लोत्से मलमा लुटपाट, ८ करोड बढीको मोबाइल चोरी

  २०७९ फागुन २ गते ११:४४     विकासन्युज

काठमाडौं । सोमबार साँझ नयाँ बसपार्कमा रहेका लोत्से मलमा लुटपाट हुँदा ८ करोड रुपैयाँ बढीको मोबाइल चोरी भएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट हुँदा २ पसलमा रहेका ८ करोड रुपैयाँ बढीका मोबाइल चोरी भएको बताएको हो ।

महासंघका अध्यक्ष भरत भट्टराईले दुई वटा मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताए । उनले सोमबार साँझ नै प्रहरीलाई उक्त घटनाको जानकारी गराएतापनि अहिलेसम्म मोबाइल चोरीमा संलग्न कसैलाई पक्राउ नगरिएको बताए ।

अध्यक्ष भटराईले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै त्यसको विरोध गर्ने बताए । मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकीकृत भएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् ।

सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए । उनले लोत्सेमा सोमबार भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए ।

‘लोत्से मलभित्र भएको क्षतिको क्षतिपूर्ति कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,’ उनले भने । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए । उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.