अर्थमन्त्री र सचिवबीच दूरी बढ्यो, बजेट लेखन प्रभावित हुन सक्ने

  २०८० वैशाख १८ गते १४:५२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र अर्थसचिव तोयम रायबीच अविश्वासको वातावरण सिजर्ना हुन थालेको छ । अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाले लगतैबाट अर्थसचिव परिवर्तन गर्ने मुडमा रहेका महतसँग सचिव टाढिएका हुन् ।

अर्थमन्त्री बनेपछि आफू र आफ्नो राजनीतिक दलको कर्मचारीलाई टीममा राखेर काम गराउने प्रवृति अर्थमन्त्रालयका लागि नयाँ होइन । त्यही प्रवृतिको अभ्यास अर्थमन्त्री महतले पनि गरे । उनले अर्थमन्त्रालयमा नयाँ सह–सहसचिवहरुलाई भित्र्याएका छन् । स्राेतका अनुसार अर्थ सचिवलाई पनि हटाउन दबाब उनीमाथि छ ।

महतले आफूलाई जुनसुकै बेला परिवर्तन गर्नसक्ने भन्दै सचिव रायले मन्त्रीलाई खासै वास्तै नगर्ने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘मन्त्रीज्यूलाई सचिव परिवर्तत गर्न माथिल्लो निकायबाटै दबाब छ, मन्त्रीले जुनसुकै बेला परिवर्तन गर्नसक्ने भन्दै सचिवले समेत अहिले उहाँलाई खासै वास्ता नगरेको पाइएको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘बस्ने र जाने टुंगो नलाग्दा दुबै जनाबीच अविश्वासको वातावरण सिजर्ना हुन थालेको छ ।’

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भित्र्याएका अर्थसचिव तोयम रायलाई हटाउन अर्थमन्त्री महतलाई दबाब पर्न थालेको छ । अर्थमन्त्रीको सपथ लिएसँगै मन्त्री फेर्ने दबाब खाएका उनले १ महिना बितिसक्दा समेत सचिव हटाउन सकेका छैनन् ।

अर्थमन्त्री महतलाई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, देउवा पत्नी डा आरजु राणा, नेताहरु कृष्णाप्रसाद सिटौला र ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेताहरुले अर्थसचिवमा कृष्णहरी पुष्करलाई नै ल्याउन दबाब दिँदै आएका छन् ।

तर, अर्थमन्त्री महत भने पुष्करको विगत विवादास्पद रहेको भन्दै उनलाई बजेटका लागि अर्थमन्त्रालयमा भित्र्याउन त्यति इच्छुक नदेखिएको उनको सचिवालयले जनाएको छ । डा. आरजु राणाले महतलाई पुष्करलाई नै ल्याउन सुरुवाती चरणदेखि नै दबाब दिँदै आएकी छन् ।

पुष्करसँगै अर्थसचिवका रुपमा मधुकुमार मरासिनी, अर्जुनप्रसाद पौडेल, डा. बैकुण्ठ अर्याल र केवलप्रसाद भण्डारी मध्ये एक जनालाई अर्थसचिव बनाउन उनलाई सुझाव दिइएको छ ।

पुष्करपछि अर्थ सचिवका रुपमा अर्याललाई भित्र्याउन सहज भएपनि बजेट बनाए लगतै अनिवार्य अवकास पाउन लागेका सचिवलाई भित्र्याउन उनी तयार भएका छैनन् । बजेट सार्वजनिक गर्ने तयारीमा रहेको अर्थमन्त्रालयका मन्त्री र सचिवकै समन्वय नहुँदा बजेटमा समावेश भएका गोप्य नीतीहरु सार्वजनिक हुने आंशकामा अर्थमन्त्रालयका कर्मचारीहरु छन् ।

‘मन्त्री र सचिव मिलेर बजेट निर्माणलाई अन्तिम रुप दिने समय आइसक्यो, मन्त्री सचिव परिवर्तन गर्ने मुडमा रहँदा विश्वासको वातावरण देखिएको छैन, दुई पक्षबीच विश्वास नहुँदा बजेट नै सार्वजनिक हुने आशंका गरिएको छ’, स्रोतले भन्यो ।

अर्थमन्त्री सचिव फेर्ने मुडमा छन् भने सचिव छिट्टै सरुवा भैदिए हुन्थ्यो भन्ने मुडमा हुँदा आगामी आर्थिक वर्षको बजेटमा त्यसको असर देखिने स्रोतको दाबी छ ।

प्रवक्ता पनि फेरिए

सुरुवाती चरणदेखि नै सचिव हटाउन दबाब खेपेका अर्थमन्त्री महतले सहसचिवको हेरफेर गरेका छन् । मन्त्रालय प्रवेश गरेको एक सातामौ अन्य मन्त्रालयबाट तीन सहसचिव भित्र्याएका उनले जिम्मेवारी दिन नसक्दा हाल ४ जना सहसचिव जगेडामा छन् ।

अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मेवारी धनीराम शर्मालाई दिइएको छ । अर्थमन्त्री भएर मन्त्रालय प्रवेश गरेसँगै जिम्मेवारीविहीन बनाइएका शर्मालाई प्रवक्ता सहित योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रवक्ता तथा अनुगमन महाशाखा प्रमुख रहेका आनन्द काफ्लेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । दुबै जना आगामी आर्थिक वर्षको बजेट निर्माणको कोर टिममा छन् । अर्थमन्त्री डा. महतको चैत २४ को मन्त्रीस्तरीय निर्णय गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ ।

उक्त समितिको सदस्यहरुमा सहसचिवहरु खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् ।

चार सहसचिव जगेडामा

अर्थमन्त्री महतले जिम्मेवारी हेरफेर गर्दा हाल चार जना सहसचिव जगेडामा छन् । मन्त्री महत अर्थमन्त्रालय छिरेसँगै ३ जना नयाँ सहसचिवलाई अर्थमन्त्रालयमा भित्र्याएका थिए ।

उनले ल्याएका तीन जना सहसचिवमध्ये भुपाल बराललाई बजेट लेखन समितिको संयोजकसहित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

उक्त महाशाखामा रहेका सहसचिव झक्कप्रसाद आचार्य जगेडामा छन् । प्रशासन महाशाखाको जिम्मेवारी आनन्द काफ्लेलाई दिइएसँगै महाशाखा प्रमुख रहेका लक्ष्मीप्रसाद निरौला समेत जगेडामा छन् ।

यस्तै, मन्त्रालयमा सरुवा गरेर ल्याइएका सहसचिव बाबुराम सुवेदी र जनकराज शर्माले महाशाखाबिहीन छन् । उनीहरुलाई बजेट मस्यौदा लेखन समिति सदस्य बनाएर जगेडामा नै राखिएको छ ।

One comment on "अर्थमन्त्री र सचिवबीच दूरी बढ्यो, बजेट लेखन प्रभावित हुन सक्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.