बाराही हाइड्रोपावरको सेयर मूल्य आकाशियो, नवप्रवेशी लगानीकर्ता उच्च जोखिममा

  २०७९ माघ २६ गते १९:१६     विकासन्युज

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनीको सेयर बिहीबार १० प्रतिशतले वृद्धि भयो । बिहीबार प्रतिकित्ता ५७ रुपैयाँले बढेर ६२७ रुपैयाँमा कारोबार बन्द भयो । यो अहिलेसम्मको सबैभन्दा उच्च मूल्य भएको नेप्सेले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सूर्य प्रसाद अधिकारीले कम्पनीको सेयर मूल्यमा प्रभाव पर्ने गरी कम्पनीले कुनै निणर्य नगरेको बताए । कम्पनीलाई कुनै लाभ वा हानी पुग्नु गतिविधि भएको पनि जानकारी नभएको उनी बताउँछन् ।

तर बजारमा सेयरको मूल्यमा सर्किट ब्रेक लाग्ने गरी मूल्य किन बढ्यो भन्ने विकासन्युजको प्रश्नमा उनले भने,‘त्यसबारे हामीले केही बताउन सक्दैनौं ।’

बाराही हाइड्रोपावरले गत पुसमा मात्र ७ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो । पुस २० गतेदेखि नेप्सेमा यस कम्पनीको सेयर किनबेच भएको हो ।

कम्पनीको लेखापरिक्षण प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा कम्पनीको नोक्सानी ८ करोड ५१ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको नोक्सानी झन थपिएको स्रोतले बतायो ।

साधारण सेयर निष्काशन गर्ने क्रममा कम्पनीले वार्षिक नाफा एक करोड ३६ लाख देखि एक करोड ४९ लाख रुपैयाँ हुन सक्ने प्रक्षेपण गरेको छ । यस आधारमा कम्पनीले कम्तिमा आगामी ५ वर्ष सेयरधनीलाई लाभांश खुवाउन सक्दैन ।

त्यस्तै, कम्पनीले बैंकबाट १८ करोड ६६ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीले प्राधिकरणसँग प्रतियूनिट हिउँदमा ८.४० र वर्षामा ४.८० रुपैयाँका दरले विद्युत खरिद-बिक्री सम्झौता गरेको छ ।

१.५ मेगावट क्षमतामा जलविद्युत उत्पादन गर्ने यस कम्पनीको प्रतिमेगावाट लागत करिव २१ करोड रुपैयाँ छ । जुन तुलनात्मक रुपमा उच्च लागत हो ।

कुल चुक्ता पुँजी २५ करोड रुपैयाँ भएको यस कम्पनीमा साधारण सेयर ७ करोड रुपैयाँ मात्र छ । यस कम्पनीको प्रमोटर सेयर अझै ३ वर्ष कारोबार हुन सक्दैन ।

पब्लिक सेयर ७ करोड मात्र भएकोले संगठित लगानीकर्ताले कर्नरिङ गरेर मूल्य बढाएको हुनसक्ने जानकारहरु बताउँछन् ।

कम्पनीले ५ मेगावाट क्षमताको सिमकोट हाइड्रोपावर निर्माण गर्न लागेको, त्यसको लागि कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने लागेको सन्देश पनि बजारमा फैलिएको छ । क्यासकेट प्रोजेक्टको रुपमा नयाँ प्रोजेक्ट बनाउने गरी गृहकार्य भैरहेको प्रबन्ध निर्देशक अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.