असारमा बैंकको ब्याजदर घट्ने, तरलता सहज हुँदै

  २०८० जेठ २८ गते १८:५१     विकासन्युज

काठमाडौं । असारमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न सक्ने बैंकरहरुले बताएका छन् । उच्च रहेको ब्याजदर निरन्तर ओरालो लाग्दै आएकोमा असारमा पनि घट्न सक्ने संकेत बैंकरहरुले गरेका छन् ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार तरलता सहज हुँदै गएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ ।

‘अहिलेको स्थिती हेर्दा असारमा ब्याजदर घट्नु पर्ने प्रक्षेपण छ, समग्रमा अहिलेको स्थिती सहज छ, ब्याजदर घट्नु पर्ने देखिन्छ, पहिला भन्दा अहिले सहज स्थिती भएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ, यदि १ प्रतिशत नै नघटाएपनि ०.५ प्रतिशत प्रतिशत घट्नै पर्छ,’ उनले भने, ‘तर, एउटा बैंकको स्थिती हेरेर मात्रै त्यो भन्न सकिँदैन ।’

उनका अनुसार आगामी असार महिनाका लागि ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघले मंगलबार बैठक बोलाएको छ । निक्षेपको ब्याजदर स्थीर राख्ने वा घटाउने भन्ने विषयमा सोही बैठकले निर्धारण गर्नेछ । स्थानीय तहको निक्षेपलाई असारसम्म मात्रै गणना गर्न पाउने भनिएकाले स्थीर पनि रहन सक्छ ।

‘निक्षेप तर्फको ब्याजदर बढ्दैन, अब घट्दै जान्छ, अधिकांश बैंकहरुको सहज स्थिती छ, ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने भनिएको छ, स्थानीय तहको निक्षेपलाई असारसम्म मात्रै गणना गर्न पाउने भनिएकाले यो महिना स्थीर रहन पनि सक्छ, घट्ने सम्भावना बढी छ,’ उनले भने ।

जेठमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थीर राखेका थिए । हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.