व्यवसायीलाइ गभर्नरको प्रश्न : व्यवसाय सञ्चालन गर्न नसक्ने, राष्ट्र बैंकलाई दोष दिने ?

  २०८० वैशाख ६ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरेक विषयलाई ब्याजदरसँग नजोड्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेकाले हरेक विषयलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरसँग नजोड्न उनले आग्रह गरे । गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए ।

‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत् पनि महासंघका सुझावहरु समावेश गरिनेछ, साथै महासंघसंगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण छ, हरेक विषयलाई ब्याजदरसँग जोड्नु हुँदैन, व्यवसाय सञ्चालन गर्न नसक्दा बन्द भएपनि ब्याजदरलाई नै जोडेको हुन्छ,’ उनले भने ।

कोही उद्योगी व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसक्दा बन्द भएपनि ब्याजदरलाई नै दोष दिने गरेको उनको भनाइ छ । अन्य कारणले समस्या आएको पनि बैंक तथा वित्तीय संस्थालाई नै आरोप लगाउने गरेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा परेको बताए । केन्द्रिय बैंकले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए ।

‘निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्, असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्छ, बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्छ,’ अध्यक्ष ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.