ऋण दिन सक्ने अवस्थामा पुगे बैंक, कर्जा माग गर्न अनुरोध

  २०७९ चैत २ गते १४:४५     विकासन्युज

काठमाडौं । नबिल बैंकले केही दिनअघि मात्रै नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्ने लगानीकर्तालाई लक्षित गर्दै ‘नबिल सक्षम कर्जा’को विज्ञापन गर्यो । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने भन्दै कर्जा माग गर्न आव्हान गर्यो ।

बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन, उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी नबिल सक्षम कर्जा प्रडक्ट ल्याएको सो बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज कुमार बस्नेत बताउँछन् । उनका अनुसार यो प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् ।

‘बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित गर्दै यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्छ, कूल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ, ऋणीले नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म ऋण पाउनेछन्,’ उनले भने ।

यस्तै, मुक्तिनाथ विकास बैंकले पनि ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकको यो कर्जा अन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने जनाएको छ ।

बैंकले यस योजना अन्तर्गत कर्जा लिन इच्छुक ऋणीलाई आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने पनि बैंकले उद्घोष गरेको छ ।

एनएमबि बैंकले पनि सहजै ऋण स्वीकृत हुने भन्दै शैक्षिक कर्जाको मार्केटिङ गरिरहेको छ । यो बैंकले सस्तो ब्याजमा शैक्षिक कर्जा पाइने भन्दै अहिले ऋणीलाई ऋणको माग गर्न आव्हान गरिरहेको छ ।

यस्तै, नेपाल बैंकले पनि ‘नेपाल बैंक सुन धितो कर्जा’ सुरु गरेको छ । बैंकले सुभल ब्याजदरमा तुरुन्तै कर्जा पाउनुहोस् भन्दै कर्जाको मार्केटिङ गरिरहेको छ ।

यी केही उदाहरण मात्रै हुन् । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका प्रडक्टहरुको मार्केटिङ गरिरहेका छन् । ऋणीलाई कर्जाको माग गर्न अनुरोध गरिरहेका छन् ।

यसअघि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढाउनका लागि बैंकहरुले बचत १० गुणासम्म हुने योजना ल्याएका थिए । लामो समयदेखि तरलताको सकस भोगिरहेका बैंकहरुले बचत प्रडक्टहरुमा विभिन्न किसिमका स्कीमहरु ल्याएर निक्षेपकर्तालाई आकर्षित गरिरहेका थिए ।

लामो समयदेखि तरलताको सकस भोगिरहेका बैंकहरुले ऋण लगानी पनि रोकेका थिए । तर, पछिल्लो समय भने कर्जाका नयाँ प्रडक्टहरु ल्याएर कर्जा लगानी गर्न थालेका हुन् । बैंकहरुसँग लगानीयोग्य पुँजी भएकै कारण ऋणीहरुलाई ऋणको माग गर्न आव्हान गरिरहेका छन् ।

पछिल्लो समय बैंकहरुमा निक्षेप पनि बढ्दै गइरहेको छ भने बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुले कुल ४७ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत साता एकदिनमै वाणिज्य बैंकहरुमा २ अर्ब रुपैयाँ निक्षेप बढेको थियो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४२ खर्ब ६८ अर्ब रुपैयाँ छ । बैंकहरुले अब कर्जा लगानी बढाउने योजना बनाएका हुन् । यस्तै, सीडी रेसियो पनि दैनिक घट्दै गइरहेको छ । अहिले बैंकहरुको सीडी रेसियो औसत ८५.८६ प्रतिशत छ । केही महिनाअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको त कतिपयको ९० प्रतिशतको सीमा पनि नाघेको थियो । तर, अहिले सीडी पनि विस्तारै घट्दै गएको हो ।

माछापुच्छ«े बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जु कुमार थापा अहिले बैंकमा तरलता सहज हुन थालेको बताउँछन् । ‘विगतको तुलनामा बैंकमा तरलता धेरै सहज भएको छ, बैंकहरु अहिले ऋण प्रवाह गर्न सक्षम छन्, तर ऋणको माग कमै छ, राष्ट्र बैंकले पनि ऋण लगानीमा केही कडाइ गरेको कारण बैंकहरुलाई ऋण लगानी गर्न समस्या भएको हो,’ उनले भने ।

उनका अनुसार अहिले ग्राहकबाट ऋणको माग न्यून छ । ग्राहकबाट ऋणको माग भएमा बैंकहरु कर्जा प्रवाह गर्न सक्षम छन् ।

उसो त अहिले पनि अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । अन्तर बैंक ब्याज बढी हुनु भनेको अझै पनि बैंकहरु केही हदसम्म तरलताको समस्यामा नै छन् भन्ने बुझिन्छ । तर, सीडी रेसियो कम हुँदै जाँदा बैंकहरुसँग लगानीयोग्य पुँजी छ भन्ने पनि बुझिन्छ ।

बैंकहरुले अहिले बचतका प्रडक्टभन्दा कर्जाका प्रडक्टहरुलाई बढी प्राथमिकता दिइरहेका छन् । नेपाल बैंकर्स संघको पछिल्लो निर्णयले पनि बैंकको ब्याजदर घटाउने निर्णय गर्दा बैंकहरु केही सहज अवस्थामा पुगेका हुन् कि भन्ने बुझाइ धेरैको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चैत १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर घटाइसकेका छन् । वाणिज्य बैंकहरुले बचतको ब्याजदर मात्र घटाएका छन् भने विकास बैंकहरुले भने मुद्दती र बचत दुवैको घटाएका छन् ।

वाणिज्य बैंकहरुले मुद्दतीको ११ प्रतिशतलाई यथावत राखेका छन् भने बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याजदरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । विकास बैंकहरुले बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । यो न्यूनतम ब्याज हो ।

फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन् । बैंकहरुले धमाधम बचतको ब्याज घटाउनु भनेको बैंकहरुमा तरलता सहज भएको संकेत हो । उसो त उद्योगी व्यवसायीहरुलाई ब्याज घटाउन दबाब दिइरहेका छन् ।

निक्षेपको ब्याजदर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ र आधार दर कम भएपछि ऋणको ब्याज दर पनि घट्छ । नेपाल राष्ट्र बैंकले स्प्रेडदर पनि असार मसान्तसम्म ४ प्रतिशतको सीमामा ल्याउनु पर्ने व्यवस्था गरेको छ । अब बैंकहरुलाई स्प्रेडदर घटाउँदै लैजानु पर्ने बाध्यता छ । त्यसैले पनि अझै ऋणको ब्याजदर घट्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.