बेवारिसे बन्यो निगमको बोइङ जहाज, कसैले खरिद नगर्दा लाखौँको आर्थिक भार

  २०८० वैशाख ६ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ जहाज लिलामीमा समेत बिक्री नभएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले जहाज बिक्रीको निर्णय भएको ५ वर्षको अबधिसम्म जहाज बिक्री भएको छैन् ।

सन् १९८८ मा खरिद गरिएको निगमको बोइङ ७५७–९ एनएवीसी जहाज ३० वर्षको इन्जिनको म्याद भएको हुँदा सन् २०१९ सम्म बिक्री गरिसक्नुपर्ने थियो । सोही अनुसार निगम सञ्चालक समितिले २०७५ को जेठमा लिलामका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

जहाजको इन्जिनको ३० वर्षे अवधि सन् २०१९ मा नै सकिएकोले जहाज लिलाम बिक्री गर्ने प्रक्रियामा ढिलाइ भएको छ । सञ्चालन नै हुन नसक्ने उक्त जहाजको मर्मत खर्च र प्राविधिकको भत्ता तथा अन्य शुल्कबापत २०७९ सालमा मात्रै ३९ लाख १२ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ
जहाज लिलामीको प्रक्रिया नटुङ्गिएको अवस्थामा उक्त खर्चको औचित्यपूर्ण नभएको भन्दै महालेखाले उक्त सुविधाको रकम भुक्तानी गर्ने गरी निर्णय गर्नेलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गरेको छ ।

यस्तै, जहाज बिक्रीका लागि पहिलो पटक आह्वान गरिएको बोलपत्रभन्दा अन्तिम पटक आह्वान गरिएको बोलपत्रको रकम न्यून भएको उल्लेख छ ।

‘मूल्याङ्कनकर्ताबाट विमान बिक्रीका लागि अमेरिकी डलर ५२ लाख ९६ हजार ७३० र अन्य बाह्य पार्टपुर्जाहरूको बिक्रीका लागि अमेरिकी डलर २३ लाख ८० हजारसमेत अमेरिकी डलर ७६ लाख ७६ हजार ७३० मूल्याङ्कन भएको देखियो । सोही मूल्याङ्कनका आधारमा ‘जे जस्तो अवस्थामा छ’ सिद्धान्तअनुरूप बिक्री गर्ने गरी जून २६, २०१९ मा बोलपत्र आव्हान गर्दा २ वटा मात्र बोलपत्र दर्ता भएको थियो । जहाजको अमेरिकी डलर ४२ लाख ५० हजार र पार्टपुर्जाको अमेरिकी डलर ५ लाख मात्र छुट्टाछुट्टै बोलपत्रबाट दर्ता हुन आएकोले मूल्याङ्कनभन्दा निकै न्यून गरी बोलपत्र प्राप्त भएको र दोस्रो पटक बोलपत्र आह्वान गर्दा कुनै बोलपत्र नपरेकोले पहिलो पटकको बोलपत्रको कबोल अङ्कलाई लागत अनुमान तयार गरेर वार्ताद्वारा विमान बिक्री गर्ने निर्णय गरे तापनि उक्त विमान बिक्री भएको छैन’, प्रतिवेदनमा उल्लेख छ ।

सन् १९८८ सेप्टेम्बर १५ मा बनेको बोइङ निगमले कम्पनीमा निर्माण हुँदाहुँदै खरिद गरेको थियो । एक सय ९० सीट क्षमताको यो जहाज सन् २०१८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ ।

निगमले वाइडबडी विमान खरिद गरेपछि बोइङ विमान विस्थापन गर्न सुरू गरेको थियो । यसअघि अन्नपूर्ण नाम दिइएको अर्काे बोईङ बीबी एयरवेजले खरिद गरेको थियो । त्यो पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.