मन्त्रालयले निर्माण गरेको अर्गानिक मिनी मार्ट चन्दननाथ सहकारीलाई जिम्मा

  २०८० वैशाख १४ गते ६:५८     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनी मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ ।

सहकारी मन्त्रालयको ३२ लाख रुपैयाँ लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा निर्माण गरिएको मिनी मार्ट आज भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दनाथ सहकारीलाई हस्तान्तरण गरे । मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक प्रदेश निर्माण अभियानमा सघाउने सहकारीलाई आवश्यक सहयोग गर्ने नीति लिइएको बताए । उन चन्दनाथ सहकारीले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिक्रिया दिँदै उच्च प्रशंसा गरे ।

‘हामीमा बजेट र योजनामा भन्दा पनि कार्यान्वयनमा समस्या छ, गुणस्तर नियन्त्रण हुन नसक्दा बजार खस्किँदो अवस्था छ, क्षेत्रगत एवं धेरै उत्पादन गर्न सक्छौँ या सक्दैनौँ भन्ने कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने ।

उत्पादनको परिमाण कति हो भन्ने यकिन तथ्याङ्क आवश्यक रहेको भन्दै मन्त्री शर्माले अर्गानिक कृषि उत्पादन र उद्यमीको प्रवद्र्धनमा विशेष जोड दिने जनाए ।

सहकारी मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले अर्गानिक कृषि वस्तुले मानव स्वास्थ्यमा पारेको सकारात्मक प्रभावले राम्रो सन्देश प्रवाह भएको बताए । बाहिरबाट आउने कृषि वस्तुलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै सचिव घिमिरेले अर्गानिक कृषि प्रवद्र्धनमा आवश्यक कार्यक्रम अगाडि बढाईने जनाए ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले आव २०७७/७८ मा कर्णालीमा प्राङ्गारिक कृषिका आधार तयार गरी सरकारले अर्गानिक प्रदेश निर्माण गर्न लिएको अभियानअन्तर्गत नागरिक उड्डयन कार्यालय सुर्खेतको प्राङ्गणमा वार्षिक ६० हजार रुपैयाँ जग्गाको भाडा तिर्ने गरी अर्गानिक मिनि मार्ट निर्माण गरिएको जनाए । यहाँ उत्पादन हुने प्राङ्गारिक कृषिउपजको सङ्कलन, प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको उनले बताए ।

हस्तान्तरित मार्ट सञ्चालन गरेबापत उक्त सहकारीले मन्त्रालयलाई मासिक १३ हजार ५ सय रुपैयाँ बुझाउनेछ । जुम्लामा दैनिक १ लाख रुपैयाँ र सुर्खेतमा प्रतिदिन ३५ हजार रुपैयाँको कृषि उपज बिक्री हुँदै आएको उक्त सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । उनले कर्णालीमा खेत बाँझो राख्न नपाउने नीति ल्याउन प्रदेश सरकारलाई अनुरोध गरे । कर्णालीमा स्याउ, सिमी तथा ओखर विकास बोर्ड गठनले मात्र त्यसको समुचित विकास तथा प्रवद्र्धन हुने व्यवस्थापक पाण्डेको जिकिर थियो ।

उनका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाले काठमाडौँ ३६ अर्गानिक पसललाई कर्णालीका अर्गानिक खाद्य वस्तु तथा फलफूल निर्यात गरेको छ । यहाँको उत्पादनलाई बजारीकरण गर्न र बाँझो जमिनमुक्त प्रदेश बनाउन सकिए वैदेशिक रोजगारका लागि युवा विदेशीनु नपर्ने उनको भनाइ थियो ।

जुम्लालगायत कर्णालीमा उत्पादित खाद्यबाली क्यानडामा पठाइएको तर अमेरिकामा माग हुँदा पनि पठाउन नसकिएको उनले जनाए । यहाँका नागरिकले भने रातो चामल दिएर सेतो चामल खाने प्रचलन सच्याउनुपर्ने उनले बताए ।

सहकारीका सुर्खेत प्रतिनिधि विश्वराज खत्रीले कर्णालीका राडीपाखी, कालो काम्लोलगायतका स्थानीय उत्पादन राष्ट्रपति कार्यालयसम्म पुर्याइएको बताए । उनका अनुसार गत वर्ष मोदी सरकारसम्म पनि कर्णालीको उत्पादन पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.