पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने

  २०८० वैशाख ४ गते १४:२६     मञ्जरी पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले चैत मसान्तसम्ममा तोकिएको पुँजी नपुर्याउने जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई केही समय थप्ने निर्णय गरेको हो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको न्यूनतम पुँजी पुर्याउन कम्पनीहरुलाई अवसरको रुपमा केही समय दिने भएको बताए ।

‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएको थियो । यो अवधिसम्ममा अधिकांश कम्पनीले पुँजी पुर्याउन नसकेसँगै प्राधिकरणले तोकिएको पुँजी पुर्याउन थप समय दिएको हो ।

जीवन बीमा कम्पनीलाई न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब अर्थात दुई अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको थियो । योअनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् । जसमा जीवनमध्ये एक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवनमध्ये तीन कम्पनी शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् ।

प्राधिकरणले कम्पनीहरुलाई पुँजी पुर्याउनको लागि अब कति समय थप्ने भनेर स्पष्ट खुलाएको छैन । तर चालु आर्थिक वर्षसम्म अर्थात आगामी असार मसान्तसम्मको समय थप्ने मनसायमा प्राधिकरण छ । साथै, थपिएको समयसम्ममा पनि पुँजी नपुर्याउने कम्पनीलाई फोर्स मर्जर गराउने वा कारोबार घटाउने गरी कारावाही गर्ने दुई विकल्पमध्ये फोर्स मर्जर गराउन प्राधिकरण बाध्य हुने अध्यक्ष सिलवाल बताउँछन् ।

समग्र रुपमा बैंकिङ क्षेत्रको तुलनामा बीमा क्षेत्रको मर्जर सफल मानिएको छ । बैंकिङ क्षेत्रमा मर्जरका क्रममा रहेका कतिपय बैंकहरुको मर्जर भाडिएर नेपाल राष्ट्र बैंकले एक्सन लिनु पर्ने भएको थियो भने बीमा क्षेत्रमा हालसम्म त्यस्तो अवस्थाको सृजना भइसकेको छैन ।

तर मर्जरको लागि सहमति लिएर पनि मर्जरमा जान नसकेका कम्पनीलाई भने प्राधिकरणले कडाई गर्ने भएको छ ।  जसमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स पर्नेछन् । नेपाल इन्स्योरेन्सले आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्ससँग मर्जरमा जान सहमति लिएको थियो भने प्रभु इन्स्योरेन्सले अजोडसँग मर्जरमा जानको लागि सहमति लिएको थियो । तर बीचमा एक अर्काबीच स्वाप रेसियोमा कुरा नमिले पछि उक्त कम्पनीबीचको मर्जर भाँडिएको हो । यससँगै आईएमई जनरल र प्रुडेन्सियल एक आपसमा मर्जरमा जाने भएका छन् भने अजोड इन्स्योरेन्स युनाइटेडसँग मर्ज हुने भएको छ । यता नेपाल र प्रभु इन्स्योरेन्सले भने हालसम्म मर्जरको कुनै प्रकृया अघि बढाएका छैनन् । मर्जर भाडेर हालसम्म पुँजी वृद्धिको लागि कुनै पनि बाटो नरोजेको भन्दै प्राधिकरणले यी दुई कम्पनीलाई थप कडाई गर्ने सम्बद्ध श्रोतले बताएको छ ।

यता जीवन बीमातर्फका अधिकांश कम्पनी आईपीओ जारी गर्ने प्रकृयामा छन् । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ, रिलायबल र महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्नको नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । यी कम्पनीको हकमा हकप्रद सेयरको आवश्यक नपर्ने प्राधिकरणका अध्यक्ष सिलवाल बताउँछन् ।

‘प्रिमियममा आईपीओ जारी पश्चात उठेको रकम पुँजीमा जान्छ, त्यसमा कुन कम्पनीको कति उठ्छ भन्ने हिसाब गरेपछि मात्रै बल्ल हकप्रद सेयरमा जानेछौं,’ अध्यक्ष सिलवालले भने- ‘सम्भवतः यी कम्पनीलाई हकप्रदको आवश्यक पर्दैन ।’

पुँजी नपुगेको अवस्थामा भने असार मसान्तसम्मको कम्पनीको नाफा कति हुन्छ त्यसको आधारमा हकप्रद सेयर जारी गर्न अनुमति दिने प्राधिकरणको भनाई छ ।

आगामी असार मसान्तमा कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक कारोबार बन्द हुन्छ र त्यसको लगत्तै उनीहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्छन् । त्यसबाट कम्पनीहरुको नाफा अनुमानित गरिने र त्यसलाई पनि मूल्यांकन गरेर उक्त नाफाको आधारमा कुन कम्पनीलाई कति प्रतिशत हकप्रद सेयर वितरण गर्न दिने भन्ने विषयमा पछि निर्णय गरिने प्राधिकरणको भनाई छ ।

बाँकी कम्पनीमध्ये अधिकांश कम्पनीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् । केहीले मर्जरको प्रकृया सक्दा पनि पुँजी पुर्याउन सकेका छैनन् भने केही भने मर्जर प्रकृयामै छन् । मर्जरमा गएका हिमालयन एभरेष्ट, सानिमा जीआईसी र सानिमा रिलायन्स पनि तोकिएको न्यूनतम पुँजी पुगेको छैन । प्राधिकरणका अनुसार यी कम्पनीले अब हकप्रद सेयर जारी गर्न पाउने छन् ।

‘हकप्रद पनि पुँजी पुर्याउने माध्यम नै हो, मर्जरमा गएर पुँजी नपुर्याउने कम्पनीलाई हकप्रद जारी गर्न दिनेछौं,’ अध्यक्ष सिलवालले थप प्रष्ट पार्दै भने- ‘कम्पनीहरुलाई बढीमा एक तिहाई अर्थात ३३ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं ।’

यससँगै प्राधिकरणले पुँजी पुर्याउन प्रयास गर्ने सबै कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिने भएको छ । तर, प्रयास नै नगर्ने कम्पनीले भने हकप्रद जारी गर्न नपाउने प्राधिकरण अध्यक्ष सिलवालले स्पष्ट पारे ।

हाल मर्जर प्रकृयामा ९ कम्पनी रहेका छन् । प्राईम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जरमा गई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । महालक्ष्मी र प्रभुले महालक्ष्मी प्रभुको नामबाट एकीकृत कारोबार गर्ने सहमति गरेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फका चार कम्पनी मर्जरमा जान अन्तिम सम्झौता गरी एकीकृत कारोबार गर्ने तयारीमा छन् । जसमा युनाईटेड र अजोड तथा आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि मर्जरपछि बन्ने आइजीआई प्रुडेन्सियलले आगामी बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका छन् भने युनाइटेड अजोडले बैशाख अन्तिम साताभित्रमा एकीकृत कारोबार गर्ने योजना बनाएका छन् ।

त्यसैगरी, हालसम्म पुँजी वृद्धिको कुनै प्रकृया अघि नबढाएको एनएलजी इन्स्योरेन्सलाई कुनै समस्या नभएको प्राधिकरणले जनाएको छ । नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी भएकाले एनएलजीलाई पनि हकप्रदबाट पुँजी पुर्याउन दिइने प्राधिकरण श्रोतले बताएको छ ।

‘एनएलजीको समस्या छैन, ऊ सब्सिडायरी कम्पनी हो, २०६२ सालमा साविकको बीमा समितिले नै कारोबार शुरु गर्न इजाजत दिएको हो, त्यसैले उसलाई हकप्रदबाट पुँजी पुर्याउन दिनुपर्छ,’ प्राधिकरणको उच्च श्रोतले विकासन्युजसँग भन्यो ।

त्यसैगरी, प्राधिकरणले सरकारी र विदेशी लगानी भएका कम्पनीलाई छुट्टै निर्णय गर्ने भएको छ । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान सरकारी कम्पनी हुन् । त्यस्तै, एलआईसी, मेटलाईफ, ओरियन्टल र नेशनल इन्स्योरेन्स विदेशी लगानीका कम्पनी हुन् ।

सम्बन्धित समाचार

पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.