बुढीगण्डकी परियोजना बनाउन ९६ अर्ब संकलन, काम अगाडि बढाउने छैन सुरसार

  २०७९ माघ ९ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि साढे ९६ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । आर्थिक वर्ष २०७२/०७३ सालदेखि गत आर्थिक वर्ष २०७८/०७९ सम्म निगमले पूर्वाधार कर बापत ९६ अर्ब ४७ करोड ७ लाख ८८ हजार रुपैयाँ संकलन गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् डिजल र पेट्रोल आयात गर्दा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँका दरले थप कर लगाउने घोषणा गरेका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि पूर्वाधारमा लाग्दै आएको करलाई बढाएर प्रतिलिटर १० रुपैयाँ कायम गरेका थिए । निगम नाफामा गएको भन्दै राजश्व संकलन बढाउन अर्थमन्त्री खतिवडाले पूर्वाधार कर १० रुपैयाँ कायम गरेका थिए ।

पूर्वाधार करमा ५ र १० रुपैयाँ गरी निगमले सात आर्थिक वर्षमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा पूर्वाधार कर लगाएर बूढीगण्डकीका नाममा उक्त रकम संकलन गर्दै आएको छ । अहिलेसम्म बूढीगण्डकी जलाशय आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी नै तयार गर्न नसकेको सरकारले पेट्रोलियम पदार्थबाट कर उठाउने काम भने नियमितरूपमा गरिरहेको छ ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा प्रत्येक महिना भन्सार नाकामै पूर्वाधार करको रकम उठाएर निगमले उक्त रकम अर्थ मन्त्रालयको खातामा जम्मा गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७२/०७३ सालदेखि हालसम्म पूर्वाधार कर शिर्षकमा संकलन भएको रकम अर्थ मन्त्रालयमा जम्मा गर्ने गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

सात आर्थिक वर्षदेखि नियमति रुपमा भन्सार विन्दुमै पूर्वाधार कर संकलन गर्दै आएको उनको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १६ करोड रुपैयाँ, आव २०७३/७४ मा ९ अर्ब ४३ करोड, आव २०७४/७५ मा ११ अर्ब ३६ करोड, आव २०७५/७६ मा १२ अर्ब ४१ करोड, आव २०७६/७७ मा १३ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको थियो ।

यस्तै, आव २०७७/०७८ मा २२ अर्ब ८६ करोड ९६ लाख ६९ हजार र गत आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी २५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन भएको उनले बताए ।

सडक संम्भारमा ४८ अर्ब संकलन

निगमले सडक पूर्वाधार कर (सम्भार) शिर्षमा साढे ४८ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले सडक पूर्वाधार कर आर्थिक वर्ष २०६५÷०६६ सालदेखि उठाउँदै आएको हो । हालसम्म उक्त शिर्षकमा ४८ अर्ब ६० करोड ४२ लाख ३८ हजार ७२७ रुपैयाँ संकलन गरिसकेको छ ।

जसमा आव २०६५/०६६ मा ७ करोड ४१ लाख १० हजार, आव २०६६/०६७ मा ९ करोड २६ लाख ५५ हजार, आव २०६७/०६८ मा १ अर्ब ७५ करोड ८८ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, आव २०६८/०६९ मा २ अर्ब ९७ करोड ८ लाख ६० हजार, आव २०६९/०७० मा २ अर्ब ३३ करोड २७ लाख १४ हजार, आव २०७०/७१ मा २ अर्ब ६१ करोड ६६ लाख ७९ हजार, आव २०७१/७२ मा २ अर्ब ९२ करोड ९६ लाख ४१ हजार, आव २०७२/७३ मा २ अर्ब ५२ करोड ७३ लाख ७९ हजार, आव २०७३/७४ मा ४ अर्ब २५ करोड ३३ लाख र आव २०७४/७५ मा ५ अर्ब १२ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ ।

यस्तै, आव २०७५/७६ मा ५ अर्ब ६९ करोड ७८ लाख ७२ हजार, आव २०७६/७७ मा ४ अर्ब ९८ करोड ५९ लाख ६२ हजार, आव २०७७/७८ मा ५ अर्ब ७५ करोड ४७ लाख २९ हजार र आव २०७८/७९ मा ६ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.