निर्माण सामग्री ढुवानी समस्याले म्याग्दीको अस्पताल भवन अलपत्र

  २०७९ फागुन १५ गते १०:१६     विकासन्युज

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ ।

निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गरे ।

भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड ७९ लाख ४० हजार तीन सय ३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए ।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताए।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ ।  हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको अस्पताल भवनको २०८० जेठसम्म म्याद थपिएको धौलागिरि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार, निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.