एआई प्रविधि : मान्छेको सृजनशिलता हराउन सक्छ, अध्ययनमा क्रान्तिकारी साधन बन्ला ?

  २०७९ चैत १५ गते १६:०३     विकासन्युज

काठमाडौं । कृत्रिम बौद्धिक प्रविधि (एआई) ले शैक्षिक अध्ययनको क्षेत्रमा ठूलो क्रान्ति ल्याउने भएको छ । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ । च्याटजिपिटीले सूचना संकलन गरेर नयाँ ढंगले सूचना प्रस्तुत गर्नको लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरु निर्माण गर्ने काम गर्छ । गत नोभेम्बर ३० मा च्याटजिपिटी लन्च भएयता अन्य धेरै कम्पनीहरुले पनि सो प्रविधिमा प्रतिस्पर्धात्मक रुपमा लगानी गर्न थालेका छन् ।

ओपन एआई कम्पनीले च्याटजिपिटी ल्याएपछि माइक्रोसफ्ट, गुगल र चिनियाँ बाइडुले समेत सो क्षेत्रमा ठूलो लगानी गरेर आफ्नै च्याटजिपिटी जस्तै प्रविधि ल्याइरहेका छन् । तर, अरु सबैका उत्पादन भने विश्व्यापी रुपमा पूर्ण प्रयोगमा आइसकेका छैनन् । तर, एआई प्रविधिको विकासमा भइरहेको प्रतिस्पर्धाले सो क्षेत्रमा निकै ठूलो परिवर्तनकारी विकास हुने अनुमान भने सहजै गर्न सकिन्छ । किनभने च्याटजिपिटी भन्दा पछाडि परीक्षणको चरणमा रहेको गुगलको ‘बार्ड’लाई संवादको लागि भाषा मोडेल (लाम्डा)मा विकास गरिएको छ ।

इन्टरनेट प्लेटफर्ममा भइरहेको एआई प्रविधिको सहायताले स्कुल तहका विद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग पुर्याउनुका साथै उच्च शिक्षा तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अनुसन्धानमुलक अध्ययन गर्नको लागि सहयोग पुर्याउन सक्छ । च्याटजिपिटीले इन्टरनेट प्लेटफर्महरुमा रहेका शैक्षिक सामाग्रीहरुलाई विद्यार्थीको मागका आधारमा जेनेरेटिभ एआई प्रविधिको सहायताले नयाँ सामग्री निर्माण गरी प्रदान गर्ने काम गर्छ । जसले गर्दा विद्यार्थीले चाहेको शिर्षकमा बुँदागत वा ब्याख्यात्मक रुपमा विषयवस्तु सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् ।

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज आइटी विभागका प्रमुख उत्सव पोख्रेलले च्याटजिपिटी अध्यापन गर्ने शिलशिलामा आफूलाई निकै उपयोगी भएको बताउँछन् । उनले आफूले पछिल्ला दिनहरुमा च्याटजिपिटीको प्रयोग दैनिक रुपमा प्रयोग गर्ने गरेको प्रतिक्रिया दिए ।

‘च्याटजिपिटी मलाई निकै उपयोगी भएको छ, मैले दैनिक रुपमा नै प्रयोग गर्ने गर्छु’, उनले भने, ‘आफूलाई जान्न उपयोगी विषयहरु खोजेर अध्ययन गर्न निकै सजिलो छ ।’

विद्यार्थीहरुमा भने यसको दुरुपयोग हुनसक्ने उनले बताए । कलेजमा राम्रोसँग पढेको र राम्रोसँग अध्ययन गरिसकेको विषयमा थप अध्ययन गर्नको लागि विद्यार्थीलाई पनि उपयोगी हुनसक्ने उनको भनाइ छ ।

च्याटजिपिटीले विद्यार्थीलाई परीक्षामा सोधिएको अनुसारको उत्तर दिने गर्छ । विद्यार्थीले किताबी वा कलेजको नियमित अध्ययन नगरेर च्याटजिपिटीको उत्तरमा मात्रै ध्यान दियो भने उसमा अध्ययन नगर्ने प्रवृत्तिको विकास हुने पोखरेल बताउँछन् । ‘च्याटजिपिटीको अध्ययनमा मात्रै भर पर्यो भने विद्यार्थीले अघिल्लो पाठ र पछिल्लो पाठको सम्बन्धको विषयमा थाहा पाउँदैन, उसले समग्र नलेज प्राप्त गर्न सक्दैन, विद्यार्थीको बानी पनि बिग्रन्छ’, उनले भने । त्यसैले विद्यार्थीले पर्याप्त गाइडको माध्यमबाट च्याटजिपिटीको प्रयोग गर्यो भने उपलब्धिमुलक हुने उनले बताए ।

शिक्षक पोखरेलले भनेजस्तै शैक्षिक क्षेत्रमा च्याटजिपिटीले खडा गर्नसक्ने चुनौतिको विषयमा विश्वव्यापी छलफल पनि प्रारम्भ भएको छ । भारतको एक अनलाइन पत्रिका ‘द हिन्दु’ले  एक जर्नललाई उदृत गर्दै इन्टरनेट प्लेटफर्मको एआई प्रविधि थप उन्नत हुँदै जाँदा यसले शैक्षिक क्षेत्रमा चुनौति सिर्जना गर्न सक्ने विषयलाई औंल्याएको छ ।

टेक्सास इन्टरनेशनल कलेज आइटी विभागका प्रमुख सुमन थपलियाले च्याटजिपिटीले विद्यार्थीको सृजनात्मक क्षमतामा ह्रास ल्याउनसक्ने तर यसको सही सदुपयोग गर्दा भने च्याटजिपिटी विद्यार्थीको सेकेन्ड टिचर बन्न सक्ने बताए । ‘यसले हरेक प्रश्नको उत्तर दिन्छ, तर, यसको बेफाइदा के छ भने यदी विद्यार्थीहरुले हामीले दिएको होमवर्क च्याटजिपिटीसँग सोधेर ल्याएभने उनीहरुको सृजनात्मक क्षमतामा ह्रास पुर्याउँछ’, उनले भने ।

च्याटजिपिटी विद्यार्थीलाई सरल तरिकाले र सहज ढाँचामा उत्तर दिने भएकाले विद्यार्थीलाई सहायक अध्ययन गर्नको लागि निकै राम्रो प्लेटफर्म पनि बन्न सक्ने उनको भनाइ छ । ‘यदी शिक्षकले पढाएको विद्यार्थीले बुझेन र च्याटजिपिटीसँग विभिन्न ढंगले सो विषयमा सोधेर पनि अध्ययन गर्न सक्यो भने विद्यार्थीको अध्ययनमा पनि सघाउ पुग्छ, यो सकारात्मक कुरा हो’, उनले भने ।

उनले इन्टरनेट प्लेटफर्ममा विकास भएका विषयहरु सप्लिमेन्टरी सोलुसन्सको रुपमा मात्रै प्रयोगमा आउन सक्ने र त्यसरी उपयोग गर्दा मात्रै फलदायी पनि हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.