लघुवित्तका प्रमोटर रहेका र कर्जा दिएका बैंक त्रासमा, तेस्रो त्रैमास नेगेटिभ आउने चिन्ता

  २०७९ फागुन २२ गते ११:०९     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध आन्दोलन चर्किएको छ । सहकारी संस्थाबाट सुरु भएको आन्दोलन लघुवित्त वित्तीय संस्थासम्म पुगेको छ । यही आन्दोलन भविष्यमा उग्र रुप लिन सक्ने अड्कलबाजी पनि धेरैले गरिरहेका छन् । लघुवित्त संस्था विरुद्धको आन्दोलनले उग्र रुप लियो भने सबैभन्दा बढी क्षति बैंकिङ्ग क्षेत्रलाई पर्ने जानकारहरु बताउँछन् ।

पछिल्लो समय भइरहेको आन्दोलनले लघुवित्तको अस्तित्वमाथि नै प्रश्न उठाइरहेको छ । आगामी दिनमा पनि यस्तै अवस्था रह्यो भने सबैभन्दा धेरै असर वाणिज्य बैंकमा पर्न सक्ने बैंकरहरु बताउँछन् । किनभने लघुवित्त वित्तीय संस्थाहरुमा बैंकहरुले ठूलो रकम लगानी गरेका छन् । एउटै बैंकले दर्जन बढी संस्थाहरुमा लगानी गरेका छन् । बैंकहरु लघुवित्तका सेयरधनी पनि हुन् । साथै, लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट नै कर्जा लिएर ग्राहकहरुलाई प्रवाह गर्ने गर्छन् ।

लघुवित्तको निक्षेप स्रोत बैंकहरु हुन् । भोलिका दिनमा लघुवित्तबाट लिएको कर्जा ग्राहकहरुले फिर्ता गरेनन् भने बैंकहरुले पनि पाउने छैनन् । ग्राहकहरुले कर्जा तिरेनन् भने लघुवित्तलाई पनि बैंकको कर्जा चुक्ता गर्न रकम अभाव हुनेछ ।

लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेर बैंकहरुले अर्बाै रुपैयाँ फाइदा लिने गरेका छन् । लघुवित्त संस्थाले बैंकहरुलाई प्रतिफल र ब्याज दुवै दिने गरेका छन् । यस्तै अवस्था रह्यो भने लघुवित्तले लाभांश र ब्याज दुवै दिन सक्ने छैनन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंकको लगानी लघुवित्त वित्तीय संस्थामा छ । यस्तै, लक्ष्मी बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, कुमारी बैंक र प्रभु बैंकले विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेका छन् ।

बैंकर बिएन घर्ती लघुवित्त वित्तीय संस्था विरुद्धको आन्दोलन वाणिज्य बैंकहरुलाई चिन्ताको विषय बनेको बताउँछन् । लघुवित्त वित्तीय संस्थाहरुमा बैंकहरुले पनि लगानी गरेको हुँदा आफ्नो लगानीको चासो हुने गरेको उनले बताए ।

‘लघुवित्त विरुद्धका आन्दोलन हुँदा बैंकहरुलाई चिन्ता चासो उत्तिकै हुन्छ किनभने लघुवित्तमा बैंकहरुको पनि लगानी हुन्छ, लघुवित्तका एक कर्मचारीलाई कालोमसो लगाउने बित्तीकै बैंकिङ्ग क्षेत्रका सबै संघहरुले प्रेस विज्ञप्ति जारी गरे, गृह मन्त्रालय पुगेर कारवाही गर्न माग गरे, गृहमन्त्रालयले पनि यस्ता गतिविधि रोक्न निर्देशन दियो,’ उनले भने ।

लघुवित्तको संख्या धेरै भएकाले प्रतिस्पर्धा बढेर बहुबैंकिङ्ग व्यवसाय गरेकाले समस्या आएको उनको बुझाइ छ । राष्ट्र बैंकले बहुबैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था गरेसँगै विस्तारै सुधार हुनेमा उनले विश्वास व्यक्त गरे । ग्राहकहरुले कर्जा नतिर्दा खराब कर्जा बढ्ने र बैंकको नाफामा असर पुग्ने उनले बताए ।

‘ग्राहकहरुले कर्जा नतिर्दा बैंकहरुको लगानीमा असर गर्छ, बैंकिङ्ग प्रणाली एउटा सिस्टममा चल्छ, सहकारीमा देखिएको समस्याल घुवित्तमा आयो, लघुवित्तपछि बैंकमा प्रवेश गर्छ, जस्तो शरिरको कुनै अङ्गमा असर गर्ने बित्तिकै पुरै शरिरलाई ज्वरो आउँछ, यस्तै असर बैंकिङ्ग क्षेत्रमा पनि पर्छ,’ उनले भने, ‘लघुवित्तलाई असर पर्दा बैंकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष असर गरेको हुन्छ, बैंकहरु आफ्नो लगानी गरेको संस्थाप्रति सदैव सजग छन् ।’

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय रेग्मी अधिकांश लघुवित्तलाई वाणिज्य बैंकहरुले फाइनान्स गर्ने भएकाले यस्ता घटनाहरुले स्वतः बैंकहरुलाई असर गर्ने बताउँछन् । लघुवित्तका ग्राहकहरुले पैसा तिरेनन् भने लघुवित्तले पनि आफ्नो ऋण चुक्ता गर्न नसक्ने उनको भनाइ छ । केही अराजक व्यक्तिहरुको लहैलहैमा लाग्दा यस्तो समस्या आएको उनी बताउँछन् ।

‘अधिकांश लघुवित्तलाई फाइनान्स गर्ने भनेको वाणिज्य बैंकहरुले हो, ग्राहकहरुले पैसा तिरेनन् भने लघुवित्तले पनि बैंकलाई पैसा तिर्न सक्दैनन्, मान्छेहरुले नबुझेर लघुवित्त विरुद्धको आन्दोलन गरे, क्षणिक रुपमा केही व्यक्तिको लहैलहैमा लागेर दीर्घकालमा असर गर्दैन्, ऋण लिएर उन्मुक्ति पाइँदैन,’ उनले भने ।

लघुवित्त वित्तीय संस्थामा लगानी गर्ने प्रमोटर सेयरधनी र ऋण दिने दुवै काम वाणिज्य बैंकले गर्ने भएकाले लघुवित्त संस्थामा सानो हलचलले पनि असर गर्ने गरेको उनले बताए । ‘बैंकहरुले लगानी गरेको ठाउँमा के-कस्ता गतिविधि भइरहेका छन् भनेर बैंकरहरुलाई चिन्ता चासो हुन्छ, हरेक घटनाक्रमलाई चनाखो भएर नजिकबाट नियाली रहेका हुन्छौं,’ उनले भने ।

उनका अनुसार वाणिज्य बैंकले लघुवित्तमा लगानी गरेको रकमबाट आउने प्रतफिलभन्दा कर्जाबाट आउने ब्याज धेरै हुने गरेको छ । लघुवित्तबाट ब्याज नआएपछि बैंकलाई घाटा हुने उनले बताए ।

‘वाणिज्य बैंकहरुले लघुवित्तलाई दिएको कर्जाबाट प्रत्येक तीन महिनामा ब्याज आउँछ, बैंकको चाँसो पनि ब्याजमा हुन्छ, लघुवित्तले नाफा गरेर दिने लाभांशभन्दा बढी फाइदा ब्याजबाट हुन्छ,’ उनले भने ।

ग्लोबल आइएमई बैंकका डीसीईओ सुरेन्द्रराज रेग्मी अराजक व्यक्तिले भन्दैमा लिएको कर्जा तिर्दैन भन्न नमिल्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताको निक्षेप पनि सुरक्षित गर्नुपर्ने दायित्व भएकाले कर्जा लिएपछि तिर्नु पर्ने उनको भनाइ छ । अहिलेको आन्दोलन कुनै एउटा वर्गमा रहेका संस्थाहरुका विरुद्ध भन्दा पनि समग्र बैंकिङ्ग क्षेत्रविरुद्धको रहेको उनले बताए ।

‘अलिलेको आन्दोलन लघुवित्त विरुद्ध मात्रै होइन, समग्र बैंकिङ्ग क्षेत्रविरुद्धको हो, अहिले कति असर पर्छ भन्न सकिदैन, अब आउने त्रैमासको वित्तीय विवरणले सबै छर्लङ्ग देखाउँछ, कर्जा लिएपछि ब्याज तिर्दैन भन्न मिल्दैन, आन्दोलन नगर्नेहरु पैसा तिरिहेका छन्,’ उनले भने ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ्गले अहिलेको गतिविधिले लघुवित्त लगायत समग्र बैंक तथा वित्तीय क्षेत्रमा नै असर गर्ने बताए । यस्ता क्रियाकलापले बैंकिङ्ग क्षेत्रप्रतिको विश्वास घट्दै जाने उनको भनाइ छ ।

‘बैंक प्रति जनताको गहिरो विश्वास छ, निक्षेप जम्मा गर्छन् र कर्जा लिएर आर्थिक कारोबारलाई बढावा दिएको छ, यो सबै विश्वासको पुललाई अहिलेको गतिविधिले नकारात्मक असर गर्छ,’ उनले भने, ‘लघुवित्तमा लगानी भएका बैंकलाई प्रत्यक्ष असर पर्छ, यदि कर्जा तिर्दै नतिर्ने हो भने नाफामा असर गर्छ, लघुवित्तले जति लाभांश दिन्छ, त्यसको असर नाफामा पर्छ ।’

बैंकहरु प्रमोटर सेयरधनी पनि

अधिकांश वाणिज्य बैंकहरु लघुवित्तको प्रमोटर सेयरधनी छन् । नबिल बैंकले विभिन्न लघुवित्त संस्थाहरुमा लगानी गरेको छ । नबिल बैंकको नाडेप लघुवित्त, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त, स्वालम्बलन लघुवित्त, डिप्रोक्स लघुवित्त लगायत आधा दर्जन बढी संस्थामा लगानी रहेको छ । नाडेप लघुवित्तमा २५ प्रतिशत, निर्धन उत्थान लघुवित्तमा ९.३९ प्रतिशत, छिमेक लघुवित्तमा ११.९८ प्रतिशत, स्वाबलम्बन लघुवित्तमा १२.०२ प्रतिशत र डिप्रोक्स लघुवित्तमा ९.४२ प्रतिशत लगानी रहेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्समा ११ प्रतिशत, मेरो माइक्रोफाइनान्समा १४ प्रतिशत र स्पर्श लघुवित्तमा १६ प्रतिशत लगानी रहेको छ । साविकको बैंक अफ काठमाण्डूले छिमेक लघुवित्तमा ९.१४ प्रतिशत, आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्तर आरएसडिसी लघुवित्तमा १२ प्रतिशत लगानी गरेको थियो ।

यस्तै, लक्ष्मी बैंकको लक्ष्मी लघुवित्त वित्तीय संस्थामा ७० प्रतिशत सेयर स्वमित्व रहेको छ । साथै, स्वावलम्बन लघुवित्तमा ३.६४ प्रतिशत लगानी गरेको छ । कुमारी बैंकको फर्स्ट माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्समा ७ प्रतिशत र नेसनल माइक्रोफाइनान्समा २० प्रतिशत लगानी रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न लघुवित्तमा लगानी गरेको देखिन्छ । बैंकले आशा लघुवित्त, स्वावलम्बन लघुवित्त, स्पर्श लघुवित्त, अभियान लघुवित्त र नेसनल माइक्रोफाइनान्स लघुवित्तमा लगानी रहेको छ । यस्तै, साविकको मेगा बैंकले स्पर्श लघुवित्तमा १६.३९ प्रतिशत र अभियान लघुवित्तमा १६.३९ प्रतिशत लगानी गरेको छ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र उत्थान लघुवित्तमा ३१.४३ प्रतिशत, एनआईसी एशिया बैंकको एनआईसी एशिया लघुवित्तमा ५७.७५ प्रतिशत, एनएमबि बैंकको एनएमबी लघुवित्तमा ५१ प्रतिशत, कृषि विकास बैंकले साना किसान लघुवित्तमा २२ प्रतिशत, सेञ्चुरी बैंकले किसान लघुवित्तमा ७ प्रतिशत र सिभिल बैंकले सिभिल लघुवित्तमा ५१ प्रतिशत लगानी गरेका छन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरएमडीसी लघुवित्त र ग्रामिण विकास लघुवित्तमा, हिमालयन बैंकको आरएमडीसी लघुवित्त, निर्धन उत्थान लघुवित्त, छिमेकी लघुवित्त र स्वावलम्बन लघुवित्तमा, प्राइम कमर्सियल बैंकको मेरो माइक्रोफाइनान्स, महिला सहयात्रा लघुवित्त र स्वाभिमान लघुवित्त, कुमारी बैंकको नेशनल माईक्रोफाइनान्स लघुवित्त, फर्स्ट माईक्रो फाइनान्स लघुवित्त, मेरो माईक्रोफाइनान्स लघुवित्त र अभियान लघुवित्तमा लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.