‘सेयर कर्जाको सीमा पूर्ण रुपमा हटाऔं, पुँजीगत लाभकर ३ प्रतिशत कायम गरौं’

  २०८० जेठ ३ गते १६:४२     विकासन्युज

काठमाडौं । पुँजी बजारका लगानीकर्ताका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बजारको समस्या सम्बोधन गनुपर्ने माग गरेका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिको टोलीले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन् ।

भेटमा लगानीकर्ताले प्रधानमन्त्री दाहाललाई बजारको हालको समस्याको सम्बोधनको लागि ६ बुँदै ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु रहेका छन् ।

लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने र १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनु पर्ने माग लगानीकर्ताको छ ।

त्यस्तै, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने, बढ्दो व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्ने र तरलताको समस्यालाई तत्काल समाधान गर्नुपर्ने लगानीकर्ताका माग छन् ।

पछिल्लो समय विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएको लगानीकर्ताको बुझाई छ । साथै, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्नुपर्ने लगानीकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.