हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मक छ : मन्त्री किराँती

  २०८० असार ५ गते १३:००     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महर्षि पतञ्जलीले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताए ।

नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताए । उनले रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पारे । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताए ।

लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पताञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तरराष्ट्रिय योग दिवस २०२३ का अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई योगले  पनि जोडेको बताए । उनले नेपाल–भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप प्रगाढ बनेको छ भने ।

राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई मार्गबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.