अर्थमन्त्रीलाई सेयर बजारको ‘इग्नोर’,

  २०७९ चैत १९ गते १६:००     विकासन्युज

काठमाडौं । आइतबार (आज) सेयर बजार बढ्न सक्ने आंकलन धेरैको थियो । देशले नयाँ अर्थमन्त्री पाएसँगै आइतबार धेरैले बजारमा हरियाली आउन सक्ने अनुमान गरेका थिए । त्यो अनुमान यस मानेमा कि शुक्रबार अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारप्रति केही सकारात्मक संकेत देखाएका थिए ।

उनले सेयर बजार घटेर लगानीकर्तामा सुस्तता आएको र आफुले अब सबैले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने बताएका थिए । उनको भनाइको आधारमा लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेर बजार बढ्न सक्ने अनुमान थियो । तर, आइतबार बजार झन घट्यो ।

यसले पनि अर्थमन्त्री डा. महतलाई सेयर बजारले नचाहेको होकि भन्ने बुझिएको छ । आइतबार सेयर बजार २० अंकले घटेर १८ सय ८८.५५ को बिन्दु कायम भएको छ ।

बैंकिङ क्षेत्रमा सुधार हुँदै गएको तरलता, बाह्य क्षेत्रमा देखिएको सुधार र ब्याजदर घट्ने संकेतबीच अर्थमन्त्रालयले अर्थमन्त्री पनि पाउँदा धेरैले अब सेयर बजार बढ्ने अनुमान गरेका थिए । तर, त्यस्तो हुन सकेन । नयाँ अर्थमन्त्रीलाई सेयर बजारले ‘इग्नोर’ गरेको छ ।

आइतबार घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार एक अर्ब २० करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । दिनभरमा ३२ हजार ४१४ पटकको कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सेयर कारोबार भएको छ ।

त्यस्तै, टप गेनरको शीर्ष स्थानमा कालिञ्चोक दर्शन रहेको छ । जसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १९.३० रुपैयाँले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.६१ प्रतिशतले घटेर प्रतिकित्ता ८९९.४० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.