बैंकर्समाथि धमाधम सांघातिक आक्रमण, प्रहरीको निगरानीमा दुर्गा प्रसाईं

  २०७९ चैत २ गते १९:०१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि पछिल्लो समय धमाधम आक्रमण हुन थालेको छ । पछिल्लो दुई सातामै तीन ठाउँका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु आक्रमणमा परिसकेका छन् ।

अघिल्लो साता जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो दलियो । तर अहिलेसम्म कालोमोसो दल्ने को हुन् भन्ने विषय बाहिरिन सकेको छैन ।

यस्तै, फागुन ३० गते मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधि भए । त्यो घटना पनि त्यतिकै सेलायो । आज (बिहीबार) पुन एनआइसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण भएको छ । बिहीबार गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ ।

उनीहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको बुझिएको छ । यी तीनटै घटनामा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)ले आपत्ति जनाएको छ । निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत सिबिफिनले आग्रह गरेको छ ।

सिबिफिनले वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकायमा अपील गरेको छ ।

पछिल्लो समय स्वास्थ्य उद्यमी दुर्गा प्रसाईं बैंकको ब्याजदरको विषयमा आन्दोलन गरिरहेका छन् । उनले आन्दोलन चर्काएर बैंकरहरुलाई जहाँ भेट्यो त्यहाँ नै कालोमोसो दल्न आव्हान गरिरहेका छन् । पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै यसकाे लागि २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् ।

उनले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आव्हान गरिरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले यस्ता अराजगक गतिविधिले नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘यस विषयमा हाम्रो ध्यानआकर्षण भएको छ, कस्तो कसुर हो, बैंकमै हुने गतिविधिहरु बैंकिङ कसुर अन्तर्गत पनिज जान्छ, विभिन्न घटनाहरुको प्रकृति हेरेर हामीले एक्सन लिन्छौं, परिसंघले सुरक्षा माग गरे अनुसार हामीले सुरक्षा दिइरहेका छौं, यस्ता गतिविधि गर्नेहरुमाथि निगरानी बढाइरहेका छौं,’ उनले भने ।

यस विषयमा परिसंघले आफुहरुलाई जानकारी पनि गराएको उनको भनाइ छ । यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रलाल ढुङ्गानाले बैंकरलाई परिचय पत्र झुण्डयाएर बाहिर निस्किन पनि डर लागिरहेको बताएका थिए । यस्ता घटनाले बैंकरहरुलाई थप त्रास सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.