रविप्रति बाबुरामको कटाक्ष : सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन

  २०८० वैशाख ९ गते १७:०६     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताउनुभएको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए । उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए । उहाँले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजे बेलैमा बुझ्न जरुरी रहेको बताए । उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे ।

उनले भने, ‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो । अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो । अब आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ अहिले । पुराना शक्तिले त गरि खाँदै खाँदैनन् । हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको छ । हामी केही मान्छे बल्लतल्ल बच्ने कोशिस गरिरहेका छौँ । देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदैछ । दक्षिणतिर हेर्नुहोस् जुन हावा बगिरहेको छ ।, बडो डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ । झट्ट हेर्दा त नदेखिन सक्छ । तर वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा हावा बगिरहेको छ, बिस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ । यो देश भित्र पनि विभिन्न ढंगले शक्तिहरुको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रुपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरु छन् । त्यसको कुनै विश्लेषण छैन । तर त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिव जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.