मोबाइल खरिदमै बाहिरियो १ खर्ब ३७ अर्ब रुपैयाँ, नेपालीले प्रयोग गर्छन् ५२ प्रकारका फोन

  २०७९ माघ २० गते १०:४४     विकासन्युज

काठमाडौं । मोबाइल फोन आयातमै मासिक रुपमा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । सरकारले विलासिताका वस्तुको सूचिमा राखेको मोबाइल फोन आयातबाट वार्षिक रुपमा २७ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । विगत ५ वर्षको अवधिमा मोबाइल फोन आयातमा मात्रै एक खर्ब ३७ बढीभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ सालदेखि २०७८/०७९ सम्ममा दुई करोड ७४ लाख ८२ हजार ११७ वटा मोबाइल फोन नेपाल भित्रिएको छ । उक्त मोबाइल फोन नेपाल ल्याउँदा पाँच वर्षमा एक खर्ब ३७ अर्ब ३० करोड ४४ लाख १३ हजार नेपाली रुपैयाँ बाहिरिएको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६२ लाख २३ हजार ६६५ वटा मोबाइल फोन आयात हुँदा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ४२ लाख ७५ हजार ५१८ वटा मोबाइल फोन आयात हुँदा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार, आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार ९९० वटा फोन आयात हुँदा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार, आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल फोन आयात हुँदा ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार नेपाली रुपैयाँ बाहिरिएको हो ।

५ वर्षको तथ्यांक अनुसार वार्षिक रुपमा २७ अर्ब ४६ करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । तथ्यांक अनुसार ५ वर्षको अवधिमा १ खर्ब ३७ अर्ब बढीको मोबाइल फोन आयात हुँदा सरकारले २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । तथ्यांक अनुसार सरकारले वार्षिक रुपमा मोबाइल फोन आयतबाट ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ ।

५२ ब्राण्डका मोबाइल प्रयोग

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा विभिन्न ५२ ब्राण्डका मोबाइल फोन प्रयोग गर्ने गरेको पाइएको छ । प्राधिकरणले तथ्यांक अनुसार एनसेलमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ वटा मोबाइल फोन प्रयोग गर्ने गरेको उल्लेख छ ।

प्रतिवेदन अनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ र नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको थिए ।

एनसेल र नेपाल टेलिकमको नेटवर्कमा सबैभन्दा बढी सामसुङका सेटका मोबाइल प्रयोग भएको पाइएको उल्लेख छ । सामसुङपछि साओमी, ओप्पो, भिभो, आईटेल, लाभा, नोाकियाका प्रयोगकर्ता सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ ।

७० प्रतिशत स्मार्ट फोन

प्राधिकरणले गरेको अध्यननमा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुको सिष्टममा ७० प्रतिशत स्मार्ट फोनको प्रयोगकर्ता गरेको उल्लेख छ ।

जसमा एनसेलको नेटवर्कमा ६९.७३ प्रतिशत स्मार्ट फोनका प्रयोगकता रहेको पाइएको हो । नेपाल टेलिकमको नेटवर्कमा ६६ प्रतिशत स्मार्ट फोन र स्मार्ट टेलिकमको नेटवर्कमा दुई लाख ९५ हजार १८० स्मार्टफोन को प्रयोग भएको उल्लेख छ ।

यस्तैगरी, बारफोनका २८.१५ प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले सेवाप्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा सो  प्रतिवेदन तयार पारिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.