अब विद्युतीय गाडी महँगो हुने, कुनमा कति बढ्यो कर ?

  २०८० जेठ १६ गते १०:३६     विकासन्युज

काठमाडौं । सरकारले ५० किलोवाटदेखि १ सय किलोवाट सम्मका विद्युतीय गाडीको कर बढाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै नेपालमा धेरै माग भएकै विद्युतीय गाडीको भन्सार बढाएको बताएका हुन । उनले उक्त विद्युतीय गाडीमा भन्सार र अन्तशुल्क कर मात्रै १५ प्रतिशतसम्म बढाएको छ ।

मध्यम रेन्जमा सवारीको आयातमा लाग्दै आएको कर घटाएर सरकारले महँगा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उल्टो नीति लिएको छ । अझ उच्च मूल्यका विद्युतीय सवारीमा खासै कर वृद्धि गरिएको छैन ।

सरकारले अब ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था गरेको छ । यो रेन्जमा नेपालमा विद्युतीय गाडी उपलब्ध नै छैनन् । यसअघिको आर्थिक ऐनमा यस्तो रेन्जका सवारीको कर स्ल्याब नै थिएन ।

यस्तै, ५० देखि १०० किलोवाट क्षमताको विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार कर र १० प्रतिशत अन्तशुल्क बनाएको छ । यसअघि सरकारले सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल उठाइरहेको थियो ।

करको नयाँ दरका कारण १ सय किलोवाट क्षमताका गाडीमा उपभोक्ता मूल्यमा २० देखि २२ प्रतिशतसम्म महंगो पर्ने ब्यबसायीहरु बताउँछन् ।
त्यसैगरी १०० देखि २०० किलोवाट क्षमतासम्मका सवारीमा २०/२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । यसअघि यो रेन्जका विद्युतीय सवारीमा ३०/३० प्रतिशत भन्सार र अन्तशुल्क तोकिएको थियो ।

५० देखि १०० किलोवाट सम्मका विद्युतीय गाडीको भन्सार र अन्तशुल्क बढाएको सरकारले १०० देखि २०० किलोवाट सम्मका गाडीमा लाग्ने दुबै कर घटाएको हो ।

सरकारले २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीमा भन्सार शुल्क ४० प्रतिशत कायम गरेको छ । यसअघि ४५ प्रतिशत थियो । यो रेन्जका विद्युतीय सवारीमा अन्तशुल्क ४५ प्रतिशत नै कायम छ ।

३०० किलोवाटभन्दा बढी क्षमताका सवारीको भन्सार दर ६० देखि ८० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो दर ६० प्रतिशत थियो । यो रेन्जमा अन्तशुल्क ६० प्रतिशत कायम हो ।

सरकारले भन्सार विन्दुमा उठाउँदै आएको ५ प्रतिशत सडक सुधार दस्तुर हेरफेर गरेको छैन । यस्ता विद्युतीय सवारीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि भन्सार विन्दुमै लाग्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.