काठमाडौंका यी ९ ठाउँमा बन्दैछन् पक्की पुल

  २०८० वैशाख ३ गते ११:००     विकासन्युज

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले चालू आर्थिक वर्ष २०७९/८० मा साना ठूला गरी १८ वटा पुल निर्माण गर्ने लक्ष्य लिएको थियो । डिभिजन कार्यालयले उपत्यकका भित्रको आवश्यकतालाई मध्यनजर गर्दै पक्की पुल निर्माण गर्ने योजना अघि सारको हो । अहिले १८ वटा पुलमध्ये केही निर्माणको चरणमा छन् केही पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए ।

पुल निर्माण गर्ने लक्ष्य लिए पनि सबै पुल भने चालू आवमा निर्माण सम्पन्न हुने छैनन् । डिभिजन कार्यालयका अनुसार चालू आवमा स्थानीय सडक पुल निर्माणका लागि ५ करोड ३० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । सोही रकमबाट अहिले विभिन्न ठाउँमा धमाधम पुल निर्माणको कार्य अघि बढिरहेको छ ।

हालसम्म २ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पनि केसीले जानकारी दिए । अनामनगरमा धोवीखोला पुल, गोंगबु रमणबस्ती र टोखा रोड जोड्ने विष्णुमती पुलको काम सम्पन्न भएको हो । अनामनगरमा धोवीखोला पुल निर्माणको लागि डिभिजन कार्यालयले ३ करोड २२ लाख ९० हजार र गोंगबु रणबस्तीको विष्णुमती पुल निर्माण गर्ने ३ करोड ३० लाख २७ हजार रुपैयाँमा ठेकदार कम्पनीसँग सम्झौता गरेको थियो ।

सूचना अधिकारी केसीका अनुसार अहिले दुई ठाउँमा पक्की पुल निर्माणको कार्यले तीव्रता पाएको छ । काफल गल्ली र हानागुलु कुलेश्वर जोड्ने बल्खु खोला पक्की पुल र बागमती पुल, जम्बो डाँडा काठमाडौं नि ३ र २ गोकर्नेश्वर र कागेश्वर मनोहरा नगरपालिकामा पक्की पुल निर्माण गर्ने कार्यले तीव्रता पाएको छ ।

डिभिजन कार्यालयले बल्खु खोलामा पक्की पुल निर्माणको लागि २ करोड ७६ लाख ५६ हजारमा र बागमती पुल निर्माणको लागि ३ करोड ८० लाख १६ हजारमा ठेक्का लगाएको थियो । बागमती पुलको काम ६० प्रतिशत सकिएको पनि केसीले जानकारी दिए ।

यस्तै, डिभिजन कार्यालयलाई केही पुल निर्माणको काम अगाडि बढाउन सकस परिरहेको छ । धोवीखोला देवी नगर मैतीदेवी जोड्ने पुल निर्माणको काम अगाडि बढाउन सकस परिरहेको हो । जग्गा विवाद लगायतका कारणले मुद्दामा अल्झिएको पनि केसीले बनाए । उनका अनुसार सो पुल निर्माण गर्नको लागि ठेकदार कम्पनीसँग २ करोड ७४ लाख ४० हजार रुपैयाँ सम्झौता भइसकेको छ ।

महादेव खोला पुल मितेरी मार्ग कागेश्वरी मनोहरा ३ र ४ पुलको काम पनि अहिले सुचारु रहेको बताइएको छ ।

यी ९ ठाउँमा बन्दै छन् पक्की पुल

डिभिजन कार्यालयले चालू आवमा १८ वटा पुल निर्माण गर्ने योजना राखे पनि सबै पुलको काम यही आर्थिक वर्षभित्र नहुने केसीले बताए । अहिले ९ वटा पुलको निर्माणका लागि डिजाइन तयार हुँदैछ । पुलको डिजाइनको प्रक्रिया सडक विभागले अगाडि बढाएको हो ।

डिजाइनको प्रक्रिया पुरा भइसकेपछि ठेक्का लगाइनेछ । केसीका अनुसार यी ९ पक्की पुलकको काम आगामी आर्थिक वर्ष २०८०÷८१ बाट सुरु हुनेछ । पुल निर्माणको लागि बजेट सुनिश्चित चालू आवमा नै गरिएको छ । डिभिजन कार्यालयका अनुसार संगमचोक–नयाँबानेश्वर जोड्ने धोविखोलामा पुल निर्माण गर्ने योजना छ ।

यस्तै, कपन महांकाल जोड्ने निखिलेश्वर पुलको निर्माण पनि अगाडि बढाइने भएको छ । सो पुल निर्माण गर्नको लागि चालू आवमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । डिभिजन कार्यालयका अनुसार बलम्बु–दहचोक जोड्ने बल्खु पुल निर्माण गर्नको लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १९ जोड्ने विष्णुमती खोला पुल निर्माण हुने बताइएको छ । विष्णुमती खोला पुल निर्माणको लागि २० लाख रुपैयाँ बजेट रहेको बताइएको छ । डिभिजन कार्यालयका अनुसार तार्केश्वर नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने शेषमती पुल निर्माण गर्नको लागि २० करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

गोपिकृष्णनगर शिवमन्दिर चोकबाट रारा चोक सुकेधारा जोड्ने पुलको निर्माण पनि अगाडि बढाइने बताइएको छ । सो पुलको लागि चालू आवमा २० लाख रुपैयाँ बजेटको सुनिश्चित गरिएको छ । फेदीबजार ढुङ्गेओडार सडकको महादेव खोला माथि पुल निर्माण गरिने भएको छ । सो ठाउँमा पुल निर्माण गर्नको चालू आवमा २० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मनोहरा हनुमन्ते दोभानमा पनि पुल निर्माण गरिने भएको छ । त्यहाँको लागि २० लाख रुपैयाँ बजेट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.