किसानले लिएको १५ लाखसम्मको कृषि ऋणको ब्याज तिर्दिन्छौं : मेयर बस्नेत

  २०८० वैशाख १० गते १५:२४     विकासन्युज

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख हुन् मोहन बस्नेत । नगरपालिकाको प्रमुख भएर एक कार्यकाल बिताइसकेका बस्नेत ०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत दोस्रो पटक पनि थप लोकप्रिय मतका साथ विजय भएका थिए । दोस्रो पटक निर्वाचित भएका बस्नेतले थप एक वर्षको समय व्यतित गर्न लागेका छन् । पहिलो कार्यकालको अनुभव सहित उनी नगरपालिकाका योजनाहरुको कार्यान्वयनमा व्यस्त छन् । प्रस्तुत छ, उनै नगर प्रमुख बस्नेतसँग विकासन्युजका लागि राजिव न्यौपानेले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश :

तपाईं दोस्रो पटक नगरपालिकाको नेतृत्वमा आउनुभएको छ, दोस्रो कार्यकालसहित ६ वर्ष समयको दौरानमा सर्वसाधारणले अनुभूति गर्नेगरी कसरी काम गरिरहनुभएको छ ?

हो, म दक्षिणकाली नगरपालिका नगर प्रमुखमा दोस्रो पटक निर्वाचित भएको पनि एक वर्ष पुरा हुन लाग्यो । पहिलो ५ वर्ष र यो एक वर्ष गरी पालिकामा निरन्तर सेवा गरेको ६ वर्ष हुँदैछ । यो अवधिभर हामीले निस्वार्थ रूपले जनताको चाहना र आवश्यकता लाई पुरा गर्दै अगाडि बढिरहेका छौं र जनताले अनुभूति गर्ने खालका काम पनि पालिकामा धेरै गरेका छौं । क्रमशः पूर्वाधार विकासको कामलाई पनि निरन्तरता दिएर अगाडि बढेका छौं ।

तपाईंहरुले पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको दाबी गरिरहँदा सडकको अवस्थाको विषयमा भने स्थानीयको गुनासो छ नी ?

नगरपालिका भित्रका धेरै ठाउँका सडकहरू ढलान भइसकेका छन् । हामीले गाउँ–गाउँमा पुग्ने सडकहरूमा ढलान गरी सक्यौं । अहिले काठमाडौंदेखि दक्षिणकालीसम्म आउने सडक अव्यवस्थित भएको छ । सो सडकमा ठूला–ठूला खाल्डा परेका छन् । जसका कारण यात्रु र चालक दुबैलाई असर पुर्याएको छ । यस सडकको स्तारोन्नती गरी व्यवस्थित सडक बनाउ भन्ने हामी सबैको चाहना छ । यसलाई सम्वोधन गर्नको लागि संघ तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरूसँग पटक पटक छलफल गरेका छौं । अब भने काठमाडौं–दक्षिणकाली सडक कालोपत्रे हुने भएको छ ।

सो सडक पिच गर्नको लागि सडक विभागले १० करोड रुपैयाँ विनियोजन गरेको छ र सडक कालोपत्रे गर्ने ठेक्का प्रकृया पनि अगाडि बढिसकेको छ । सम्भवतः यही महिनादेखि कालोपत्रे गर्ने कामको सुरु हुन्छ । जसले आवत–जावतमा थप सहज हुने विश्वास लिएका छौं । यस्तै, दक्षिणकाली–हेटौंडा जाने सडक पनि कालोपत्रे हुने भएको छ । सो सडकमार्फत काठमाडौं–दक्षिणकाली मात्र हैन, काठमाडौं–दक्षिणकाली हुँदै दु्रत मार्ग भएर सहज तरिकाले हेटौंडासम्म पुग्न सकिन्छ । सो कामको लागि पनि बजेट विनियोजन भइसकेको छ ।

अहिलेसम्म नगर भित्रका प्रत्येक ठाउँमा सडक सञ्जाल पुगेको छ । एकै ठाउँमा ५०औं वटा सानातिना सडकहरु रहेका छन् । ती सडकहरुमा पनि ५÷१० लाख लाख रुपैयाँ बराबरका बजेट विनियोजन गरी ढलान गरिएको छ । हामीले नगर क्षेत्र भित्रका सबै सडकको ढलान गरी हिलो मुक्त सडक बनउने कोसिस गरिरहेका छौं । पहिलो कार्यकालमा सडकलाई व्यवस्थित गर्ने क्षेत्रमा धेरै काम गरेका थियौं । त्यसपछि निरन्तर गरेर व्यवस्थित सडकको विकास गर्दै अगाडि बढेका छौं । मैले विश्वासका साथ काम गरिरहेको छु की यो कार्यकालमा पालिका भित्रका सबै सडकहरु व्यवस्थित गर्न सकिनेछ ।

पालिकाले कृषि क्षेत्रमा वितरण गरेको अनुदानको प्रभावकारितामा उठेको प्रश्नलाई पनि कसरी लिनुभएको छ ?

नगरपालिकाले कृषिमा दिएको अनुदान प्रभावकारी हुन सकेन भनेर गुनासो गर्ने पनि हामी नै हौं । अनि अनुदान दिने पनि हामी नै । हामीले दिएको अनुदानको सदुपयोग कतिले गरे भन्ने कुरामा पनि यसको भरपर्छ । हामीले मान्छेलाई अनुदानमुखी बनायौं भन्ने पनि लागेको छ । हामीले उत्पादनमुखी बनाउनमा अनुदान दिनु पर्नेमा अनुदानमुखी मात्र बनायौं । अनुदान प्राप्त हुनेबेलासम्म कृषकको चहलपहल हुने अनि अनुदान दिने र लिनेका काम सकिएपछि बाँकी काम ठप्प हुने जस्तो भएको छ । यस्तो नहोस् भनेर पालिका सचेत पनि भएको छ ।

हामीले दिएको अनुदानको सदुपयोग कृषकको घरपरिवार पनि चलोस् र आर्थिक वृद्धि गर्नमा पनि सहज होस् भन्ने नगरको चाहाना हो । किसानले उत्पादन गरेर आफ्नो घरपरिवारलाई जिउनको लागि केही काम गर्छ भने मात्र उसलाई अनुदान दिने परिपाटीको विकास यो वर्षदेखि सुरुवात गरेका छौं । जुन कृषकलाई अनुदान दिने हो, उसले उत्पादन गरेको देखिनु पर्यो र, यसपछि पनि उत्पादन गर्ने प्रतिबद्धता जनाउनु पर्यो । बिचमा हाम्रो अनुगमन हुने गरी अनुदान दिन सुरुवात गरेका छौं । अनुदान लिनका लागि मात्र बनेका कृषकलाई अनुदान दिदैनौं ।

दक्षिणकाली नगरपालिकाले कृषि क्षेत्रको विकासमा राम्रो सम्भावना बोकेको छ । पालिकाले कृषि क्षेत्रको विकासका निम्ति कसरी काम गरिरहेको छ ?

नगरपालिका कृषिको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । सरकारको भू–उपयोग नीतिलाई वैज्ञानिक तरिकाबाट अवलम्बन गरी नगर भित्रका बस्ती मठमन्दिर, पानीका मुहान, विद्यालय आदि सबैलाई वर्गीकरण गरेर बाँकी रहेको जमिनलाई कृषि योग्य जमिन भनेर छुट्याएका छौं । हामीले बस्ती सँगसँगै कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं ।

हामीले नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमहरू राखेका छौं । जसका कारण कृषकलाई कृषि उत्पादनमा थप सहज हुने आंकलन छ । हामीले किसानहरूलाई कृषि उत्पादनमा आधारित बैंक ब्याजमा अनुदान दिएका छौं । उक्त अनुदान मार्फत कृषकहरुले कृषिमा आधारित बैंक ऋण लिएर काम गर्न सक्छन् । जसको ब्याज नगरपालिकाले तिरिदिन्छ । कृषकले लिएको १५ लाख रुपैयाँसम्म ऋणको ब्याज नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएका छौं, तर सावाँ भने किसान आँफैले तिर्नुपर्ने हुन्छ ।

यस्तै, किसानले लगाएको कृषिको बीमा पनि गरिदिने व्यवस्था मिलाएका छौं । किसानले उत्पादन गरेको सामाग्रीलाई सुरक्षित बनाउनको लागि बीमाको व्यवस्था मिलाएका हौं । किसानको लगाएको कृषिको बीमा लागेको शुल्क पालिकाले नै भुक्तान गर्ने व्यवस्था छ । त्यसका लागि बीमा कम्पनीलाई हप्ताको दुई दिन नगरपालिकामा आउने व्यवस्था पनि मिलाएका छौं ।

नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ३५ सय रुपैयाँ स्वास्थ्य बीमा गर्दै आएको छ । हामीले नगरपालिका भित्र किसानहरूलाई एक हजार रुपैयाँ दिएर स्वास्थ्य बीमा गर्नको लागि दिएका छौं । उनीहरूले २५ सय रुपैयाँ थपेर स्वास्थ्य बीमा गर्न सक्छन् ।

किसानको स्वास्थ्य बीमा र उनीहरुलाई बैंकबाट ऋण पनि लिने लगायत आफ्नै ठाउँमा काम गर्नुपर्छ भनेर किसानहरूलाई उत्साहित गर्नको लागि नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको हो । उत्पादन गरेर कहाँ बेच्ने भन्ने समस्या पनि छैन । त्यसका लागि हामीले नगरपालिका भित्र साप्ताहिक हाट बजारको पनि व्यवस्था मिलाएका छौं । साप्ताहिक रुपमा ठाउँ–ठाउँमा कृषि हाटबजार लाग्छ । हाम्रो छोरा, नाति विदेशमा जान एयरपोर्टमा पुर्याउन जानु पर्छ भन्ने दिनलाई घटाउनको लागि पनि यस्ता खालका कार्यक्रम ल्याएका हौं ।

तपाईंलाई थाहै छ, रोजगारीको सिलसिलामा युवा विदेश जाने लर्कोले आज गाउँ रित्तिँदै छ, के स्थानीय सरकारले युवाहरुलाई परिचालन गर्न नसकेर पनि यो अवस्था सिर्जना भएको हो ?

यो हाम्रो मात्रै हैन देशकै एउटा ठूलो समस्या हो । आज मुलुकमा पहिलाको जस्तो प्रदेश जाने भन्ने चलन छैन । पहिला बाउबाजेहरु प्रदेश जाने भन्दै सातु चामल बोकेर जान्थे । आज विश्व प्रविधिमा अग्रणी भइसकेको छ । कहाँ के भइरहेको छ, घरमा नै बसेर हेर्न मिल्छ । त्यसैले १२ कक्षा पढेको विद्यार्थीले पनि विश्व बुझ्ने सक्ने अवस्था सिर्जना भएको छ । त्यसैले कहाँ जाँदा तत्काल प्रतिफल आउँछ भनेर उनीहरुले नै बुझ्न सक्छन् । देशमा नै अवसर सिर्जना गर्न नसक्नुले आज मूलक रित्तिँदै छ । उनीहरूले भित्र्याएको रेमिट्यान्सले नै आज देश चली रहेको छ । देश चलाउनको लागि भए पनि युवालाई विदेश पठाउनुपर्ने बाध्यताको सिर्जना भएको छ । मुलुक धान्न अब युवा विदेश पठाएर हुन्न भनेर हामीले यहाँ अवसरको सिर्जना गर्नेतर्फ लागेका छौं । युवालाई कन्भिन्स गर्न सक्यो भने चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ ।

प्राविधिक शिक्षाको विकासको विषयलाई पालिकाले कसरी लिएको छ ?

नगर प्राविधिक शिक्षातर्फ केन्द्रित छ । हामीले केही समय अगाडि सिटिइभिटीसँग समन्वय गरेर ६० जना विद्यार्थीलाई तालिम दियौं । उनीहरूलाई प्लम्बर, इलेक्ट्रोनिक र वाल लगाउने लगायतका तालिम दिएका हौं । विद्यार्थीलाई प्राविधिक तथा गुणस्तरीय शिक्षा दिनको लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हामीले उहाँहरूलाई भनेका छौं, यो तालिम लिएर विदेश जानेलाई हैन, आफ्नै ठाउँ, आफ्नै देशमा काम गर्न लागि हो भनेर ।

तपाईंहरुले विद्यार्थी तथा युवालाई सिप मूलक तालिम दिँदै आएका छौं भन्नु भयो, तर दिएको तालिम प्रभावकारी हुन सकेको छैन भनेर गुनासो पनि छ ।

हामीले तालिम दियौं तर दिएको तालिमको डाटा राख्न सकेनौं । अनि उनीहरूले त्यो तालिम व्यवहारमा उतार्न सक्नु भयो कि भएन भनेर निरीक्षण गर्न सकेनौं । त्यसैले पनि हाम्रो तालिम फितलो भयो । तालिम तालिममा मात्र सीमित नहोस् भनेर हामीले तालिम दिएका जनशक्तिको डाटा वेबसाइटमा राख्न सुरु गरेका छौं । उहाँहरूको खाँचो हुना साथै बेलाएर अवसर दिनुपर्छ भनेर पनि यस सिस्टमको लागु गरेका हौं ।

अहिले स्थानीय तहहरूले अपेक्षा अनुसार राजस्व संकलन गर्न सकिरहेका छन् । यो पालिकाको अवस्था कस्तो छ ?

हो, यो समस्या सबै पालिका छ । हाम्रो नगरपालिकामा पनि लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिरहेका छैनौं । हामीलाई गत वर्ष मालपोतबाट ३७ करोड रुपैयाँ प्राप्त भएको थियो । यो वर्ष ५ करोड पनि राजस्व संकलन हुन सकेन । भनेपछि एउटै क्षेत्रबाट ३० करोड रुपैयाँ राजस्व कमि भयो । प्रदेश सरकारले पनि गत वर्षको तुलनामा अहिले एक चौथाइ पनि पैसा पठाएको छैन । संघीय सरकारले पठाउने अनुदानमा पनि २० प्रतिशत कटौति गरेको छ । हामीले नगरपालिकामा अनुमान गरेको राजस्व पनि संकलन गर्न सकेका छैनौं । त्यसैले यो समस्या हाम्रो पालिकामा पनि नभएको हैन । गत वर्षकै तुलनामा यस वर्ष पनि राजस्व संकलनको अपेक्षा गरेको थियौं । तर, राजस्व उठाउने लक्ष्य कागजी मात्रै भयो । राजस्व नै नउठे पछि के गर्ने ? गत वर्ष घर जग्गाको कारोबार थियो । यस वर्ष रोकियो, जसका कारण पनि राजस्व संकलनमा ह्रास आयो । त्यसैले हामीले कुनै पनि लक्ष्य यो वर्ष पुरा हुने अवस्थामा छैन ।

साना तथा मझौला उद्योग स्थापना तथा विस्तार गर्ने विषयमा पालिकाले कसरी काम गरिरहेको छ ?

हाम्रो नगरपालिकामा ठूला उद्योग छैनन् । यहाँ साना तथा घरेलु उद्योग नै छन् । निकट भविष्यमा ठूला उद्योगको स्थापना होलान् । अहिले आर्थिक मन्दी छ, यो सबैलाई थाहा भएको नै कुरा हो । जसका कारण साना तथा ठूला उद्योगमा प्रत्यक्ष असर पुगेको छ ।

अहिलेको अवस्थामा आर्थिक असर नेपालीको चुलो–चुलोमा पुगेको अवस्था छ । यस्तो अवस्थामा स्थानीय तहले गर्न सक्ने काम हामीले गरिरहेका छौं । नगरपालिका भित्र साना उद्योगलाई प्रोत्साहन तथा सहयोग गर्ने कार्य सदैब जारी छ र, हामी घरेलु उद्योगको विस्तारमा सहयोग र स्थानीय उत्पादनको बजारीकरणमा नै लागिरहेका छौं ।

पालिकाको आर्थिक आम्दानी वृद्धिको लागि नगरपालिकाले कस्तो गृहकार्य गर्दै छ ?

हाम्रो ध्यान नगरपालिको आर्थिक आम्दानी वृद्धि गर्नतर्फ पनि केन्द्रित छ । यसको लागि पालिकामा स्रोत निर्धारण समिति बनाएका छौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको योजनामा सो समिति नगरपालिकाको स्रोत निर्धारणको लागि बैठक बस्दैछ । सो बैठकमा हाम्रो आगामी लक्ष्य तथा पालिकाको स्रोतको वृद्धि गर्नका लागि गर्न सकिने विषयमा छलफल हुनेछन् । विगतका स्रोतलाई निरन्तरता दिन सक्यो भने पनि राम्रो हुन सक्छ भन्ने अपेक्षा छ ।

चालु आर्थिक वर्षको समय अब धेरै बाँकी छैन, तपाईंहरुले यस वर्ष नीति तथा कार्यक्रममा राखेका योजनाहरू कति सम्पन्न भए ?

चालु आर्थिक वर्षमा पालिकाले अगाडि सारेका पूर्वाधार क्षेत्र तर्फका धेरै काम सम्पन्न भइसकेका छन् । धेरै योजनाहरू अगाडि बढेका छन् भने केही सम्पन्न हुने चरणमा छन् । हामीले यो वर्ष बजेटमा धेरै अनावश्यक कार्यक्रमहरू कटाएका पनि छौं । नगरपालिका भित्र पूर्वाधार क्षेत्रतर्फ उल्लेखनीय काम भएको छ । नीति तथा कार्यक्रमका योजनाहरू यति नै प्रतिशतमा सक्यौं भनेर भन्न सक्ने अवस्था चाहिँ अहिले नै छैन् । त्यसको लागि केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

अहिले संघियता खारेज गरौं प्रदेशको काम छैनन् भन्ने विषयमा बहस चली रहेको छ, साँच्चै प्रदेशको काम नभएको नै हो, यसमा तपाईंको धारणा के छ ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जुन संविधानले दिएको जिम्मेवारी हो, त्यो जिम्मेवारी पुरा गर्ने हो भने प्रदेशको पनि खाँचो छ । समयमा नै काम सम्पादन गर्न सकिएन भने यो नगरपालिका पनि नभई दिए हुन्थ्यो भन्ने खालको कसैको मनमा लाग्न सक्छ । तर, कसैलाई पनि त्यस्तो अनुभूति नहुने गरी हामीले काम गर्नु पर्याे । त्यो प्रदेशले पनि गर्नु पर्यो अनि नगरपालिकाले पनि । काम राम्रोसँग सम्पादन गर्दै जानु पर्याे । एक दिन अवश्य प्रदेशको पनि आवश्यकता रहेछ भन्ने समय आउँछ ।

अन्त्यमा, नगरपालिका भित्र विकास निर्माण लगायतका काम गर्नको लागि तपाईंसँग अझै ४ वर्ष छ, आगामी दिनमा कसरी अगाडी बढ्ने सोच बनाउनु भएको छ ?

हामी जनताको काम इमान्दारीपूर्वक गर्नको लागि निर्वाचित भएर आएका जनप्रतिनिधि हौं । नाम मात्र नगर प्रमुख तर काम भने जनताको सेवक हो । कमि कमजोरी भएको ठाउँलाई सच्याउँदै, जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्ने छौं । यहाँको जनताको काममा र सेवामा दिन रात खट्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.