जहाज बिक्री नभएपछि चिनियाँ कम्पनीलाई नै फिर्ता पठाइँदै

  २०७९ चैत १ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका जहाज फिर्ता पठाउने तयारी थालेको छ । वि.स‌ं. २०६८ सालमा चीनबाट ल्याइएका ६ थान चिनियाँ जहाज बिक्री नभएपछि निगमले सम्बन्धित कम्पनी एभिक इन्टरनेशनललाई नै फिर्ता पठाउने तयारी थालेको हो ।

जहाजको आम्दानीभन्दा सञ्चालन खर्च बढी भएपछि निगम सञ्चालक समितिले २०७७ को साउन १५ गतेदखि चिनियाँ जहाज ग्राउण्डेड गरेको थियो । जहाज ग्राउण्डेड गरेपछि बिक्रीको तयारी थालेको थियो ।

अर्थ मन्त्रालयले निगमलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उक्त जहाज भाडामा लगाउन नभए बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिएको थियो । अर्थको निर्देशन अनुसार जहाज भाडामा लिन कुनै पनि कम्पनी नआएपछि निगमले सम्बन्धित कम्पनीलाई नै जहाज फिर्ता लिन पत्र पठाइसकेको छ ।

भाडामा नगएपछि अर्थ मन्त्रालयले नै गत डिसेम्बर १४ अर्थात मंसिर २८ गते निगमलाई पत्र पठाउँदै एभिक इन्टरनेशनललाई जहाज बिक्री गर्न पत्र पठाएको थियो । अर्थको सहमति अनुसार निगम सञ्चालकले जहाज लिनका लागि पत्र पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

‘अर्थको स्वीकृति अनुसार निगम सञ्चालकले एभिक इन्टरनेशनललाई जहाज लिनका लागि पत्र पठाइसकेको छ, उताबाट अहिलेसम्म मन्त्रालयमा कुनै जानकारी आएको छैन’, मन्त्रालय स्रोतले भन्यो ।

४० वर्षयता नेपाल वायुसेवा निगमले आन्तरिक सेवामा रहेका ट्वीनअटर डीएचसी ६ मोडलका जहाजहरुलाई विस्थापन गर्न भन्दै २०६८ सालमा चिनियाँ जहाज खरिद योजना अगाडि बढेको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र विष्ट मगर र वर्षमान पुन अर्थमन्त्री रहेका बेला ६ थान चिनियाँ जहाज खरिद गरिएको थियो ।

पर्यटन मन्त्रालयले २०६८ कात्तिकमा निगमका नायव उप–महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । उक्त समितिमा निगमका वरिष्ठ क्याप्टेनद्वय विजय लामा र श्रवण रिजाल तथा तीनवटै मुख्य विभाग (इन्जिनियरिङ, कमर्शियल, अपरेशन) का वरिष्ठ अधिकारी सदस्य थिए ।

ऋण तिर्न बाँकी

चीनको एक्जिम बैंकबाट तीन अर्ब ७२ करोड ऋण र दुई अर्ब ९४ करोड अनुदान गरी ६ अर्ब ६७ करोड रुपैयाँमा ६ थान चिनियाँ जहाज ल्याएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ ।

४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो  भने २ वटा जहाज अनुदान स्वरुप नेपाललाई दिईएको थियो ।

एक महिनाभित्र जहाज बिक्री

जहाज बिक्रीका लागि भ्यालुएसनको काम भैरहेको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्का अर्थ मन्त्रालयको स्वीकृति अनुसार जहाज बिक्रीको तयारी भएको बताउँछिन् ।

‘हामीले जहाज बिक्रीका लागि अहिले भ्यालुएसनको काम गरिरहेका छौँ, अमेरिकाको कम्पनीले भ्यालुएसनको जिम्मा पाएको छ, अबको एक महिनाभित्र जहाज बिक्रीको टुंगो लाग्छ,’ उनले भनिन्

उनले जहाज बिक्रीको प्रक्रिया सुरु भएको भन्दै एभिक इन्टरनेशनललाई फिर्ता पठाउन नलागिएको दाबी गरिन् ।

निगमले चिनियाँ जहाज भाडामा दिन २ पटकसम्म टेन्डर गरेको थियो । निगमको ६ वटा चिनियाँ जहाजमध्ये एउटा २०७६ चैतमा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएपछि उडान गर्न योग्य नभएको जहाज बाहेक ५ वटा जहाज भाडामा लगाउनका लागि २ पटकसम्म टेन्डर गरेको थियो । निगमले गरेको २ पटकसम्मको टेन्डरमा कसैले चासो नदेखाएपछि पुनः जहाज नै बिक्री गर्ने टेन्डर प्रक्रिया सुरु गरेको थियो ।

६ वर्षमा आधा घट्यो खरिद मूल्य

निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्ट फर्म एसएआर एसोसिएट्सले सम्पन्न गरेको निगमको डिडिए प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्म ६ थान चिनियाँ विमानको मूल्य मूल्यांकलन गरेको थियो । ६ अर्ब ६६ करोड रुपैयाँ मूल्यमा ल्याईएको उत्त जहाजको मूल्य पाँच वर्षमा नै दोब्बर घटेको हो । जहाज नउडाई ग्राउन्डेड गर्दै जाने हो भने अझै मूल्य घट्दै जानेछ ।

निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको तीन थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये एक थान वाई १२ ई र एक थान एमए–६० अनुदान र तीन थान वाई १२ ई र एक थान एमए–६० जहाज ऋणमा खरिद गरिएको थियो । अनुदान बाहेकका तीन दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.