लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी खुसी

  २०८० असार ९ गते १०:४०     विकासन्युज

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताए । उनले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको बताए । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताए । उजले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए ।

‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महशुस गरेका छौँ । हामीले पनि विभिन्न देशमा गएर पर्यटन प्रवद्र्धन गर्दा नतिजा राम्रो आएको छ । भारतीय र चिनियाँ नागरिकहरुबाट पोखराको पर्यटन भइरहेको छ । ड्रागन बोट फेस्टिबलले पनि यहाँको माहोल तातेकको छ । साथै भारत सरकारको योग दिवसका कारण यहाँ भारतीय पर्यटकहरु पनि आइरहनुभएको छ । यहाँबाट नियमित उडान भर्नसके राम्रो हुने थियो । पोखरा विमानस्थल सञ्चालन हुनसके मात्रै पर्यटनमा कायापलट हुनेछ । पोखराको पर्यटन राम्रो हुने देखिएको छ । पोखराको पर्यटनले लय लिएको अवस्था छ । पोखराको बढी भन्दा बढी प्रवद्र्धनात्मक काम गर्न जरुरी छ’, अध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै, होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए ।

‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ । अहिले हामी आशावादी भएका छौँ । पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ । बाहिर जानेहरुलाई पनि यहाँ सिक्ने अवसर भएको छ । हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ । कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ । अब पर्यटकहरुको भीड लाग्नेछ । गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन्’, अध्यक्ष सुवेदीले बताए ।

त्यस्तै, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरेका छन् । उनले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको उनको भनाइ छ । उनले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताए ।

उनले भने, ‘यस्ता कार्यक्रमहरुले पर्यटन अलि माथि आउँछ फेरि कुनै इभेन्टहरु नहुँदा तल झर्ने समस्या छ । अहिले ४० प्रतिशत भन्दा बढी रिकभर भएको छैन । विदेशी पर्यटकहरुको आगमन कम नै छ । तर केही आन्तरिक पर्यटकहरु बढेका छन् । पुरानो अवस्थामा फर्किन अझै समय लाग्छ । व्यवसायीहरु उत्साहीत छन्, अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । तर अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्ताको विषय छ । यसमा सरकारले ध्यान दिनुपर्छ । सरकारले पर्यटन प्रवद्र्धनमा ध्यान नदिएको हो की भन्ने महशुस व्यवसायीहरुलाई भएको छ । सरकारले प्राथमिकतामा राखेर पर्यटक भित्र्याउने वातावरण मिलाउनु पर्छ । नेपाल एयरलाइन्सले नै यहाँबाट उडान गर्नुपर्छ ।’

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हुने बताएका छन् । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.