निजामती प्रशासनमा ‘सूचना प्रविधि सेवा’ थप गरिँदै

  २०८० असार ८ गते १४:३४     विकासन्युज

काठमाडौं । सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई आकर्षक बनाउनका लागि त्यस्तो सेवा थप गर्न लागिएको हो ।

आजदेखि यहाँ सुरु भएको ‘डिजिटल नेपाल कन्क्लेभ’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ निजामती विधेयकमा अन्य सेवा जस्तै सूचना प्रविधि सेवा थप गर्न लागिएको जानकारी दिइन् ।

विद्यमान निजामती प्रशासनभित्र सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने जनशक्ति भए पनि सेवामा विविधीकरण नहुँदा कार्यसम्पादनमा समेत असर परेकाले सरकारले त्यस्तो सोच बनाएको मन्त्री शर्माले बताइन् ।

उनले प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारलाई मुलुकको आर्थिक समृद्धि र नागरिकको सहजताका लागि नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई सरकारले आत्मसात् गरेको बताइन् ।

निजामती प्रशासनभित्र स्थापना हुने त्यस्तो सेवामा कार्यरत कर्मचारीका लागि विशेष तालिम तथा प्रशिक्षणको व्यवस्थासमेत गरिनेछ । संशोधनका लागि अन्तिम चरणमा पुगेको निजामती विधेयकमा त्यस्तो विशिष्टिकृत सेवा थप गर्दा त्यसको लाभ आमनागरिकले लिन पाउने मन्त्री शर्माको भनाइ छ ।

उनले सरकारी निकायका कामकारबाहीलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रको सहकार्य हुनेगरी ‘हाइब्रिड मोडल’ अपनाइने र यसरी सेवा प्रवेश गर्ने कर्मचारीलाई थप सेवासुविधा दिइ सरकारको कामलाई परिणाममुखी र जनता केन्द्रित बनाइने बताइन् ।

सुशासन तथा अनियमितता रोक्न सुरु गरिएको अनलाइन सेवाको काम बास्तविकरुपमा अनलाइनबाट हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सरकारले भौतिक उपस्थितिविना नै काम हुने वातावरण बनाउन लागेको मन्त्री शर्माको भनाइ छ ।

सरकारले अगाडि सारेको डिजिटल नेपाल अवधारणालाई थप परिमार्जनसहित समयानुकूल बनाएर कार्यान्वयनमा लगिने उनको भनाइ छ । ‘सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक स्रोतसाधनको प्रबन्ध गरेको छ । तर, सूचना प्रविधिका क्षेत्रमा दिनदिनै नयाँ प्रगति हुने भएकाले त्यसलाई सम्बोधन गर्नेगरी अगाडि बढ्ने सोच राखिएको छ’, मन्त्री शर्माले भनिन् ।

डिजिटल नेपाल अवधारणा कार्यान्वयनका लागि अन्तरसरकारी निकायको समन्वय नै सबैभन्दा महत्वपूर्ण र टड्कारो आवश्यकता रहेको उनले उल्लेख गरिन् । मन्त्रालयले नै त्यसका लागि विशेष परियोजना तय गरेर काम सुरु गरिसकेको जानकारी दिइन् ।

त्यसैगरी, डिजिटल साक्षरता बढाउने विषय पनि अर्को महत्वपूर्ण काम भएको स्पष्ट पार्दै मन्त्री शर्माले आमनागरिक नै जानकार नहुँदासम्म सरकारले गर्ने लगानीको वास्तविक प्रतिफल प्राप्त हुन नसक्ने बताइन् ।

यस क्षेत्रमा थप लगानीको विस्तार, अवसरको खोजी तथा खोज र अनुसन्धानका लागि पनि सरकारले योजनाबद्ध प्रयास थालेको मन्त्री शर्माको भनाइ छ । सञ्चारमन्त्री शर्माले साइबर सुरक्षालगायतका विषयमा नयाँ नीति तथा कानुन तयारीको काम धेरै अगाडि बढेको जानकारी दिइन् ।

उनले विगतमा धेरैजसोको ध्यान सञ्चारका क्षेत्रमा मात्रै हुने र प्रविधिको क्षेत्र छुट्ने गरेको बताउँदै आफूले मन्त्रालय सम्हालेपछि सूचना र प्रविधिलाई नै प्रमुख प्राथमिकतामा राखेर योजना अगाडि बढाएकोसमेत जानकारी दिइन् ।

सूचना र प्रविधिका क्षेत्रमा उल्लेख्य प्रगति गरेका चीन र भारतजस्ता देशका बीचमा हुनुको फाइदा नेपालले लिएर यसबाट रोजगारीको बढोत्तरी तथा अन्य कामकारबाहीलाई समेत सहज बनाउनुपर्ने उनको भनाइ छ ।

‘राम्रा कुरा मुलुकको हितलाई केन्द्रमा राखेर हामीले पनि अनुशरण गर्नुपर्छ । हाम्रो आवश्यकतालाई ध्यान दिँदै विश्वजगतसँगै अगाडि बढ्नु जरुरी भइसकेको छ’, उनले भनिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.