काठमाडौंका निजी विद्यालयले विद्यार्थीलाई दिएको छात्रवृत्तिको जानकारी वेबसाइटमा राख्नुपर्ने

  २०८० वैशाख ९ गते ९:२६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई दिएको छात्रवृत्तिको विवरण विद्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले विद्यालयहरुले नियमअनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र सो जानकारी विद्यालयको वेबसाइटमा प्रकाशन गर्नुपर्ने बताएका छन् । साथै उनले नियम कार्यान्वयन नगर्ने विद्यालयहरुलाई आवश्यक कानुनी कारबाही गर्ने समेत बताएका छन् ।

बालेनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।

साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरिन्छ । अतः नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ । यो सम्बन्धी कुनै समस्या देख्नु भएमा काठमाडौ महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न सक्नु हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.