मौद्रिक नीतिको समीक्षापछि ११२ अंकले घट्यो नेप्से परिसूचक

  २०७९ फागुन ४ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक पछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक पछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंकले घटेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुँजीबजार तथा पुँजीबजारका लगानीकर्ताको मागलाई सम्बोधन नगरेसँगै बजार निरन्तर रुपमा ओरालो लागेको जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले उक्त समीक्षा मार्फत सेयर धितोकर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउनु पर्छ भन्ने माग गरेका थिए ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ५.२३ प्रतिशत बढेको छ । यता युनिलिभर नेपालको सेयर मूल्य ५.९१ प्रतिशत घटेको छ । बिहीबारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.