वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई बाँड्यो २ हजार बढी इन्डक्सन चुल्हो

  २०७९ माघ २६ गते १७:५९     विकासन्युज

काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीहरुलाई २ हजार बढी इन्डक्सन चुल्हो वितरण गरेको छ । केन्द्रले काठमाडौंमा बसेर अध्ययन गर्ने दुर्गम क्षेत्रमा स्थायी घर भएका विद्यार्थीहरुलाई उक्त चुल्हो वितरण गरेको हो ।

केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौंमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई निःशुल्क चुल्हो वितरण गर्नका लागि गत आर्थिक वर्षमा नै प्रकृया प्रारम्भ गरेको थियो । तर, केन्द्रले ढिलो गरी पछिल्लो महिनाभित्रमा मात्रै २ हजार ३५ जति इन्डक्सन चुल्हो वितरण गरेको खरिद शाखाका कर्मचारीले विकासन्युजलाई बताए ।

केन्द्रले इन्डक्सन चुल्हो लिनका लागि गरेको पहिलो चरणको आह्वानमा ७ हजार ५ सय भन्दा धेरै विद्यार्थीले निवेदन दिएका थिए । ती निवेदकहरुमध्येबाट २८६५ जना विद्यार्थीलाई केन्द्रले छनोट गरेको थियो ।

भिजन एण्ड किचन लिंक र डिजाइन पोइन्टले संयुक्त रुपमा आपूर्ति गरेको वेभ नामको चुल्होलाई केन्द्रले वितरण गरिरहेको छ । आपूर्तिकर्ताले ८ हजार ३ सय वटा चुल्हो भ्याट बाहेक २४७५ रुपैयाँमा आपूर्ति गरेको केन्द्रले जनाएको छ । विद्यार्थीलाई बाँड्नको लागि छनोट गरिएको भन्दा बाहेक संख्याको चुल्हो विभिन्न १९ वटा स्थानीय तहलाई केन्द्रले साझेदारीमा वितरण गरेको छ ।

चुल्हो खरिदका लागि ५ वटा कम्पनीले इ–बिडिङमा शमावेश भएकोमा भिजन एण्ड किचन लिंक र डिजाइन पोइन्ट जेभी छनोट भएको थियो । कम मूल्यमा आपूर्ति गर्ने बिडका आधारमा सो जेभी छनोट भएको छनोट भएको खरिद शाखाका कर्मचारीले बताएका छन् ।

विद्यार्थीहरुलाई वितरण गरिएको इन्डक्सन चुल्होको २ हजार वाट विद्युतीय क्षमता, १ वर्ष वारेन्टी र ९२ प्रतिशत क्षमता रहेको छ । साथै चुल्हो आइसी सर्टिफिकेसन प्राप्त रहेको केन्द्रले जनाएको छ । करिब १ महिनादेखि विद्यार्थीलाई बाँडिएको चुल्होमा कुनै गुनासो नआएको केन्द्रका खरिद शाखाका नायब सुब्बा खगेन्द्र केसीले बताए ।

केन्द्रले विद्यार्थीहरुलाई दोस्रो चरणमा पुनः चुल्हो वितरण गर्ने प्रकृयालाई पनि अगाडि बढाएको छ । जसको लागि खरिदकर्ता छनोट भइसकेको केन्द्रले जनाएको छ । दोस्रो चरणमा केन्द्रले १० हजार चुल्हो बाँड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.