छोरा सीए, छोरी एमबीबीएस डाक्टर, व्यवसाय संकटमा परेपछि आत्महत्या

  २०८० वैशाख २० गते १२:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा परेको असरले समग्र क्षेत्र प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजले व्यवसायमा परेको असरले व्यवसायीहरु एकपछि अर्को समस्यामा परेपछि व्यवसायहरु ठूलो समस्यामा परिरहेका छन् ।

व्यवसायमा समस्या आएपछि एकपछि अर्को व्यवसायीहरुले आत्महत्या गरिरहेका छन् । बुधबार मात्रै नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल मृत फेला परे । पोल्ट्री व्यवसायी समेत रहेका कँडेल झुण्डिएको अवस्थामा आफ्नै कार्यालयमा मृत फेला परेका हुन् ।

व्यवसायी कँडेल भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अनमोल फिड्सका सञ्चालक रहेका कँडेल झुण्डिएको कोठामा ८ पृष्ठको सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले यस विषयमा अनुसन्धान भइरहेको बताए । उनले सुसाइड नोट पनि भेटिएको जानकारी दिए । प्रहरीका अनुसार उनले सुसुाइड नोटमा केही व्यक्तिको नाम पनि उल्लेख गरेका छन् । उनले आफ्नो व्यवसायको सेयर बिक्री गरेका व्यक्तिहरुको नाम उल्लेख गरेको बुझिएको छ ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले उनी व्यवसाय संकटमा परेर आत्महत्या गरेको हुन सक्ने बताउँछन् । ‘अहिले चितवनको पोल्ट्री व्यवसायमा संकट छ, शंकरजीले आफ्नो व्यवसायको ९० प्रतिशत सेयर बिक्री गरेर १० प्रतिशत मात्रै स्वामित्व राखेका थिए, उहाँले व्यवसाय समस्यामा छ भनेर बेला बखत भन्नु हुन्थ्यो, सबैलाई समस्या नै छ,’ अध्यक्ष पुरीले भने ।

‘उहाँले मलाई शुक्रबार फोन गरेर अब छिट्टै बैठक राख्नु पर्यो भन्नु भएको थियो, म काठमाडौं आउँछु त्यतै बसेर गफ गरौंला भन्नु भएको थियो, त्यसपछि कुरा भएको छैन, बेला–बखत व्यवसाय समस्यामा छ भनेर साथीहरुमाझ भन्नु हुन्थ्यो,’ अध्यक्ष पुरीले कँडेलसँग भएको कुराकानी स्मरण गर्दै भने ।

बैंकको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न नसकेका कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको भनाइ छ । मृतक कँडेल काँग्रेसको चितवन जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधि समेत थिए । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको बताएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको छोरा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययनरत छन् भने छोरी एमबीबीएस डाक्टर हुन् । उनका भाई अमेरिकामा रहेर कृषि वैज्ञानिकका रुपमा कार्यरत छन् । मृतक कँडेलले केही समयअघि अनमोल फिड्सको १० प्रतिशत सेयर आफुसँग राखेर ९० प्रतिशत सेयर प्रदिप रुगाँटालाई बिक्री गरेका थिए ।

पछिल्लो समय एकपछि अर्को व्यवसायीले आत्महत्या गरिरहेका छन् । गत माघमा इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरेका थिए । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महासेठले बैंकको ब्याज तिर्नै नसकेको भन्दै आत्महत्या गरेका थिए ।

यस्तै, गत भदौ २१ गते काठमाडौं न्यूरोडमा कपडा व्यापार गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले पनि आत्महत्या गरे । उनले पनि बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो । मासिक ४० हजार बढी सटर भाडा र लाखौं रकम बैंकको किस्ता तिर्नु परेको र सोही अनुसार व्यापार नचलेपछि मृत्युको बाटो रोज्नु परेको हुदयविदारक शब्दहरु उनको सुसाइड नोटमा उल्लेख थियो ।

भक्तपुर मध्यपुर ठिमीका व्यवसायी सुदीप अधिकारीले पनि अघिल्लो वर्ष बैंकको ऋण तिर्न नसकेको भन्दै परिवारको समेत हत्या गरेर आत्महत्याको बाटो रोजे । यस्तै, गत माघमै पोखराका व्यवसायी बलराम गौतम बिरगञ्जमा मृत फेला परेका थिए । उनले पनि व्यवसायमा संकटमा परेर आत्महत्या गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.