हाइट आएकाले टावर पनि भयो । यहाँबाट काठमाडौंको भ्यू नियाल्न पनि सकिन्छ । तर, यो भ्यु टावर चाहिँ हैन, स्काईवाक हो । धरहरा हाम्रो ऐतिहासिक पुरात्वतिक भवन भयो । त्यसको महत्व छुट्टै छ । त्यो हामीले पनि सम्मान गर्ने स्थान हो । बसपार्कमा बनिरहेको कमर्शियल कम्प्लेक्स हो । त्यो सपिङ गर्ने ठाउँ रेस्टुरेन्ट आदि सञ्चालन गर्ने उद्देश्यले बनाइएको भवन होला । हाम्रो टावरमा चढेर हिँड्ने ठाउँ भयो । सबैको आ–आफ्नो उद्देश्य छन् । काठमाडौंमा यति धेरै मान्छे छन् । एउटै मान्छे एक पटक चढेपछि हप्तै पिच्छे आइरहँदैन । उसको इच्छा अनुसार एक हप्ता यता एक हप्ता अर्कोमा चढ्न पनि सकिन्छ ।

स्काईवाक चढ्न एक हजार रुपैयाँ तोक्नु भएको छ, यो अलि महँगो भएको कि भन्ने गुनासो पनि सुनिन्छ नी ?

स्काईवाक चढ्दा एक हजार रुपैयाँ लाग्यो । यो शुल्क कर भ्याट आदि सबै मिलाएर निर्धारण गरेका हौं । ३ फिट भन्दा मुनि बालबालिका र ८० वर्ष भन्दा माथिका लागि स्काईवाकमा निःशुल्क प्रवेशको व्यवस्था छ । विद्यार्थीहरूको लागि विद्यालय सहकार्य गरी प्याकेज बनाइ रहेका छौं । हामीले माथि स्काइ क्लास रुम भनेर पनि बनाउँछौं । त्यहाँ गएर इजिनियरिङका विद्यार्थी तथा जुनसुकै विषयका विद्यार्थीले पनि यसको विषयमा बुझ्न सक्ने छन् । शुल्क १००० सुन्दा यो बढी लाग्न सक्छ । विश्वभरकै स्काईवाक हेर्नु भयो भने सबै भन्दा सस्तो स्काईवाक यही हुन्छ । हामीले नेपाली मार्केटलाई हेरेर नै यो शुल्क निर्धारण गरेका हौं । अब स्काईवाक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्छ । सम्पूर्ण तयारी पूरा भएपछि २४ औं घण्टा खेल्ने सोचमा छौं । लोडको हिसाबले हेर्ने हो भने एक हजार जना मान्छे पनि माथि चढाउन सक्छौं । तर, चढाएर मात्र भएन पार्किङ लगायतका सेवा सुविधा दिन सक्नु पर्याे । हामीले एक पटकमा ५ सय भन्दा बढी मान्छे चढाउँदैनौं । अनलाइनबाट पनि प्रि–बुकिङ वा बुकिङ गर्न सकिन्छ ।

स्काईवाक निर्माण गर्दा तपाईंहरु जस्तै इन्जिनियर ब्याकग्राउन्डको सहभागिता थियो वा बाहिरबाट विज्ञहरू पनि हायर गर्नु भयो ?

हामीले क्यानेडियन डिजाइनरलाई लिएर आएर धेरै ठाउँको अध्ययन गराएर उहाँकै सरसल्लाह अनुरूप यो ठाउँमा फाइनल गरेका हो । हामी यही सिलसिलामा बन्दिपुर, कर्णाली, चितवन लगायतका ठाउँमा पनि पुगेका थियौं । यसका विषयमा चीन पनि अगाडि छ । हामीले यसको डिजाइन चाइजिनज टिमलाई लिएर आएर पनि देखायौं । डिजाइन बनेपछि पनि यसको अमेरिकाको एउटा प्रोफेसरले स्ट्रक्चरको हेर्नु भयो । हामीले यसमा सकेसम्म नेपाली म्यानपावरको प्रयोग गरी काम गरेर गरेका छौं ।

नेपालमा लगानी गर्ने वातावरण छैन, प्रशासनिक झन्झट उस्तै छ भनेर व्यवसायीहरुले गुनासो गर्नुहुन्छ, तपाईंहरुलाई काम गर्दै जाँदा त्यो किसिमको अनुभूती भयो कि भएन ?

युवाको काम सकेपछि धेरै कुराहरू बिर्सिने बानी हुँदो रहेछ । यस्ता किसिमको समस्या नआएका हैनन् । तर, हामीले यसलाई सहजीकरण गर्दै अगाडि बढ्यौं । हामीसँग धेरै पैसा भएर पनि टावर बनाएका होइनौं । सबै साथीहरू मिलेर काम गरेका हौं । बाहिर बस्दा यहाँ काम गर्न जति गाह्रो छ भन्ने सोचेका थियौं, तर हामीले सोचे जस्तो काम गर्न चाहिँ गाह्रो भएन । नेपालमा काम गर्ने वातावरण राम्रो छ ।

काठमाडौंमा पार्किङको सुविधा छैन, यसले पनि व्यवसायीको बिजनेसमा समस्या भइरहेको हुन्छ, यहाँ घुम्न आउनेहरूको लागि पार्किङको व्यवस्था कसरी गर्नु भएको छ ?

हामीले स्काईवाक घुम्न आउँनेहरुको लागि पार्किङको पनि व्यवस्था मिलाएका छौं । स्काईवाकमा ५ सयले एक पटकमा अवलोकन गर्न सक्छन् । उहाँहरू सबै गाडीमा पनि आउनु हुन्न । जति मान्छे यहाँ आउनु हुन्छ, यहाँ आएका मान्छेलाई हामीले पार्किङको सुविधा दिन सक्छौं । यहाँ ५० वटा गाडी ३ सय वटा मोटरसाइकल अट्ने पार्किङको व्यवस्था छ । पार्किङको समस्या छैन ।

तपाईंहरु कति जना लगानीकर्ता हुनुहुन्छ ?

हामीले २३ वर्षको लागि जग्गा लिजमा लिएर स्काईवाक बनाएका हौं । यो १३ रोपनी २ आनामा बनेको छ । यसमा ९० जना लगानी कर्ता हुनुहुन्छ ।

अहिले बर्षायाम छ, दैनिक जसो पानी परिरहेको छ, काठमाडौंको आसपासमा कहिले काहि कुहिरो पनि लाग्छ, यस्तो अवस्थामा व्यापार सुरु गर्दा व्यवसायमा दखल पुग्छ भन्ने खालको अनुभूति तपाईंलाई भएन ?

यहाँ मौसम अनुसारको रमाइलोको अनुभूति गर्न पाइन्छ । कुइरो लाग्दा अर्कै देखिन्छ, झन् रमाइलो भयो । पानी परेको बेला डान्सिङ रेन भनेर बनाएका छौं । त्यसैले तपाईंले पानी परेको बेलामा पनि मज्जा लिन सक्नु हुन्छ । रातको समयमा माथिबाट काठमाडौं आसपासका जिल्लालाई नियाल्दा त्यसमा छुट्टै मज्जा छ । स्काईवाकमा फरक–फरक मौसम अनुसार फरक–फरक रमाइलाको अनुभूति लिन सकिन्छ ।

स्काईवाकमा सिसा छ, कतिपय मान्छेलाई त्यो फुट्यो भने के गर्ने भन्ने किसिमको डर पनि हुन सक्छ, तपाईंले यो सिसा बलियो छ भनेर कसरी विश्वस्त बनाउन सक्नु हुन्छ ?

हामीले सुरक्षाको कुरालाई मध्येनजरमा राख्दै नै यो बनाएका हौं । यो सिसा प्रयोग गरे जस्तो होइन । स्काईवाकमा राखिएको सिसामा ५ वटा लेयर छन् । ३ वटा सिसाको र २ ल्यामिनेटिङ एसजीपी लेयरहरु छन् । त्यसैले यो एकदमै सुरक्षित छ । ठूलो ढुङ्गा हान्दा पनि एक चोटि फुट्दैन । फुटे पनि त्यही चिप्केर बस्छ । यो शतप्रतिशत प्रतिशत सुरक्षित छ । चढ्ने मान्छेभन्दा पनि चढाउने मान्छे, सुरक्षाको विषयमा सतर्क छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.