सकसमा सरकार : डलरको भाउ र ऋणको ब्याज बढ्दा समस्या

  २०७९ माघ २३ गते १५:१२     विकासन्युज

काठमाडौं । विदेशी डलरको मूल्यमा भएको उच्च उतारचढाव र आन्तरिक ऋणकोे ब्याजदर बढ्दा सरकार समस्यामा परेको छ । पछिल्लो समय डलरको मूल्यमा भएको उतारचढाव र आन्तरिक ऋणको ब्याजदर बढ्दा ऋण भुक्तानीमा सरकारलाई समस्या परेको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ८७ अर्ब २५ करोड ४८ लाख रुपैयाँ वैदेशिक र आन्तरिक ऋण भुक्तानी गर्न विनियोजन गरेको थियो । विनियोजित रकममध्ये पुस मसान्तसम्म ९६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको छ । जसमा आन्तरिक तर्फ ७८ अर्ब २२ करोड ९२ लाख, वैदेशिक ऋण भुक्तानी (बहुपक्षीय) मा १४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानी (दिपक्षीय) मा ३ अर्ब ३५ करोड ९ लाख रुपैयाँ खर्च (भुक्तानी) भैसकेको छ ।

सरकारले चालू आर्थिक वर्ष आन्तरिक ऋण भुक्तानी गर्न १ खर्ब ३४ अर्ब ३२ करोड २३ लाख रुपैयाँ, वैदेशिक ऋण भुक्तानी (बहुपक्षीय) मा ४० अर्ब ५६ करोड २० लाख रुपैयाँ र दिपक्षीय तर्फ १२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

विनियोजिक रकममध्ये पुस मसान्तसम्म आन्तरिक ऋण भुक्तानी गर्न ६७ अर्ब १६ करोड १२ लाख, वैदेशिक ऋणमा बहुपक्षीयमा २० अर्ब २८ करोड १० लाख र दिपक्षीय तर्फ ६ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको थियो ।

विनियोजित रकममध्ये पुस मसान्तसम्म आन्तरिक ऋण भुक्तानीमा ७८ अर्ब २२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । विनियोजित रकमको तुलनामा पुस मसान्तसम्म ११ अर्ब ६ करोड ८० लाख रुपैयाँ बढी आन्तरिक ऋण भुक्तानी भएको हो ।

पछिल्लो समय डलरको मूल्यमा भएको उतारचढाव र आन्तरिक ऋणको ब्याजदर बढ्दा ऋण भुक्तानीमा समस्या देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताउँछन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल १४ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो ।

‘चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएको छ, हामीले नपुग्ने रकमका बारेमा अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौँ’, उनले भने ।

पूर्व अर्थ सचिव रामेश्वर खनाल बजेट बनाउँदा गरिने अनुमान यथार्थपरक नभएको बताउँछन् । ऋण भुक्तानी गर्न अनिवार्य दायित्वभित्र पर्ने भन्दै उनले थोरै रकम विनियोजन गरिँदा रकम नपुग्ने देखिएको बताए ।

उनले बजेट निर्माण गर्दा अनुमान गरिएको विदेशी विनिमय दर र आन्तरिक ब्याजदर पछिल्लो समय बढ्दा रकम अपुग हुनसक्ने बताए । सरकारले गएको आर्थिक वर्षमा १ खर्ब २१ अर्ब ८६ करोड रुपैयाँ बढी आन्तरिक तथा वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ मा ७६ अर्ब ७४ करोड साँवा र ४५ अर्ब १२ करोड ब्याज तिरेको छ ।

२० खर्ब ऋण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब १२ अर्ब बढी रहेको छ । कार्यालयको तथ्यांक अनुसार २०७९ असार मसान्तसम्म नेपालको ऋण २० खर्ब १२ अर्ब पुगेको हो । २०७८ असारमा १७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर रहेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा ४७ अर्ब ३३ करोड ७७ लाख ७० हजार र ब्याजमा ३७ अर्ब ६८ करोड ४७ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । बाह्य ऋणतर्फ २९ अर्ब ४१ करोड साँवा र ७ अर्ब ४४ करोड रुपैयाँ ब्याज तिरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.