सरकारले अर्थतन्त्रलाई दबाएर राख्दा व्यवसायीले लगानी गर्न सकेनन् : पूर्वगभर्नर नेपाल

  २०७९ माघ २३ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवि नेपालले सरकारले अर्थतन्त्रलाई जबर्जस्ति दबाएर राखेको बताएका छन् । उनले यसको कारण बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीहरुले चाहेर पनि लगानी गर्न नसकेको बताए ।

डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताउँछन् ।

‘सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन सक्दैन,  वर्तमान सरकारले जसरी भएपनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएको छ, पूरक बजेट ल्याउन आवश्यक छ,’ उनले भने ।

यद्यपि वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न मागहरु सुनेको देखिएको उनले बताए ।

यस्तै, उनले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औंल्याए । डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रास्फिति लक्ष्य अनुसार कायम राख्ने अवस्था नदेखिएको बताए ।

उनले सरकारले अनौपचारिक रुपमा हुने खर्च वृद्धि गर्न दिन नहुने बताए । ‘औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र खर्च बढ्दै गएको छ,’ उनले भने ।

सरकारले अनौपचारिक खर्च रोक्नको लागि भएपनि पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना, कार्यक्रम र निजी क्षेत्रको समस्या समाधान गर्न जरुरी रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.