राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

  २०७९ माघ १६ गते १३:५६     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगको अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दावी, विरोध, उजुरी लगायतका कामहरु १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनेको छ । आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।

यस्तै, उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ । त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.