३ नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

  २०८० जेठ ४ गते १३:५२     विकासन्युज

झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिकरुपमा बायोग्यास वितरण गरिने बताए । यहाँ उत्पादित बायोग्यासको सिलिन्डर उद्योग र होटलमा बढी उपयोगी हुने उहाँको भनाइ थियो । उक्त कम्पनीमा २२ करोड रुपैयाँ लगानी हुने र ६० प्रतिशत लगानी तीन वटै पालिकाले व्यहोर्ने सहमति भएको छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले पाँच करोड ४६ लाख रुपैयाँ अनुदान दिएको बताइएको छ ।

ती तीनवटै नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहर प्रयोग गरेर उक्त कम्पनीले बायोग्यास उत्पादन गर्ने भएको हो । हाल परीक्षणका लागि स्थानीय जङ्गलमा पाइने झारपातलाई समेत प्रयोगमा ल्याइएको छ । त्यहाँ बायोग्याससँगै जैविक मलसमेत उत्पादन गरिने भएको छ । नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने उक्त कम्पनीको योजना छ । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर एक सय ५० रुपैयाँ सस्तो पर्ने अध्यक्ष तिम्सिनाको जिकिर थियो ।

चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उनले बताए । विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले यसप्लान्टबाट ग्यास उत्पादन सुरु भए पनि बजारीकरणका लागि छलफल भइरहेको बताए ।

उनले तीनैवटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना सुनाए । ‘फोहरलाई मोहर बनाउने परियोजना हो यो,’ नगरप्रमुख प्रसाईंले भने, ‘बिर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।’

सो ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उनले बताए ।

यसैगरी मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकालाई पनि फोहरमैला व्यवस्थापनका लागि यस कम्पनीसँग सहकार्य गराउन छलफल भइरहेको नगरप्रमुख प्रसाईंले जानकारी दिए । हाल जैविक मलसमेत उत्पादन भइरहेकाले यसलाई प्रयोग गर्न उचित भए नभएको जाँच गर्नका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको समितिका अध्यक्ष तिम्सिनाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.