आकाशमा इन्टरनेट दिन दुई अपरेटरले लिए अनुमति, नेपाल एयरलाइन्स पनि प्रक्रियामा

  २०७९ माघ २९ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाली आकाशमा इन्टरनेट सञ्चालन गर्न दुई विदेशी इन्टरनेट सेवा प्रदायक (अपरेटर) कम्पनीले अनुमति लिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट केही समय अघि दुई विदेशी अपरेटर कम्पनीले अनुमति लिएका हुन ।

प्राधिकरणले १० हजार फिटमाथि उडान गर्ने वायुसेवा कम्पनीले नेपाली आकाशमा इन्टरनेट तथा मोबाइल सञ्चालनको अनुमति दिएसँगै सीता र थालिस कम्पनीले अनुमति लिएका हुन ।

नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नेपाली आकाशमा उड्ने विमानका यात्रुहरुले मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा पाउने गरी निर्णय गरेको थियो ।

तर, प्राधिकरणले मंगलबार ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिस सेवा संचालनका लागि अन्तरिम निर्देशिका जारी गरेसँगै नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट सञ्चालनको बाटो खुलाएपछि अब आकाशमै इन्टरनेट तथा मोबाइल सञ्चालन हुनेछ ।

प्राधिकरणका प्रवत्ता सन्तोष पौडेल २ विदेशी अपरेटर कम्पनीले अनुमति पाएको भन्दै अब आकाशमा मोबाइल तथा इन्टरनेट चलाउन सकिने बताए ।

‘हामीले दुई वटा अपरेटर कम्पनीको माग अनुसार अनुमति दिएका छौँ, अब उक्त कम्पनीले माग भएका वायुसेवा कम्पनीलाई मोबाइल तथा इन्टरनेट सञ्चालन गर्न दिन्छ’, उनले भने, ‘कुन एयरलाइन्सले अनुमति लिए त्यसको तथ्यांक अपरेटर कम्पनीसँग हुन्छ, हामीसँग हुँदैन ।’
उनका अनुसार दुई वटा अपरेटर कम्पनीले अन्य वायुसेवा कम्पनीलाई इन्टरनेट वितरण गर्नेछ ।

दुई विदेशी अपरेटर कम्पनीले आकाशमा इन्टरनेट सञ्चालनको अनुमति लिएपछि सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले समेत इन्टरनेट तथा मोबाइल सञ्चालनको अनुमतिका लागि प्राधिकरणमा निवेदन दिएको छ ।

प्रवक्ता पौडेलले नेपाल एयरलाइन्सले अनुमति मागेको भन्दै अनुमति दिने प्रक्रियामा प्राधिकरण रहेको बताए ।

यसअघि २०७७ को चैत ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले इन्टरनेट प्रयोग (ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिस) गर्न दिने निर्णय गरेको हो । प्राधिकरणको उक्त निर्णय अनुसार नेपालमा उडान गर्ने विदेशी लगानीमा सञ्चालीत विदेशी वायुसेवा कम्पनीले प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति लिन पाएका थिए ।

उनका अनुसार प्राधिकरणले अपरेटर कम्पनीलाई आकाशमा इन्टरनेट सञ्चालनको अनुमति सगैँ इन्टरनेट सञ्चालनका लागि विभिन्न शर्तहरु दिएको छ । जसमा १० हजार फिटभन्दा माथि उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संस्था ९आइकाओ० ले तोकेका नियम तथा मापदण्डको पालना गर्नुपर्ने लगायतका सर्त पालना गर्नुपर्नेछ ।

यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.