‘सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी भएको प्रमाणित भयो’ 

  २०८० वैशाख १९ गते १८:३६     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताएका छन् ।

मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताए ।

‘उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २।१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको छ, मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको छ,’ उनले भने ।

पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको उनी बताउँछन् । उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको आरोप लगाए ।

‘एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको थियो,’ उनले भने ।

यस्तै, उनले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको बताए । उनले सरकारले अर्थतन्त्रको चुनौतिबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको उनले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.